लोड हुँदैछ...

मेनु

मुख्यमन्त्रीले शुभकामनामा कोशी नलेखेपछि….

मुख्यमन्त्रीले शुभकामनामा कोशी नलेखेपछि….

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले तमु ल्होसारको शुभकामना वक्तव्यमा ‘कोशी’ नाम उल्लेख नगरेको भन्दै व्यापक आलोचना भएको छ ।
कोशी नामको विषयमा असन्तुष्टि जनाउँदै आएका पहिचानवादीहरुले भने कार्कीको प्रशंसा गरेका छन् ।

मुख्यमन्त्री कार्कीले जारी गरेको शुभकामना वक्तव्यमा देब्रेतर्फ ‘मुख्यमन्त्री’ र दाहिनेतर्फ ‘विराटनगर नेपाल’ उल्लेख गरेका छन् । हस्ताक्षर गरेको स्थानमा पनि ‘केदार कार्की, मुख्यमन्त्री’ मात्र लेखिएको छ । वक्तव्यमा उल्लेखित शुभकामना सन्देशहरुमा कोशी शब्द कतै पनि उल्लेख छैन ।

उक्त विषयमा एमाले निकट नेता, कार्यकर्ताहरुले व्यापक आलोचना गरिरहेका छन् । उता, पहिचानवादीहरुले भने मुख्यमन्त्रीको प्रशंसा गरेका छन् । ‘हो यस्तो कोशी शब्दबिनाको शुभकामना मात्रै स्वीकार्य हुन्छ’ पहिचानवादी अगुवा अर्जुन राईले भनेका छन्, ‘धन्यवाद मुख्यमन्त्री कार्यालयलाई ! कोही कोशी नाम मात्र स्थापित गर्न चाहन्छन् भने ती विखण्डनकारी, नश्लवालीहरु हुन् ।’

मुख्यमन्त्रका जनसम्पर्क सल्लाहकार लिलाबल्लभ घिमिरेले भने प्राविधिक त्रुटीका कारण यस्तो भएको भन्दै कोशी नलेख्ने नियत नभएको बताएका छन् । ‘कमजोरी भएको जानकारीपछि त्यसलाई सच्याइसकेका छौं’ उनले भने, ‘यो प्राविधिक त्रुटी मात्रै हो ।’

मुख्यमन्त्री कार्यालयले शुभकामना सन्देशलाई कोशी नाम रहेको वक्तव्य रिप्लेस गरिसकेको छ । पछिल्लो पटक जारी गरिएको शुभकामना सन्देशमा भने ‘कोशी प्रदेश विराटनगर’ नेपाल उल्लेख गरिएको छ ।

करिब दुई घण्टापछि शुभकामना सन्देश सच्चिएर आएको भएपनि त्यसअघि नै सामाजिक सञ्जालमा पुरानो सन्देश ब्यापक शेयर भइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।