विराटनगर । विराटनगरको हिमालय रोडका व्यापारीले सडकलाई पुरानैं अवस्थामा फर्काउन माग गर्दै मंगलबार टाउकोमा कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् ।

हिमालय रोडलाई पुरानै अवस्थामा फर्काउन माग राख्दै तीन दिनदेखि निरन्तर आन्दोलन गर्दै आएका व्यापारीले सौन्दर्यकरणको नाममा रोड अव्यवस्थित बनाएको र त्यसले व्यापार व्यवसायमा समस्या भएको भन्दै विरोध जनाएका हुन् ।

उनीहरुले आइतबार र सोमबार हिमालय रोडमा चल्ने दुबैतर्फको सवारी आवगमनमा अवरोध गरी मानगर प्रमुखविरुद्ध नाराबाजीसमेत गरेका थिए । ‘काल्पनिक एमजी रोड बन्द गर, साविक हिमालय रोड कायम गर’ लेखिएके ब्यानरसहित महानगर पुगेको टोलीले मेयर कोईरालालाई भेटेर तत्काल सडकलाई पुरानै अवस्थामा फर्काउन माग गरेको थियो ।

तत्कालिन मेयर भीम पराजुलीको कार्यकालमा सौन्दर्यकरण गर्ने भन्दै सो सडकमा विभिन्न संरचना बनाइएको छ । कला विल्डर्सले १ करोड ८३ हजार २७२ रुपैयाँमा योजनाको ठेक्का लिएर काम गरेको थियो । रोडलाई भारत सिक्किमको एमजी रोड जस्तै बनाउने पराजुलीले बताएका थिए ।

सो सडकमा बनाइएका संरचना निर्माण पुरा नहुँदै काम नलाग्ने भएको स्थानीयको भनाइ छ । पानीको फोहोरा स्थलमा मछडको खानी बनेको, राखिएका बत्ती लाइट बल्न छोडेको र आवागमनलाई समस्या भएको भन्दै स्थानीय व्यापारी विरोधमा उत्रिएका छन् । पर्यटकीय एमजी रोड बनाउने भनिएको सडक पार्किङ स्थलको रुपमा प्रयोग हुँदै आएको छ ।

सिक्किमको एमजी रोड जस्तै बनाउने भन्दै विराटनगर महानगरपालिकाले अतिव्यस्त सडकमा टाली बिछ्याई फाउन्टेन र फलैँचा राख्नुका साथै विरुवा रोपेको थियो ।पार्क निर्माण सुरु गरेपछि यसअघि पनि स्थानीय ब्यापारीले आन्दोलन गरेका थिए । अहिले स्थानीय व्यापारी विनोद पोद्धारको संयोजकत्वमा सडक संरचना खारेजीको माग गर्दै आन्दोलन भइरहेको छ ।