विराटनगर । प्राङ्गारिक मलसँगै बायोग्यास उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ । गैर नाफा मुलक संस्था जीवन विकास समाजले मोरङको धनपालथान गाउँपालिका ३ डकुवाडाँगामा दश बिघा क्षेत्रमा स्थापना गरेको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग शुक्रबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको हो ।
उद्योगको उद्घाटन समाजका संस्थापक अध्यक्ष तथा मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य माननीय योगेन्द्र मण्डल र प्रदेशसभा सदस्य गयानन्द मण्डलले गरे । उद्योगको उद्घाटन गर्दै उनले रासायनिक मललाई प्रतिस्थापन गर्ने अभियान सुरु भएको बताए । स्वदेशमा नै उत्पादन हुने प्राङ्गारिक मलले नेपाली किसानले भोग्दै आएको रासायनिक मलको हाहाकारलाई कम गर्ने उनको भनाई छ । ‘यो वर्ष आठ लाख मेट्रिक टक रासायनिक मल चाहिन्छ, चार लाख टन बाहिरबाट ल्याउँदा ३३ अर्ब खर्च भइसक्यो ,’उनले भने,‘ यसको दीर्घकालिक समाधान सोचिएन भने एक दिन किसानसँग पैसा हुन्छ, तर खाद्यान्न विना बस्नुपर्ने अवस्था आउनसक्छ ।’
युरिया डिएपी जस्ता रासायनिक मलको विकल्पको रुपमा प्राङ्गारिक मल प्रयोग गर्नुपर्ने उनको भनाई छ । ‘युरिया डिएपीको विकल्पको रुपमा प्रयोग गर्नु पर्छ, सिक्किमले रासायनिक मल निषेध गरिसक्यो ,’उनले भने,‘ हामीले तीन ठाउँमा प्राङ्गारिक मलको प्रयोग गर्दा युरिया डिएपी बराबरकै धान फल्यो, त्यहाँ कुनै रोगब्यादी पनि लागेन ।’
राज्यले योजना बनाउने हो भने तीन वर्षमा नेपाललाई रासायनिक मल मुक्त गर्न सकिने उनको भनाई छ । ‘युरिया डिएपी खरिदका लागि छुट्याएको बजेट बराबरको लगानी गरे तीन वर्ष भित्र पर्याप्त प्राङ्गरिक मल उत्पादन हुन्छ,’ उनले भने,‘ उत्पादन लागत सस्तो छ, प्रभावकारिता रासायनिक मल बराबर छ, फाइदा धेरै हुन्छ ।’
कोशी प्रदेश सांसद गयानन्द मण्डलले प्राङ्गरिक मलको प्रयोगमा राज्यले किसानलाई सहयोग गर्ने बताए । उनले भने ‘रासायनिक मलबाट मुक्त हुन प्राङ्गरिक मलको प्रयोग आवश्यक छ,’१० करोड लागतमा जीवन विकासले स्थापना गरेको उद्योगको क्षमता दैनिक आठ टनसम्म प्राङ्गरिक मल उत्पादन गर्नेछ । १५० सिलिन्डर बायोग्यास उत्पादन गर्ने क्षमता छ ।
उद्योगबाट बायोग्यास भन्दा पनि मल उत्पादनमा जोड दिएको उद्योगका प्रमुख उपेन्द्रकुमार मण्डलले बताए । उनका अनुसार ४० टन कच्चा पदार्थ प्रयोग गर्दा ८ टन प्राङ्गरिक मल र १५० सिलिन्डर बायोग्यास उत्पादन हुन्छ ।सोही क्रममा किसानले उत्पादन गरेको दूध सङ्कलनका लागि जीवन विकास डेरीको दूध संकलन केन्द्रको पनि उद्घाटन गरिएको थियो ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।