विराटनगर । कोशी प्रदेश निर्वाचन कार्यालयमा मनोनयन दर्ता गराएपछि संचारकर्मीले काँग्रेस नेता कृष्ण सिटौलालाई सोधे, ‘तपार्इं राष्ट्रिय सभाको अध्यक्ष बन्ने सहमति भइसकेको हो ?।’ दुईपटक एउटै प्रश्नको सामना गरेपछि उनले भने, ‘प्रारम्भमा धेरै चर्चा गर्नु उपर्युक्त हुँदैन । राष्ट्रिय सभामा निर्वाचित भएर पुगेपछि तपार्इंले भनेका सबै कुराको जवाफ पाउनुहुन्छ ।’
शालिन र भद्रशैली उनको विशेषता हो । तर, राजनीतिमा उनी चतुर छन् । यद्यपि निर्वाचन कार्यालय परिसरमा उनको मुहारमा उत्तिसारो खुसी देखिएन । सायद उनमा प्रत्यक्षतर्फबाटै चुनाव लडेर संघीय सांसद हुँदै राजनीतिमा अझै भूमिका खेल्ने चाहना थियो होला । तर, अब त्यो सम्भावना लगभग सकिएको छ ।
दोश्रो जनआन्दोलन २०६२÷०६३ पछि सिटौला सँधैजसो सहमति, सहकार्य र एकता नारालाई कार्यान्वयन गर्ने राजनीतिक नेतृत्वको सहायक भूमिकामै रहे । उनले प्रारम्भमा काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई सहयोग गरे । दोस्रो पटक सुशील कोइरालालाई र अहिले शेरबहादुर देउवालाई सहयोग गरिरहेका छन् । बदलामा गिरिजाप्रसाद कोइरालाले उनलाई गृहमन्त्री बनाए । दोश्रो जनआन्दोलनपछि सम्पन्न भएका चार पटकका आमनिर्वाचनमध्ये २०७० को दोस्रो संविधान सभा निर्वाचनमा मात्र उनी बिजयी बने । २०६४ सालमा माओवादीका पूर्णसिंह राजवंशीबाट पराजित बनेका सिटौलाले ७० मा भने उनै राजवंशीलाई पराजित गरेका थिए ।
२०७४ सालमा वाम गठबन्धनमा मिसिएको राप्रपाका राजेन्द्र लिङ्देनले सिटौलालाई पराजित गरे । उनको पराजय २०७९ सालको निर्वाचनमा पनि कायमै रहयो । उक्त निर्वाचनमा पनि उनै लिङ्देनले एमालेको सहयोगमा सिटौलालाई साविककै निर्वाचन क्षेत्र झापा ३ बाट पराजित गरेका थिए ।
पराजयको स्वाद चाखिरहेका सिटौलालाई अहिले काँग्रेस सभापति देउवाले राष्ट्रिय सभाको उम्मेद्वार बनाएका छन् । उनलाई धेरैले राष्ट्रिय सभाको अध्यक्षको रुपमा पनि हेरिरहेका छन् । सिटौलाले पनि यस कुरालाई अस्वीकार गरेका छैनन् ।
‘नेपालको राजनीतिक विकास क्रममा संसदबाट नयाँ ढंगले अगाडि जानु आवश्यक छ आजको दिनमा । सबै दलहरुको बीचमा नयाँ समझदारी निर्माण गरेर मुलुकसामू उपस्थित चुनौतीको सामना गर्न नीतिगत तबरबाट संयुक्त भएर जानु आवश्यक देखेको छु,’ उनले सोही कुरालाई बल पुग्ने गरी भने, ‘राष्ट्रिय सभामा पुगेपछि राष्ट्रसामू उपस्थित चुनौतीकोसामू जनताको हितमा काम गर्न र साझा दृष्टिकोण लिएर संसद अगाडि बढ्नुपर्छ ।’
तर, सिटौलाको राजनीतिक यात्राको भने सहज व्यवस्थापन भएको कतिपय बताउँछन् । उमेरले ७७ वर्ष पुगिसकेका उनले अबका ६ वर्ष राष्ट्रिय सभा मै बिताउने छन् । राष्ट्रियसभा अध्यक्ष बन्ने उनको सम्भावना धेरै छ । यद्यपि त्यस अगाडि उनले आगामी माघ ११ गते हुने निर्वाचनमा जित सुनिश्चित गर्नुपर्नेछ । उनको जितको अंकगणित सहजनै देखिन्छ । किनकि गठबन्धनमा आवद्ध काँग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपाको मत कोशीमा सहज बहुमतका लागि पर्याप्त छ । गठबन्धन दलसँग ५ हजार ४३६ मतभार रहँदा एमालेको मतभार ४ हजार २४८ मात्रै छ । यसकारण पनि सिटौलाको राजनीतिको अन्तिम स्टेप राष्ट्रिय सभाको अध्यक्ष बनेरै टुंगिने देखिन्छ ।
आगामी फागुन २० गतेदेखि हालका राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिम्सिनाको कार्यकाल सकिँदैछ र राजनीतिमा धेरै फेरबदल नभए उक्त पदमा सिटौला जाने सम्भावना लगभग पक्का जस्तै छ । जीवनमा आठ पटक संसदीय निर्वाचन लडेका सिटौलाले तीन पटक मात्रै विजयको स्वाद चाखेका छन् । तर, उनलाई राजनीतिक यात्राको अन्तिम मोडमा विजयको स्वाद चखाउँदै राजनीतिबाटै बहिर्गमन गर्ने सहज माध्यम पनि राष्ट्रिय सभाले नै बनाउने करिव निश्चित छ