विराटनगर । नेपाली गोलकिपिङ प्रशिक्षक मनिष तिम्सिना एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स हासिल गर्ने पहिलो नेपाली बनेका छन् ।
तिम्सिनाले मलेसियाली फुटबल एसोसिएसनले आयोजना गरेको कोर्समा लाइसेन्स हासिल गरेका हुन् ।तीन वर्षदेखि आइलिग क्लब गोकुलम केरलाको गोलकिपिङ प्रशिक्षक रहेका तिम्सिनाले लाइसेन्स हासिल गरेपछि आफ्नो शेयर गरेका छन् । यो आफ्नो करियरको भर्खर सुरुआत भएको बताउँदै उनले आफू व्यावसायिक जीवनमा प्रवेश गरेको अनुभूति बताएका छन् ।
‘यो मेरो करियरको सुरुवातसँगै व्यावसायिक करियरमा प्रवेश गरेजस्तो लाग्छ’ उनले भने, ‘यो सबैभन्दा शीर्ष गोलकिपिङ लाइसेन्स हो । म यो लाइसेन्स लिएर संसारको जुनसुकै ठाउँमा काम गर्न सक्छु ।’ उनले यो उपलब्धि आफ्ना एक्लो नभई सम्पूर्ण नेपालीले पनि फुटबल जगतमा राम्रो गर्न सक्ने उदाहरण भएको बताए ।
मलेसियालाई यो लाइसेन्स प्राप्त गर्न गाह्रो ठाउँ मानिन्छ । लाइसेन्स त्यहाँ पाउँदा आफूलाई निकै खुसी लागेको उनी बताउँछन् ।यो लाइसेन्ससँगै तिम्सिनाले एशियाका ठूला लिग र ठूला टोलीमा काम गर्ने लक्ष्य राखेको बताउछन् । ‘मैले भारतमा तीन वर्ष सफलतापूर्वक काम गरेको छु जुन अहिले एशियामा धेरै ठूलो फुटबल बजार हो’, उनी भन्छन् । यो लाइसेन्सका साथ एशियाका ठूला लिगहरूमा र ठूला क्लबहरूमा काम गर्न योग्य भएको उनले बताए ।
यो लाइसेन्ससँगै तिम्सिनाले भर्खरै सम्पन्न नेपाल सुपर लिगले नेपालले युवा र गोलकिपिङको जगमा कत्तिको काम गर्नुपर्छ भन्ने देखाएको बताए । उनले एन्फाले पनि शीर्ष लाइसेन्स गोलकिपिङ प्रशिक्षक ल्याउनुपर्नेमा जोड दिएका छन् ।
तिम्सिना हाल कलिंगा सुपर कपका लागि गोकुलम केरलासँग भारतको ओडिशामा छन् र उपाधि जित्ने लक्ष्य उनको छ । एन्फाको धरान एकेडेमीका गोलकिपर प्रशिक्षकका रुपमा कार्यरत ३३ वर्षे तिम्सिनाले खेलाडीका रुपमा थ्री स्टार, आरसिटी, हिमालयन शेर्पा, बाँसबारी, स्वयम्मु, ब्रिगेड ब्वाइजबाट खेले । आइलिग टोलीमा कुनै पनि प्रशिक्षकका रुपमा आबद्ध भएका उनी पहिलो नेपाली हुन् ।
पूर्वाञ्चलबाट पाँचौ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका तिम्सिना १० वर्षयता प्रशिक्षणमा सामेल छन् । विराटनगरका उनले साफ यू १५ मा नेपाली टोलीको गोलकिपर प्रशिक्षकको भूमिका पनि निर्वाह गरिसकेका छन् ।