विराटनगर । मोरङको बेलबारी नगरपालिका योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत अनौपचारिक स्वरोजगार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने कोशी प्रदेशकै पहिलो स्थानीय तह बनेको छ ।बेलबारी नगरपालिका कार्यालयमा एक कार्यक्रमबीच कोषका तर्फबाट कोशी प्रदेशका प्रमुख सौरभ मिश्र र बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले हस्ताक्षर गरेका छन् ।
नगरपालिकाका उप–प्रमुख नितु थापा र कोषका तर्फबाट महेश प्रधानको रोहबरमा हस्ताक्षर गरेका हुन् । अनौपचारिक क्षेत्रका श्रमिकसँगै स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा समेट्नका लागि सम्झौता गरिएको मेयर राईले बताए ।
उपप्रमख थापाले नगरपालिका क्षेत्रभित्रका अनौपचारिक क्षेत्र तथा स्वरोजगारका श्रमिकलाई आगामी माघ महिनादेखि नियमित रूपमा सहयोग गर्ने बताएकी छन् । उनले आगामी आर्थिक वर्षको लागि श्रोत व्यवस्थापन गरी पालिकामा कार्यरत अस्थायी तथा करार कर्मचारीलाई समेत सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने कार्य योजना रहेको बताइन् ।
कोषका तर्फबाट कोशी प्रदेशको जिम्मेवारी समालिरहेका विराटनगर शाखा प्रमुख सौरभ मिश्रले सामाजिक सुरक्षा कोषमा आबद्ध हुने बेलबारी कोशी प्रदेशकै पहिलो स्थानीय तह बनेको बताए । सरकारको मुख्य प्राथमिकताको क्षेत्र मानिने सामाजिक सुरक्षा कोषमा आम श्रमिक वर्गलाई जोड्ने सरकारको विशेष योजना अन्तर्गत बेलबारी नगरपालिकाले अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध गरेको उपमेयर नितुले बताइन् ।