विराटनगर । गृह मन्त्रालयले १६ जना डिआइजीको सरुवा गरेको छ । यससँगै सातै प्रदेशका प्रहरी प्रमुख पनि फेरिएका छन् ।एक वर्ष अवधि पुगेका सबैको मंगलबार सरुवा गरिएको हो ।
सरुवा सूचीअनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखमा डिआइजी चन्द्र कुबेर खापुङ आउने भएका छन् । कोशीका डिआइजी राजेशनाथ बास्तोलाको नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल काठमाण्डौंमा सरुवा भएको छ ।
यसैगरी मधेसमा यज्ञविनोद पोखरेल, बागमतीमा विष्णुकुमार श्रेष्ठ, गण्डकीमा विकासराज खनाल, लुम्बिनीमा कुबेर कठायत, कर्णालीमा लालमणि आचार्य र सुदूरपश्चिममा वीरेन्द्र केसीलाई पठाउने निर्णय भएको छ ।
कोशी प्रदेशको डिआइजी भएर आउने खापुङ २०५० सालमा इन्स्पेक्टरबाट सेवामा प्रवेश गरेका हुन् । उनले अपराध महाशाखा केरकारमा पनि इन्स्पेक्टर भएर काम गरेका छन् ।२०६४ सालमा उनी डिएसपी भए । डिएसपी भएर जिल्ला प्रहरी कार्यालय काठमाडौँमा पनि बसेका चन्द्रले काठमाडौँका विभिन्न वडागत युनिटहरूमा पनि सेवा गरेका छन् ।
चाप गाउँमा डिएसपी हुँदै दरबार मार्गको पहिलो डिएसपी भएर समेत उनले सेवा गरेका छन् । ०७४ सालमा उनी एसपी भएर जिल्ला प्रहरी कार्यालय बागलुङमा बसेका थिए । त्यसपछि उनी हेडक्वार्टर बसे । उनी हेड क्वाटरको कर्मचारी प्रशासन शाखामा २ वर्ष बसेका हुन् । ०७७ सालमा उनी एसएसपी बने । एसएसपीको भर्ना छनोटपछि उनी पुनः हेड क्वाटरमै बसे । त्यसपछि उनी उपत्यका अपराध महाशाखा हुँदै पुनः हेड क्वाटरमा आए । उनले बागमती प्रदेश कार्यालयमा बसेर समेत सेवा गरेका छन् ।
२०८० वैशाखमा डिआइजी बनेका उनको अब जागिर खाने समयावधि लगभग साढे २ वर्ष मात्र बाँकी छ ।

