विराटनगर । मोरङको कटहरी गाउँपालिकामा ३ करोड २७ लाख ४४ हजार रुपैयाँ बेरुजू फछ्र्यौट हुन बाँकी रहेको पाइएको छ । पालिकालाई खर्चलाई नियमित नगर्दा बेरुजूको आकार ठूलो देखिएको हो ।
वितेको ६ वर्षमा जम्मा १४ करोड ११ लाख ७५ हजार बेरुजु देखिएकोमा कटहरीले आर्थिक वर्ष २०७७÷०७८ मा १० करोड ८४ लाख ३० हजार रुपैयाँ फछ्र्यौट गरेको थियो । रुजु हुन नसकेको अझै ३ करोड २७ लाख ४४ हजार रुपैयाँ बेरुजूकै रुपमा रहेको बिहीबार कटहरी गाउँपालिकाको दोस्रो गाउँसभामा जानकारी दिइएको थियो ।
कटहरीमा सबैभन्दा बढी बेरुजु आर्थिक वर्ष २०७८÷०७९ मा देखिएको छ । आर्थिक वर्षमा १ करोड ८५ लाख ९९ हजार ३३२ रुपैयाँ बेरुजु छ । यसैगरी ०७३÷०७४ मा १३ लाख ३७ हजार १२८ रुपैयाँ, ०७४/ ०७५ मा ७ लाख ४१ ह्जार ५५३ रुपैयाँ, ०७५/०७६ मा १४ लाख ९२ हजार ७ सय ९ रुपैया, ०७६÷०७७ मा ३७ लाख ४० हजार ३१९ रुपैयाँ, ०७७÷०७८ मा ७९ लाख ४६ हजार ५३५ रुपैयाँ बेरुजु रहेको गाउँपालिकाले गाउँसभामा जानकारी गराएको छ ।
बेरुजु देखिएको मध्ये लाखौं रुपैयाँ असुल गरी दालिखा गराउनु पर्ने पनि माहालेखा परीक्षकको कार्यालयले औल्याएको छ । कटहरी गाउँपालिकाका तत्कालीन अध्यक्ष रामकुमार कामत रहेको बेला दुई जना व्यक्तिले खाना खाएको २९ हजार ८८ रुपैयाँको बिल पेश गरिएको थियो । उक्त बिल भुक्तानी गरेको गाउँपालिकालाई महालेखा परीक्षकको कार्यालयले भुक्तानी गर्न गर्न नमिल्ने भएकोले असुलउपर गर्न भनेको छ । उक्त खर्च बेरुजुको रुपमा देखिएको विवरण पनि गाउँसभामा पेश गरिएको थियो ।
यसैगरी आर्थिक वर्ष ०७÷०७४ मा कटहरी गाउँपालिका एक व्यक्तिले रिजार्च तथा विविध बिल राखी ४० हजार रुपैयाँ भुक्तानी लिएका थिए । कन्टेजेन्सीमार्फत जोहो भएको रकमबाट भुक्तानी गर्न नमिल्ने भएकाले असुलउपर हुनुपर्ने भन्दै मलेपले त्यसलाई बेरुजुमा राखेको छ ।
यस्तै तत्कालीन गाउँपालिका अध्यक्ष रामकुमार कामत र उपाध्यक्ष मंजिताकुमारी सरदारको भ्रमण खर्च भुक्तानी गर्दा हजाइ जहाजको टिकटको बिल भुक्तानी दिँदा बोडिङ पास संलग्न नभएको पाइएपछि १७ हजार ७ सय रुपैयाँ बेरुजु राखी महालेखाले असुल उपर गर्न भनेको छ ।
कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले कटहरी गाउँपालिकाले बेरुजु घटाउन लागिपरेको बताए । आर्थिक वर्ष मात्र १० करोड बढी बेरुजु फछ्र्यौट गरिएको उनले बताए । ‘अहिले बाँकी रहेको बेरुजु फछ्र्यौट गर्नको लागि गाउँसभा गरिएको हो । गाउँसभाबाट निर्णाय गरि बेरुजु फछ्र्यौट गर्न हामी लागेका छौंं,’ उनले भने ।

