विराटनगर । मोरङको जहदा गाँउपालिकामा विगत २७ वर्षअघि सुरु भएको खानेपानी आयोजनाको काम अझै पुरा भएको छैन । जहदा ५ मा बन्दै गरेको खानेपानी आयोजनाको ट्यांकी निर्माण भएपनि आयोजना अझै सञ्चालन हुन सकेको छैन ।

संघीय सरकारको योजनामा ५ कठ्ठा ऐलानी जग्गामा खानेपानी योजनाको लागि ट्यांकी निर्माण गरिएको छ । चापाकलबाट निस्कने खानेपानीमा शुद्धता नभएकोले शुद्ध खानेपानी पाउने आशमा रहेका स्थानीय आयोजना पुरा नहुँदा निराश छन् ।

सो क्षेत्रमा खानेपानीको लागि चापाकलको पाइप पनि २०० मिटर तलसम्म गाड्नुपर्ने अवस्था रहेको स्थानीय दिलिप साहले बताए । यस्तै त्यो पानीमा आईरन धेरै रहेको र लुगाहरु धुँदा पहेँलो हुने समस्या रहेको उनको भनाइ छ ।

२०५३ सालबाट सुरु भएको खानेपानी योजना बजेटकै अभाबमा सम्पन्न हुन नसकेको हो । आफू २०७३ सालमा समितिमा आएपछि बजेटको माग गरेर काम अगाडि बढाए पनि अझै पुरा नभएको समितिका अध्यक्ष अचानो खाँ गन्गाईले जानकारी दिए । खानेपानी आयोजनाको लागि २ करोडभन्दा धेरै लगानी भइसकेको भएपनि थप ५० लाख लगानी आवश्यक पर्ने उनको भनाइ छ ।

आयोजनाको लागि ४ हजार मिटर पाईप जडान गरिसकिएको छ । गाउँपालिकाको बजेटले पाईप लाईन विस्तार भएको भन्दै अध्यक्ष गनगाईंले २ लाख लिटर क्षमताको ट्यांकीबाट ३ हजार घरसम्म पानी पुर्याउने लक्ष्य रहेको बताए ।

गत आर्थिक वर्षमा खानेपानी आयोजनाको लागि १ करोड आएको भएपनि सरकारले फिर्ता लगेकोले आयोजना पूर्ण नभएको जहदा गाँउपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साहले बताए । आयोजना सम्पन्न गर्न गाउँपालिको क्षमताभन्दा धेरै बजेट आवश्यक रहेकोले माथिल्ला सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।