काठमाडौं । अनुयायीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनलाई जेल चलान भएका छन् ।
जिल्ला अदालत, सर्लाहीले बिहीबार बमजनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । जिल्ला अदालत सर्लाहीका न्यायाधीश विष्णुप्रसाद रेग्मीले सो आदेश गरेका हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार साँझ बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो । बमजनले आफूमाथि बलात्कार गरेको भन्दै रौतहटकी एक किशोरीले २०७५ भदौमै प्रहरीमा जाहेरी दिएकी थिइन् ।
दबाबका कारण सुरुमा जाहेरीसमेत दर्ता नभएकोमा पीडित किशोरीको जाहेरी जिल्ला प्रहरी कार्यालय, सर्लाही दर्ता भएपछि २०७६ माघ २३ मा बमजनविरुद्ध पक्राउ पूर्जी जारी भएपनि फरार थिए । पीडित युवती बम्जनको सिन्धुपाल्चोकस्थित आश्रममा आनीका रुपमा बसेकी थिइन् । त्यहीँ २० साउन २०७३ मा आफूलाई बम्जनले बलात्कारको प्रयास गरेको उनले बताएकी थिइन् ।
बम्जनको स्वभावका कारण आश्रममा बस्न ठीक नलागेपछि २०७५ असारतिर आश्रम छाडेर निस्किएको उनले बताएकी थिइन् ।