धरान । ‘कोशी’ नाम खारेजीको माग गर्दै आन्दोलनमा रहेको प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले इलाममा हुन गइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा साझा उम्मेदवार उठाउने भएको छ ।
संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङको निधन भएपछि खाली भएको इलाम २ को उपनिर्वाचनमा साझा उम्मेदवार उठाउने निर्णय संघर्ष समितिले गरेको हो ।
सुनसरीको धरानमा सम्पन्न २ दिने बैठकले यस्तो निर्णय गरेको संघर्ष समितिले जनाएको छ । बैठकले गरेका निर्णयहरू र आन्दोलनका आगामी कार्यक्रमबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिले सो जानकारी दिएको हो ।
संघर्ष समितिले प्रदेशको नाम ‘कोशी’ नाम राखिएको फागुन १७ गतेलाई कालो दिन मनाउने निर्णय गर्दै सो दिन आमहड्ताल गर्ने निर्णयसमेत गरेको छ । प्रदेश सभा, सरकार र प्रदेश सभाका सांसद र दलका नेताहरू जिम्मेवार भएर पुनः नामाङ्कनको प्रक्रिया अघि नबढाए आमहड्ताललाई अनिश्चितकालीन रूपमा लम्ब्याउने चेतावनी पनि संघर्ष समितिले दिएको छ ।
प्रदेशका मुख्यमन्त्री, मन्त्री र प्रदेश सभा सदस्यहरूलाई कालो झण्डा देखाउनेसहित पूर्वघोषित विरोध कार्यक्रमलाई निरन्तरता दिने निर्णय बैठकले गरेको जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । सरकारी तथा गैरसरकारी कार्यालयहरूमा ‘कोशी’ नाम लेखिएको बोर्ड, लेटरप्याड, स्ट्याम्प राखिएको चलाइएको भए सम्बन्धित कार्यालय प्रमुखलाई हटाउन अनुरोध गर्ने तथा नहटाए आफैं मेटाउने कार्य माघ १३ देखि फागुन १० गतेसम्म सञ्चालन गर्ने पनि विज्ञप्तिमा जनाइएको छ ।
पहिचानवादी जातीय सङ्घ, सङ्गठनहरूमा रहेर पहिचानविरोधी काममा संलग्न हुनेलाई कारबाही गर्नुपर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक संविधानप्रति प्रतिबद्धता जनाउँदै वर्तमान संविधानको रक्षा, सङ्घीय गणतन्त्रलाई कार्यान्वयन गर्न निकट भविष्यमै तेस्रो जनआन्दोलनको नेतृत्व गर्ने चेतावनी दिइएको छ ।
पहिचानको आन्दोलन जनसमुदायिकरण, राष्ट्रिय, अन्तर्राष्ट्रियकरण भएको र कसैले हार्नु नपर्ने, पुनः नामकरण भए आम जनताको जित हुने बुझेर आन्दोलन अझ सशक्त बन्दै गएको बैठकमा भएको समीक्षाले निष्कर्ष निकालेको किरात याक्थुङ चुम्लुङ केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले बताए । बैठकमा नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष ग्याल्जे शेर्पा, पुनः नामाङ्कन अभियान समिति अध्यक्ष डकेन्द्रसिंह थेगिम, किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताची राई र नेपाल शेर्पा सङ्घका महासचिव लाक्पा शेर्पा, पूर्वसंस्कृति मन्त्री गोपाल किराँती, जनमुक्ति पार्टी अध्यक्ष केपी पालुङगासहितको सहभागिता थियो ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।