विर्तामोड । झापाको प्रसिद्ध धार्मिकस्थल कनकाई नदी किनारमा लागेको माइ मेलामा भक्तजनको घुइँचो लागेको छ । हरेक वर्ष माघे सङ्क्रान्तिका दिन कनकाई नदी किनारमा भव्य मेला लाग्ने गरेको छ ।
धार्मिक आस्था र विश्वास राख्ने भक्तजनहरूले मकर सङ्क्रान्तिका दिन सूर्य उत्तरायण भएका बेला गरिएको स्नान, दान, जपतप, तीर्थ, व्रतलाई उत्तम मानिन्छ । नदीमा नुहाएर पूजाआर्चना गरे आफूले चिताएको मनकामना पूरा हुने धार्मिक विश्वास रहेको छ ।
सोमबार बिहानैदेखि कनकाई नदी किनारमा पूजापाठ गर्ने भक्तजनहरूको भीड लागेको छ । कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाको संयुक्त आयोजनामा नदीको दुवै किनारमा भव्य मेला लगाइएको छ ।
कनकाई पुल पूर्वपट्टि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल र कनकाई पुल पश्चिमपट्टि शिवसताक्षी नगर प्रमुख मेघा हाङ थोप्राले मेलाको उद्घाटन गरेका थिए । मेलामा रोटेपिङ, विभिन्न खेल तमासा, ब्रेक डान्स, बटर फ्लाई, कोलम्बस, विभिन्न जातजातिका झाँकी, कला साहित्य लगायत विविध कार्यक्रम आयोजना गरिएको छ ।
माई मेलामा २ लाख बढी तीर्थयात्री मकर स्नान गर्न आउने अनुमान गरिएको आयोजक समितिले जनाएको छ । स्नान गर्न आउने भक्तजनहरूका लागि आयोजक समितिले आगो ताप्ने व्यवस्थापन मिलाएको छ । मेलाको व्यवस्थापन पहिलाका वर्षभन्दा राम्रो गरिएको छ ।
आयोजक समितिले चार सय बढी स्वयंसेवक परिचालन गरिएको जनाएको छ । मेलाका कारण पूर्व पश्चिम राजमार्ग अन्तरगतको कनकाई नदीको पुलमा भीडभाड नियन्त्रणका लागि नदीमै आयोजक समितिले काठको अस्थायी पुल निर्माण गरेको छ ।
मेलाको सुरक्षाको लागि बिर्तामोड र दमकमा कार्यरत दुई जना डीएसपीको नेतृत्वमा २ सय बढी सुरक्षाकर्मी खटाइएको छ । अहिलेसम्म मेलामा कुनै अप्रिय घटना नभएको प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए । कुनैपनि आपराधिक घटना नहोस् भनेर मेलामा सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको उनले बताए ।
माई मेलामा झापासहित मोरङ, सुनसरी, धनकुटा, इलाम, पाँचथर, ताप्लेजुङलगायत छिमेकी राष्ट्र भारतबाट पनि भक्तजनहरू आउने गरेका छन् ।


