विराटनगर । नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाएका छन् । नेवा : दय् दवू विराटनगर ३ नम्बर वडाले विराटनगरमा मङ्गलवार एक कार्यक्रम आयोजना गरी याःमरी पूर्णिमा मनाएको हो ।

नेवार समुदायले ठुलो चाडका रूपमा याःमरी पूर्णिमा मनाउने गर्छन् । यस पर्वमा खाद्य पदार्थको रसिलो चाडका साथै नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ । यःमरी बनाउन बिहानदेखि घरघरका महिला व्यस्त भए । उनीहरूले बिहान स्नानपछि घरमा लिपपोत गरी यःमरी बनाएका थिए । बनाएको याःमरी विराटनगर –१ पुष्पलाल चोकमा एक कार्यक्रम आयोजना गरी सहभागी भएका अतिथिहरूलाई याःमरी खुवाएका थिए ।

यःमरी पुन्हिका दिन गृहणीहरु शुद्ध भएर चामलको पिठो मुछेर रोटीको माथिल्लो भाग गजुरजस्तै चुच्चो बनाई तल्लो भागको गर्भमा चाकु, तिल, मास, गुदपाक, खुवा राखी त्रिकोण आकारमा बनाई पानीको बाफमा पकाउने गरिन्छ ।

सोही अवसरमा नेवा : दय् दवू विराटनगर ३ ले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ९४ वर्षीय उदिप नारायण प्रधान र ९२ बर्सिया धनतकु प्रधानलाई सम्मान गरिएको छ । उनीहरूलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । कार्यक्रममा नेव : देय् दवु विराटनगर ३ का अध्यक्ष दान बहादुर श्रेष्ठ, विराटनगर ३ का नेवा देय् दवु मोरङ जिल्ला अध्यक्ष सुरेश कुमार श्रेष्ठ, झी : पुच विराटनगरका अध्यक्ष भविस कुमार श्रेष्ठ, विराटनगर ३ का वडाध्यक्ष बासूँ बस्नेत, विराट नेवाः पुचका अध्यक्ष जय कुमार श्रेष्ठ, नेवा : देय् दवुका सल्लाहकार खगेन्द्र श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । उनीहरूले आफ्नो आफ्नो भाषा, संस्कृति संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिए ।