विराटनगर । कोशी प्रदेश सरकारले रोजगारको खोजी गरिरहेका युवाहरु र रोजगारदाताहरुलाई एकै ठाउँमा जोड्ने गरी तयार पारेएको श्रम बजार सूचना प्रणाली आइतबारबाट सञ्चालनमा ल्याएको छ ।

मोवाइल एपमासमेत विकास गरिएको सूचना प्रणालीमा रोजगारको खोजीमा रहेकाहरुले आफ्नो दक्षतासहितको विवरण उपलब्ध गराउने र रोजगारदाताहरुले आवश्यकता अनुरुप श्रमिकहरु छान्न सक्ने गरी तयार पारिएको श्रम बजार सूचना प्रणाली ‘श्रम संसार’ सञ्चालनमा ल्याएको हो ।

सामाजिक विकास मन्त्रालयको श्रम सूचना केन्द्र मातहतमा रहने गरी सञ्चालनमा ल्याएको एपको बुधबार एक कार्यक्रमकाबीच कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शुभारम्भ गरे ।कार्यक्रममा मुख्यमन्त्री कार्कीले श्रमको सम्मान गर्न सके मात्र देशको विकास हुने बताए । ‘हाकिमदेखि स्वीपरसम्म सबैले आफ्नो काम गरिरहेको अवस्था छ । सबै आफ्नो ठाउँमा दक्ष हुन्छन् । आफूले गर्ने काम जानेका हुन्छन्, श्रममा ठूलो सानो भन्ने हुँदैन, त्यस कारण श्रमको सम्मान गर्न जरुरी छ,’ मुख्यमन्त्री कार्कीले भने ।

मुख्यमन्त्री कार्कीले दक्ष जनशक्ति रोज्नका लागि श्रम संसार फलदायी हुने बताए । ‘अब यस क्षेत्रमा कसैले पनि काम गर्ने मान्छे रोजेर पाउने भएका छन् । उनले भने, यसले हाम्रो श्रम बजारलाईसमेत व्यवस्थित गर्दछ ।’मुख्यमन्त्री कार्कीले श्रम बजारलाई व्यवस्थित बनाउँदै प्रदेश सरकारले यसको पहुँच वृद्धि गर्ने जानकारी दिए ।

श्रम संसार वेव पोर्टलमा सीप विकासका क्रियाशील विभिन्न संघ संस्थाहरु, रोजगारदाता संस्थाहरु, रोजगारको खोजी गर्ने व्यक्तिहरु सबै दर्ता हुने व्यवस्था गरिएको छ ।

पहिलो चरणमा विराटनगर महानगरपालिका, सुनसरीको दुहबी नगरपालिका र इटहरी नगरपालिका यस सूचना प्रणालीमा आवद्ध भएका छन् । यसलाई थप पालिकाहरु आवद्ध गराउँदै वृहद पहुँचमा लगिने सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।मन्त्रालयले स्विस कन्ट्याकका साथै आस्मान नेपालसँगको सहकार्यमा सञ्चालित ‘स्टेप अप’ परियोजना अन्तरगत यो प्रणाली सञ्चालनमा ल्याएको हो । यसअघि तीन स्थानीय तहबीच समझदारी बनाएर साझेदारीमा अगाडि बढेको यो प्रणाली अब प्रदेश मातहतमा आएको सामाजिक विकास मन्त्रालयकी शाखा अधिकृत रिता खतिवडाले जानकारी दिइन् ।

स्विस कन्ट्याकका प्रोजेक्ट अफिसर सागर चापागाईँले काम खोज्न र रोज्नका लागि निःशुल्क माध्यमको रुपमा यसलाई विकास गरिएको र यसका डाटाहरु सुरक्षित रहेको जानकारी दिनुभयो ।एप्सबाट बेरोजगार युवाहरूलाई रोजगारीमा समेट्नका साथै स्थानीय स्तरमा हुने तालिमका बारेमा पनि जानकारी प्राप्त गर्न सकिने छ ।

अहिलेसम्म यो प्रणालीमा ३४ सय बढी संस्था तथा व्यक्ती दर्ता भइसकेका छन् भने तीन सय बढीले रोजगारीका लागि आवेदन दिएकोमा ३१ जनाले रोजगारी प्राप्त गरिसकेको मन्त्रालयले जनाएको छ ।कार्यक्रममा कार्यगत एकता तथा सहकार्यका लागि कोशी प्रदेश सरकार स्विस कन्ट्याक्ट र आसमान नेपाल बिच त्रिपक्षीय हस्ताक्षरसमेत भएको छ ।