विराटनगर ।तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वका साथ शिलान्यास गरेको मोरङ उर्लाबारी–८ को सन्थाल बस्ती नबन्ने सम्भावना बढेको छ । ८ करोड ८८ लाख ५६ हजार लागतमा ठेक्का लागेको बस्तीको निर्माण कार्य सुरु हुनै नपाई ठेक्का नै रद्ध हुने अवस्थामा पुगेको छ ।

बस्ती निर्माणका लागि साइड क्लियर नहुँदा ठेक्का रद्ध गर्नुपर्ने अवस्था आएको संघीय आयोजना कार्यान्वयन इकाई मोरङले जनाएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १८ गते तामझामसहित उक्त आयोजनाको शिलन्यास गरेका थिए ।

शिलान्यास कार्यक्रममा ओलीले १८ महिनापछि सन्थालहरू झुपडीबाट घरमा सर्ने आश्वासन दिएका थिए । सोही अनुसार २४ असार २०७८ मा १२३ वटा सन्थाल सामुदायको स्थानीय शीप र कलाको प्रयोग गरी भान्सासहित तीन कोठा र शौचालयसहितको घर बनाउने सम्झौता भयो । भ्याटबाहेक ७ करोड ८६ लाख ३४ हजार ३४७ रुपैयाँ २३ पैसामा काठमाडौंको सगुन क्षितिज अग्रिम जेवीसँग ठेक्का सम्झौता भएको थियो ।

सम्झौता अवधि सकिएको तीन वर्ष बितेपनि आयोजनाको साइट नै क्लियर भएन । त्यही कारण बस्ती बन्नुको साटो आयोजना नै रद्द गर्ने परिस्थिति बनेको हो । संघीय कार्यान्वइन इकाइ मोरङका सूचना अधिकारी इन्जिनियर अशोक रामका अनुसार बस्ती निमार्णको सम्झौता अवधि २४ असोज २०८० सम्म थियो ।

बस्तीका लागि छुट्याइएको जग्गाको विवाद नसुल्झाई हतारमा शिलान्यास गरिएको कारण काम अगाडि बढ्न नसकेको स्थानीय जनप्रतिनिधि बताउँछन् । ओलीले आफ्नो सरकार ढल्ने सम्भावना बढ्दै गएपछि स्रोतसुनिश्चितविनै देशभरमा सयौं आयोजनाहरुको जबर्जस्ती शिलान्यास गरेका थिए । उर्लाबारीको सन्थाल वस्तीको बनाउने योजनाका लागि भने स्रोत सुनिश्चित गरिएको थियो ।

उर्लाबारी–८ का वडा अध्यक्ष कुलबहादुर कार्कीका अनुसार उर्लाबारी–८ र ९ को सीमानामा रहेको रातोहोली खोल्सी किनारमा निर्माण गर्न लागिएको एकीकृत बस्तीको जग्गा ऐलानी भएपनि स्थानीयले वर्षौदेखि भोगचलन गर्दै आएका छन् । आफूहरुले धेरै वर्षदेखि भोगचलन गर्दै आएको जग्गा भएकाले विकल्पविना आफूहरुले सो स्थान नछोड्ने भन्दै शिलान्यासकै बेला स्थानीयवासीले विरोध गरेका थिए । जग्गाको विषयलाई लिएर कुरा नमिल्दा बस्ती निर्माणको ठेक्का लागेपनि काम अघि बढ्न नसकेको वडा अध्यक्ष कार्कीले बताए ।

काम अगाडि बढ्न नसकेको विषयमा शहरी विकास मन्त्रालयका उप–सचिब डिल्लीराज श्रेष्ठ र सिडिआइ राजेन्द्र खतिवडासहित प्राविधिक टिमले स्थलगत निरीक्षण गरेको छ । निरीक्षणपछि सोमबार बसेको बैठकले ठेक्का प्रक्रिया रद्द गर्न सुझाव दिएको छ । सुझाव अनुसार संघीय आयोजना कार्यान्वयन इकाई मोरङले प्रक्रिया अगाडि बढाउने तयारी सुरू गरिएको आयोजना प्रमुख सुरेन्द्रकुमार साहले बताए ।

‘उप–सचिवको नेतृत्वको टिमले स्थलगत निरीक्षण गरेपछि ठेक्का प्रक्रिया रद्द गर्ने वा म्याद थप गर्नुपर्ने भए सो कार्यतर्फ पहल गर्न निर्देशन भएको छ,’ आयोजना प्रमुख साहले भने, ‘सम्झौता भएको तीन वर्ष बितिसक्दा पनि अहिलेसम्म साइट क्लियर हुन सकेको छैन । सम्झौताको म्याद पनि सकिएको छ । त्यसैले ठेक्का प्रक्रिया रद्ध गर्ने वा म्याद थप गर्ने त्यस विषयमा प्रक्रिया अगाडि बढाउनेछौं ।’

सन्थाल जातिका स्थानीय अगुवा बुद्धिलाल सोरेनले सरकारले निर्माण गरिदिएको घरमा बस्ने सपना अधुरै रहेको गुनासो गरेका छन् । ‘ठूला नेताहरूबीच समन्वय नहुँदा हामी अन्यायमा प¥यौं । घर बन्ने सपना अधुरै भयो । तामजामको साथ शिलन्यास भयो । त्यसपछि निर्माणको काम अगाडि बढेन,’ उनले भने ।

दयनीय अवस्थामा खोला किनारामा बसोबास गर्दै आएका सन्थालाई व्यवस्थित बस्ती विकास गरी स्थानान्तरण हुने चाहना आशै आशमा टुटेको छ । नेताहरूले यसैगरी धेरैपटक धोका दिएको उनले सुनाए । ‘ओलीले केही गर्लान् भन्ने लागेको थियो, त्यो पनि भएन,’ उनले भने ।

२०७४ सालमा बक्राहा खोलामा बाढी आएपछि धेरै सन्थाल परिवार विस्थापित भएका थिए भने अहिले पनि खोलाको किनारमा केही परिवार बसिरहेका छन् । निर्माणस्थल रातो होलीको उत्तर–दक्षिण फैलिएको ७८० मिटर लम्बाइभित्र पर्ने ५२ हजार ८२८ वर्ग मिटर जग्गामध्ये ३१ हजार ७६८ वर्ग मिटरभित्र बस्ती विकास गरिने बताइएको थियो ।

सडक, खानेपानी, मनोरञ्जन स्थल, खोल्सी संरक्षण, सरसफाइ, बाल विकास केन्द्र, विद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवन लगायतको निर्माण गर्ने गरी ‘मास्टर प्लान’मा उल्लेख गरिएको छ । ओलीले शिलान्यासको क्रममा पनि सन्थाल जातिको संस्कृति संरक्षणका लागि बाजागाजाको व्यवस्था मिलाउने बताएका थिए । त्यहीँ बाजा बजाएर नमूना बस्तीमा नाच्न तयार रहन उनको आग्रह थियो ।

तर, बस्ती नै नबन्ने भएपछि धेरै सन्थालहरुले अन्यत्र घर बनाएर बस्न थालेका छन् । ओलीले शिलान्यास गर्दा राखिएको स्तम्भसमेत अहिले भत्किसकेको छ ।