काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ ।
न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार कैद साजयसँगै उनीबाट उनीबाट ३ लाख जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन भराउन आदेश गरेको छ।
जिल्ला अदालतले दोषी ठहर गरेर कैद तोकेपनि लामिछानेले तत्कल जेल जानुपर्ने छैन । जिल्लाबाट तारेकमा छुटेको व्यक्तिले अन्तिम फैसलामा जेल सजाय भएपनि जेलबाहिरै बसेर उच्चमा पुनरावेदन गर्न पाउने व्यवस्था छ ।
गत पुस १३ गते जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालले सन्दीपलाई किशोरी बलात्कार मुद्दामा दोषी ठहर गर्दै फैसला सुनाएका थिए। फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको व्यवस्थाका आधारमा सजाय तोक्नका लागि त्यतिबेलै आजको लागि पेसी तोकिएको थियो ।
पीडितको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर उनले किशोरीलाई बलात्कार गरेको अदालतको ठहर छ । किशोरीको उमेर भने १८ वर्ष पुगेको अदालतले मानेको छ ।
मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा ३ (ङ) मा १८ वर्ष वा त्यसभन्दा बढी उमेरकी महिला पीडित भए ७ देखि १० वर्षसम्म कैद हुन व्यवस्था छ । गौशाला २६ नाम दिइएकी ती किशोरीलाई काठमाडौँको सिनामंगलस्थित एक होटलमा लगेर बलात्कार गरेको अभियोग लामिछानेलाई लागेको थियो ।
पीडित पक्षले नाबालिगमाथि बलात्कार भएको दाबी गर्दै आएको थियो । सन्दीपविरुद्ध आफूलाई नाबालिग बताउँदै गौशाला २६ ले जबरजस्ती करणीको आरोप लगाएकी थिइन् ।
२०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा बलात्कारको आरोप लगाउँदै ती गौशाला २६ ले जाहेरी दिएकी थिइन् । लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दर्ता भएको थियो ।
१८ वर्ष नपुगेकी नाबालिगमाथि करणी गरेको कसूरमा त्यसबेला सन्दीपलाई १२ वर्ष कैद सजाय माग गरिएको थियो । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा ३ को देहाय घ अन्तर्गतको कसुर गरेको अभियोग उनीमाथि थियो ।
उक्त कसुरमा १६ वर्षभन्दा बढी तथा १८ वर्षभन्दा कमकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद हुने उल्लेख छ। सोही आधारमा त्यसबेला सन्दीपलाई बढीमा १२ वर्ष कैद सजाय माग गरिएको थियो ।
ती किशोरीले काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित एक होटलको कोठा ३०५ मा बलात्कार गरेको अभियोग लगाएकी थिइन् । उनको जाहेरी सन्दीप विदेशमा रहेकाले गौशाल प्रहरी वृत्तमा दिएकी थिइन् । त्यसबेला उनले काठमाडौंबाट नगरकोट लगेर, त्यहाँबाट फर्काएपछि सिनामंगलको होटलमा रातभर राखेर बलात्कार गरेको बयान दिएकी थिइन् ।
प्रहरीले पनि २०७९ भदौ ५ गते राति एक होटलको ३०५ नम्बर कोठामा सन्दीपले बलात्कार गरेको अभियोग पत्र सरकारी वकिलमार्फत दर्ता गराएको थियो । बलात्कार भएको जाहेरी दर्ता गरेपछि प्रहरीले किशोरीको स्वास्थ्य जाँच गरेको थियो । जाहेरीपछि प्रहरीले सन्दीपलाई वेस्टइन्डिजबाट अमेरिका हुँदै आउने क्रममा प्रहरीले पक्राउ गरेको थियो ।
जाहेरी पर्दा विदेशमा रहेका सन्दीप २०७९ असोज २० गते नेपाल फर्किएका थिए । उनलाई त्रिभुवन विमानस्थलबाटै हत्कडी लगाए हिरासतमा लिइएको थियो ।
असोज १८ गते जिल्ला अदालत काठमाडौंले थुनामा पठाएका सन्दीपलाई उच्च अदालत पाटनले २०७९ पुस २८ गते धरौटीमा छाड्न आदेश दिएको थियो ।
लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेका अनुसार कुनैपनि आधार, कारण र प्रमाणहरूले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायका लागि उच्च अदालत जाने बताएका छन् ।

