विराटनगर । जुवाजन्य खेल खेलाइने क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गर्न प्रतिबन्ध भएपनि विराटनगरका क्यासिनोले खुलेआम नेपालीलाई जुवा खेलाउने गरेको पाइएको छ ।
विराटनगरस्थित रत्ना होटलमा रहेको क्यासिनोमा जुवा खेलेर निस्किएका दुई व्यक्तिबीच शुक्रबार मध्यराति खुकुरी हानाहान भएपछि क्यासिनोभित्र नेपालीले जुवा खेल्ने गरेको खुलेको हो ।
रत्ना होटलमा रहेको सम्राट क्यासिनोमा जुवा खेलेर निस्किएका युवाबीच खुकुरी हानाहान भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रपक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार घटनामा विराटनगर–११ का ३१ वर्षीय रोनाल कँडेल घाइते भएका छन् । उनको टाउको र देब्रे कानमा चोट लागेकोले विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न झापाको घैलाडुब्बा घर भइ विराटनगर–८ मा बस्दै आएका ३८ वर्षीय विक्रम थपलिया पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
क्यासिनोभित्र विवाद गर्न थालेपछि युवाहरुको समूहलाई बाउन्सरले बाहिर निकालेकोमा होटल परिसरमै खुकुरी र हेल्मेट हानाहान भएको थियो । प्रहरीका अनुसार घाइते कँडेल र पक्राउ परेका थपलिया साथी हुन् । दुवै जना अपराधिक पृष्ठभूमिका छन् । सट्टेबाजीमा हारेको पैसा असुल्न विराटनगरका पिन्टु भनिने सञ्जय सिंहलाई अपहरण गरेर बन्धक बनाउँदै कुटपिट गरेको आरोपमा २०७७ सालमा कँडेललाई प्रहरीले पक्राउ गरेको थियो ।
थपलियामाथि मिटरब्याजीको आरोप छ । उनले पनि व्यापारीहरुसँग फिरौती माग्ने गरेको आरोप छ । डीएसपी दाहालले घटनामा संलग्न र घाइते दुबैको पृष्ठभूमिसमेत केलाएर अनुसन्धान अघि बढाइएको जानकारी दिए ।
प्रहरी स्रोतका अनुसार कँडेल र थपलियासहित केही नेपाली युवा जुवा खेल्न क्यासिनोमा छिरेका थिए । जुवा खेल्ने क्रममा पैसा हारमारको विषयलाई लिएर विवाद भएको थियो । सुरुवातमा थपलिलयाले किरण लिम्बूमाथि खुकुरी प्रहार गरेभएपनि उनी छलिएर जोगिएको बताइएको छ ।
स्रोतका अनुसार खुकुरी र हेल्मेटले हानाहान गर्न थालेपछि बाउन्सर तथा सुरक्षागार्डले उनीहरुलाई क्यासिनो परिसरबाट बाहिर निकालेका थिए । बाहिर निस्किएपछि सडकमा पनि उनीहरुबीच हानाहान भएको प्रहरीको भनाइ छ । झगडा नियन्त्रणमा लिने क्रममा युवाहरूले बसपार्कको ड्युटीमा खटिएका प्रहरीमाथि पनि दुर्व्यवहार गरेका थिए ।
जुवा खेलेको विषयलाई लिएर घटना भएको जानकारी आएको बताउँदै डिएसपी दाहालले थप अनुसन्धान भइरहेको बताए । प्रारम्भिक अनुसन्धानका क्रममा एउटै समूहका युवाबीच झगडा भएको पाइएको उनले बताए ।
क्यासिनोमा नेपालीलाई प्रवेश निषेध भएपनि नेपालीलाई प्रवेश गराएको विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विराटनगरको रत्ना होटलमा ‘सम्राट’ र बिग होटलमा ‘च्याम्पियन जोन’ क्यासिनो सञ्चालनमा छन् । नेपालीलाई प्रवेश निषेध भएपनि स्थानीय प्रशासनले चासो नदिँदा सञ्चालकले खुलेआम नेपालीलाई क्यासिनोमा जुवा खेलाउने गरेका छन् ।
क्यासिनोमा प्रवेश गर्न विदेशी नागरिक पुष्टि हुने ‘आइडी कार्ड’ अनिवार्य देखाउनुपर्ने नियम छ। कतिपय नेपालीले भारतीय आधार कार्ड बनाएर त्यसका आधारमा क्यासिनो प्रवेश गर्ने गरेका छन् भने कतिपयलाई त्यत्तिकै प्रवेश गर्न दिइने गरेको स्रोतले जनाएको छ । विराटनगरमा भारतीय ग्राहकलाई लक्षित गरेर सञ्चालन गरिएको क्यासिनो नेपालीले नै भरिभराउ हुने गरेको स्रोतको दावी छ ।

