विराटनगर । किरात समुदायको दोस्रो महत्त्वपूर्ण चाड उँधौली आज विराटनगर सहित देशै भरी हर्षोल्लासका साथ मनाइएको छ ।
हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उँधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ ।
प्रकृति पुजारी किरात राईहरूको दोस्रो महान् चाड उँधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन रहेको छ । यस चाडमा किराँतीहरू एकापसमा भेला भएर सङ्गठितरुपमा चाड मनाउने र शुभकामना आदानप्रदान गर्ने गर्दछन् ।
किरातको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उँधौली र उभौली । खेती किसानीका आधारमा यी दुई समय बाँडिएको किरात समुदायको बुझाइ छ ।
खेती किसान गर्नका लागि मनाइने चाड उभौली हो । बाली भित्र्याउने समयलाई उँधौली चाड मनाउने गरिन्छ । बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर आफ्ना पुर्खा र पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ ।
विराटनगरमा किराँत महिला तथा पुरुष जातीय भेसभुसामा सजिएर पूजापछि आ– आफ्नो परम्पराअनुसार चण्डी नाच, च्याब्रुङ नाच, ढोल नाच लगायतका नाच नाचेर मनोरञ्जन गरेका थिए ।


