विराटनगर । बुधबार मोरङको जहदाबाट एक जना १० वर्षे बालक अपहरणमा परे । जहदा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम राजवंशीको छोरा अपहरणमा परेका थिए । बालक अपहरणमा परेको खबरसँगै प्रहरी सक्रियता एकाएक बढ्यो । प्रहरीले छोटो समयमा नै बालकलाई अपहरणमुक्त गरायो । त्यस क्रममा प्रहरी तीन जना युवाहरुलाई पक्राउ गर्न सफल भयो ।

बालक अपहरण गर्ने समूहलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान गर्दा मुख्य अभियुक्त फेला नपरेको खुलासा भयो । पक्राउ परेका युवाहरुले जनही एक हजार रुपैयाँ पाउने लोभमा बालकको अपहरण गरेको खुल्यो । त्यही एक हजार रुपैयाँको लोभमा परेर ती युवाहरुले वडाध्यक्ष राजवंशीको छोरालाई अपहरण गरेको प्रहरी बताउँछ । ‘उनीहरुले स्कुलमा फोटो खिचाउन जाने भनेर ती बालकलाई अपहरण गरेका रहेछन्,’ एक जना प्रहरीले भने ।

इलका प्रहरी कार्यालय रानीले बालक अपहरण गरेको आरोपमा जहदा– १ का २० वर्षे अभिषेक यादव, १९ वर्षे मिथिलेशकुमार यादव र विराटनगर–१८ का २१ वर्षे विवेकानन्द यादवलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । प्रहरीले अपहरण गराउने मुख्य व्यक्तिलाई भने अहिलेसम्म पक्राउ गरेको छैन । अपहरणकारीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

स्कुलमा फोटो खिच्न भनेर लगे –बालक

अपहरणमा परेको भनिएका बालक मंगलबार दिउँसो २ बजे घरदेखि करिब सय मिटरको दूरीमा रहेको चौरमा खेलिरहेका थिए । अपहरणकारीले मिथिलेशकुमारलाई विराटनगरसम्म ती बालकलाई ल्याउन अह्राएका थिए । विराटनगरसम्म ल्याएवापत मिथिलेशलाई एक हजार रुपैयाँ दिने प्रलोभन दिएका थिए । सोही अनुसार मिथिलेसले अभिषेक र विवेकानन्दको सहयोगमा बालकलाई त्यहाँबाट लैजान सकेको प्रहरीले जनाएको छ । ‘उनीहरुलाई पनि जनही एक–एक हजार रुपौँ दिने र्सत राखे । त्यसपछि खेल्दै गरेका कक्षा पाँचमा अध्ययन गर्ने बालकलाई स्कुलमा फोटो खिचाउनु छ भन्दै साइकलमा हालेर विवेकान्दले लिएर आए । जहदाको नहरमा ल्याएपछि मिथिलेशले फोन गरेर अभिेषकलाई बोलाए । अभिषेकको मोटसाइकलमा बालकलाई राखेर उनीहरु तीन जनाले बालकलाई विराटनगर १५ स्थित श्री राम स्कुल नजिक अभिषेकको दाजुको कोठामा ल्याएको देखिन्छ,’ डिएसपी दहालले भने ।

अभिषेकको दाजु बस्ने यादव निवास लेखिएको घरमा राख्न खोज्दा अपहरणकारीबीच नै विवाद भएको पाइएको छ । बालकलाई त्यहाँबाट अन्यत्र लैजाने प्रयास हुँदै गर्दा थाहा पाएर स्थानीयले हो–हल्ला गरेछन्,’ उनले भने, ‘घटना थाहा पाउनासाथ पुगेको प्रहरीले बालकको सकुशल उद्धार गरेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’

यसरी परे प्रहरीको फन्दामा

बालक अपहरण गरेर कोठामा ल्याउँदा करिब दिउँसोको ३ः३० बजेको थियो । त्यसबेलासम्म गाउँमा वडाअध्यक्षको छोरा हराएको हल्ला फैलियो । प्रहरीमा तत्काल जानकारी पुग्यो ।बालक अपहरणमा परेको जानकारी पाउनसाथ अपहरणकारीको खोजी र बालकको उद्धारका लागि मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले विशेष टोली परिचालन गरेका थिए । इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर (प्रहरी निरीक्षक) सन्दीप बेलबासेको नेतृत्वमा खटिएको संयुक्त टोलीले विराटनगर–१८ बाट बालकको उद्धार गरेको हो । डीएसपी दाहालका अनुसार प्रहरी आएको थाहा पाएपछि अपहरणमा संलग्न भने फरार भएका थिए । सुरुमा अभिषेक पक्राउ परेका थिए । त्यसपछि अरु दुई जनालाई पक्राउ गर्न प्रहरी सफल भएको हो । ‘तीनै जनाको मिलेमतोमा बालकको अपहरण गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ डीएसपी दाहालले भने, ‘उनीहरु जहदा–१ बुधनगरबाट पक्राउ परेका हुन् ।’ पक्राउ परेकाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाउन बुधबार मोरङ अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइहरको उनले बताए ।

बालकलाई अपहरण गर्नुपर्ने कारण पत्ता लागेको छैन । विस्तृत अनुसन्धानपछि खुल्ने प्रहरीले बताएको छ ।पक्राउ परेकामध्ये मिथिलेशले भारतीय नम्बरको वाट्स एपमा कुरा गरेको पाइएको प्रहरीको भनाइ छ । ‘अपहरणकारीले भारतीय मोबाइल नम्बरको वाट्स एपमा कुरा गरेका कारण भारत पु¥याउने योजनासहित बालकको अपहरण गरिएको आशंका छ,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले भने, ‘अपहरणको मुख्य योजनाकार नै भारतीय नागरिक हुन सक्छन् ।’ अपहरणको मुख्य योजनाकारका बारेमा खुल्न बाँकी रहेको र विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।