लोड हुँदैछ...

मेनु

सक्रियता बढाउँदै राष्ट्रिय सभा उम्मेदवारहरु

सक्रियता बढाउँदै राष्ट्रिय सभा उम्मेदवारहरु

विराटनगर । नेपाली काँग्रेसका नेता तथा राष्ट्रियसभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौलाले आवश्यक कानुनको अभावमा प्रदेश सरकार महाअल्मलमा परेको बताएका छन् ।

नेपाली काँग्रेस मोरङले विराटनगरमा आयोजना गरेको गठबन्धनका उम्मेदवारसितको भेटघाट तथा परिचयात्मक कार्यक्रममा नेता सिटौलाले प्रदेश सरकार नाममात्रको सरकार भएको टिप्पणी गरे ।

संविधानले शान्ति सुरक्षाको जिम्मा प्रदेश सरकारलाई दिए पनि अहिलेसम्म प्रदेश सरकारलाई आवश्यक पर्ने संरचनाका लागि कानुन बनाएर नदिँदा सरकारलाई अप्ठ्यारो भइरहेको बताए । ‘अहिले प्रदेश सरकार महाअल्मलमा छ । संविधानले त संघीय, प्रदेश र स्थानीय सरकारको आ–आफ्नो जिम्मेवारी र कर्तव्य तोकेको छ । हालसम्म संघीय सरकारले प्रदेश सरकारलाई आवश्यक पर्ने कानुन बनाएर दिन सकेको छैन । त्यही भएर प्रहरी समायोजन हुन सकेको छैन,” उनले भने, “संविधानमा लेखेअनुसारका व्यवहारमा लागू गर्न नसक्दा शिक्षा, स्वास्थ्य जताततै अराजकतै अराजकता देखिएको छ ।”

आफूले शान्ति प्रक्रियादेखि संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले राष्ट्रियसभामा गएर संविधान कार्यान्वयनमा पनि भूमिका खेल्ने उनको प्रतिबद्धता थियो । कार्यक्रममा गठबन्धनकी साझा उम्मेदवारसमेत रहेकी नेकपा माओवादी केन्द्रकी नेतृ चम्पादेवी कार्कीले लोकतन्त्र र गणतन्त्रका लागि ज्यानको प्रवाह नगरी आन्दोलनमा होमिएको बताइन् ।उनले अवसर प्राप्त भएमा संविधान कार्यान्वयनमा इमान्दारिताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा नेपाली काँग्रेसका पूर्वउपसभापति विजयकुमार गच्छदार, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, भीम पराजुली, प्रदेश सभापति उद्धव थापा, मुख्यमन्त्री केदार कार्की, नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य महेश रेग्मी, नेकपा माओवादीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ, नेपाली काँग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझी, उपसभापति नागेश कोइराला, सचिव मोदराज घिमिरेलगायतले गठबन्धनको उम्मेदवार जिताउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य, गठबन्धनका तर्फबाट प्रतिनिधित्व गर्ने मोरङका विराटनगर महानगरपालिकासहित विभिन्न पालिकाका प्रमुख र उपप्रमुखको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।