विराटनगर ।आसन्न राष्ट्रिय सभा निर्वाचनमा कोशीबाट उम्मेदवार रहेको नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संघीयता कार्यान्वयन गर्ने जिम्मेवारी राष्ट्रिय सभाबाट इमान्दारिताका साथ पूरा गर्ने बताएका छन् ।

विराटनगरमा बुधबार सञ्चारकर्मीहरुसँगको भेटमा नेता सिटौलाले जनताका लागि ल्याएको संघीताको लाभ जनताले अनुभूत गर्न नसकेको भन्दै कानुन अभावमा संघीयता कार्यान्वयन नभएकोले अब त्यस्तो अवस्था रहन नहुने बताए ।
‘लोकतान्त्रिक गणतन्त्रको मूलमर्म अनुसार संघीयता कार्यान्वयन गर्नुपर्छ । यो व्यवस्था जनताका लागि आएको हो । हामीले जुन संकल्प गरेर यो व्यवस्था ल्याएका हौं त्यस अनुसार हामीले काम गर्न सकेका छैनौं’ उनले भने, ‘त्यो उद्देश्य पूरा गर्ने तर्फ हामी जिम्मेवारीका साथ राष्ट्रिय सभामा गएर काम गर्छौं र त्यसप्रति हामी प्रतिबद्ध छौं ।’ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सृदृढ गर्न संघीयताम कार्यान्वयन गर्न जरुरी रहेको भन्दै नेता उनले संघीयता कार्यान्वयन नएकै कारण आएका प्रश्नहरु जायज रहेको बताए ।

संघीयता कार्यान्वयन नहुँदा प्रदेश सरकार सरकारजस्तो नभएर विकास एजेन्सी जस्तो हुन पुगेको भन्दै उनले प्रदेशलाई अधिकार सम्पन्न बनाएर सरकारजस्ता बनाउन भूमिका खेल्ने बताए । ‘नगरपालिकाले त नगर प्रहरी नियुक्त गर्छ तर प्रदेश सरकार सरकारजस्तो छैन, उसले प्रहरी र प्रशासन सञ्चालन गर्न सकिरहेको छैन’ उनले भने, ‘जबसम्म प्रशासनिक अधिकार प्रदेश सरकारसँग आउँदैन तबसम्म यसले जनतालाई डेलिभरी दिन सक्दैन ।’

नेता सिटौलाले संघीयता कार्यान्वयनका हिसाबले पहिलो पाँच वर्ष त्यसै खेर गएको टिप्पणी गरे । ‘पहिलो पाँच वर्ष संघीयता कार्यान्वयन गर्न नसकी खेर गएको छ । जसले जनतालाई विकासको अनुभूति दिलाउन सकेन । प्रदेश सरकार वास्तवमा सरकार हुन पाएन,’ उनले भने ‘अब प्रदेशलाई आवश्यक कानुन दिने, शिक्षा, स्वास्थ्य, र अन्य विषयमा प्रदेशलाई जिम्मेवार बनाउने गरी संविधान कार्यान्वयन गर्ने तर्फ राष्ट्रिय सभाबाट हाम्रो भूमिका रहनेछ ।’

आसन्न राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दलहरु एकजुट भएर आफ्नो उम्मेदवारलाई निर्वाचित गर्न लाग्नुपर्ने नेता सिटौलाले बताए । निर्वाचन नजिकिदै जाँदा भ्रमहरु पनि सिर्जना गर्दै लगिने भन्दै उनले त्यसमा सबै पार्टी कार्यकर्ता र आम सञ्चार क्षेत्र चनाखो भई सत्य सूचना प्रवाहमा ध्यान दिनुपर्ने बताए ।

गठबन्धन तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी नेतृ चम्पादेवी कार्कीले सबैको सहयोगबाट निर्वाचन परिणाम अनुकुल बनाउनुपर्ने बताइन् । उनले भने ‘अत्यन्त नयाँ प्रकारको चुनावमा हामी जाँदैछौं । जनता र मतदाताबीचमा त हामी गइरहेकै थियौं । तर, यहाँ त नेताहरु नै मतदाता हुनुहुन्छ । नेताहरु मतदाता भएकोले उहाँहरुसँग प्रस्तुत हुने र सबैको सहयोग प्राप्त गर्नेतर्फ सञ्चार क्षेत्रको पनि सहयोग खोजेका छौं ।’

यसैबीच आसन्न राष्ट्रियसभा निर्वाचनमा गठबन्धन दलका उम्मेदवारहरुको प्रचारप्रसारमा सहयोग गर्न मंगलबार प्रचारप्रसार उपसमिति, संयुक्त गठबन्धन, कोशी प्रदेश पनि गठन गरिएको छ । नेपाली काँग्रेस कोशी प्रदेशका प्रचार विभाग प्रमुख बाबुराम कोइराला(वाशु)को संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरिएको हो । उपसमितिका सदस्यहरुमा नेकपा एकीकृत समाजवादी मोरङ प्रचार विभागका ओसिम आलम, जसपा मोरङ प्रचार विभाग प्रवक्ता राकेशरोशन यादव, पत्रकारहरु शेखर रेग्मी, विनोद घिमिरे, बन्धु पोखरेल, गोकुल पराजुली, मुकेश यादव, कौशल निरौला, राजु अधिकारी र अर्जुन आचार्य छन् ।