काठमाडौं । तपस्वीको आवरणमा अपराधिक कार्य गरेर फरार रहेका रामबहादुर बमजनको करोडौंको सम्पत्ती पाइएको छ ।

काठमाडौंको हात्तीगौंडाबाट मंगलबार पक्राउ परेका बमजनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार सार्वजनिक गरेको छ ।

उनीविरूद्ध बाल यौन दूराचारको जाहेरी छ । उनी सोही अभियोगमा फरार रहेकोमा पक्राउ गरेको ब्युरोले जनाएको छ । जंगलमा बस्दै आएको दावी गर्ने तपस्वीको साथबाट करोडौंको नगद तथा सवारी साधन प्रहरीले बरामद गरेको छ ।

प्रहरीले बमजनको घरबाट १७ देशका अवैध मुद्रा बरामद गरेको छ । उनको घरबाट विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको अवैध मुद्रा बरामद गरेको ब्युरोले बताएको छ ।

यस्तै उनीसँग नेपाली रुपैयाँ ३ करोड ३४ लाख पनि बरामद भएको छ । उनको घरबाट सीआईबीका प्रवक्ता नवराज अधिकारीका अनुसार बूढानीलकण्ठ नगरपालिका ६, टन गाउँबाट उनलाई पक्राउ गरिएको हो । उनको साथबाट प्रहरीले मोबाइलमात्रै १४ थान प्रहरीले बरामद गरेको छ ।

२०७१ श्रावनदेखि बाराको हलखोरियामा बम्जनको आश्रममा रहेकी आनीले यौन शोषण गरेको भन्दै उनीविरुद्ध उजुरी दिएकी थिइन् । बाल यौन शोषण गरेको मुद्दा लागेपछि फरार रहेका बाराको रतनपुरी स्थायी वतन भएका बम्जनलाई पक्राउ गर्न सर्लाही जिल्ला अदालतले २०७६–१०–२३ अनुमति दिएको थियो ।

यसैगरी प्रतिवादीलाई पक्राउ गरी उपस्थित गराई गराउन जिल्ला प्रहरी कार्यालय, सर्लाहीले २०७६ सालमै पत्राचार गरेकोमा अहिले उनी पक्राउ परेका हुन् । मंगलबार करिब १९ः१५ बजे उनलाई पक्राउ गर्न प्रहरी घरमा प्रवेश गर्दा खाली रहेको भिरालो जमिनमा झ्यालबाट हाम फालेर भाग्ने प्रयास गरेका थिए ।

प्रहरीका उनको साथबाट मोबाइलबाहेक ३ वटा मोटरसाइकलको बिलबुल बरामद भएको छ । यस्तै गाडीको चाबी १ थान, विभिन्न ब्राण्डको पेनड्राइभ २० थान, भोइस रेकर्डर १ थान, विभिन्न ब्राण्डको मेमोरी कार्ड २ थान, आईप्याड र ट्याब ५ थान र अन्य मागजातहरु बरामद भएको सीआईबीले जनाएको छ ।

सीआईबीले बम्जनको आश्रमबाट विभिन्न समयमा बेपत्ता भएका अनुयायीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

बमजनले धुम्बाराहीस्थित एक शोरूमबाट ५ करोडको ल्याण्ड क्रुजर गाडी खरिद गर्न ३ करोड रुपैयाँ बुझाइसकेको पाइएको छ । गाडी वौद्ध श्रवण धर्म संघ ललितपुरको अध्यक्ष पनित महर्जनको नाममा किन्ने तयारी थियो । बमजनले चढ्ने टोयोटा फर्च्युनर गाडी, क्रस फायर मोटरसाइकल, ३९० सिसीको केटिएम ड्युक, यमहा रे जेडआर स्कुटर पनि प्रहरीले बरामद गरेको छ।

बमजनलाई बुधबार सर्लाही लैजाने तयारी प्रहरीले गरेको प्रहरीले जनाएको छ ।