दमक । निर्माण सुरु भएको तीन दशक वितेपनि झापाको दमकबाट इलामको माङसेबुङ हुँदै पाँचथरको रवि जोड्ने फाल्गुनन्द मार्गको काम अझै पुरा भएको छैन ।
मेची पहाडलाई तराईसँग जोड्ने सबैभन्दा छोटो दुरीको सो सडकमा अर्बौँ लगानी भइसकेपनि काम पुरा नहुँदा सो क्षेत्रका स्थानीयले सास्ती खेप्नुपरेको छ ।
रतुवाखोला किनारमा खुलेको ट्रयाकमा हिउँदमा सवारी साधन सञ्चान हुने गरेपनि वर्षायाम्ममा सडक अबरुद्ध हुने गरेको छ । दमकबाट घर्ती दोभानसम्मको सडकमा सामान्य वर्षा हुनासाथ आवतजावत नै ठप्प हुन्छ ।
ठेकेदार कम्पनीको लापरवाहीका कारण सडक निर्माणले गति लिन नसकेको हो । ३३ किलोमिटर दूरीको सो सडक कालोपत्रका लागि ठेक्का लागेको पनि ५ वर्ष बितेपनि काम भएको छैन ।
तीन खण्डमा विभाजन गरेर ५ वर्षअघि ३ वर्षमा काम पूरा गर्नेगरी ठेक्का लागेको थियो । पहिलो खण्डअन्तर्गत दमकको पहिलो बिन्दुबाट ७ किलोमिटर सडक कालोपत्र गर्ने ठेक्का महालक्ष्मी–किरातेश्वर जेभीले पाएको थियो । २०७५ साल साउनमा सम्झौता गरेको कम्पनीले २२ करोड ५९ लाख ६४ हजारमा ठेक्का लिएर चार पटक म्याद थप गर्दा पनि काम सम्पन्न नगरेको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । अन्तिम पटक थपिएको म्याद पनि गत असारमा सकिएको छ ।
राजमार्गको दोस्रो खण्ड १५ किलोमिटर कालोपत्रे गर्न ५४ करोड ४४ लाख ८७ हजारमा र तेस्रो खण्ड ११ किलोमिटर कालोपत्रे गर्न ५९ करोड १५ लाख ३५ हजारमा लुम्बिनी–गणपति जेभीले ठेक्का पाएको छ । दोस्रो खण्डमा करिब ६२ प्रतिशत र तेस्रो खण्डमा २८ प्रतिशत काम भएको छ । सडक डिभिजन कार्यालय इन्जिनियर गौतमकुमार देवका अनुसार समग्रमा ३३ किलोमिटर सडकमा ५० प्रतिशतमात्र काम भएको छ ।
निर्माण कार्य अधुरै छाडेपछि सवारी साधन सञ्चालनमै समस्या भएको भन्दै काम चाँडो गर्न सरोकारवालाले ताकेता गरेका छन् । घर्ती दोभानबाट चिसोपानीसम्मको सडक खण्ड सवारी साधन चल्न नसक्ने गरी बिग्रिएको भन्दै चाँडो मर्मत गर्नुपर्ने अवस्था छ ।
घर्ती दोभानबाट चिसोपानीसम्मको सडकखण्ड पुस १० भित्र मर्मत गर्न इलाम प्रशासनले निर्माण कम्पनीलाई निर्देशनसमेत दिएको छ । ठेकेदार कम्पनीले ढिलासुस्ती गरेपछि माङसेबुङ गाउँपालिकाले तीन महिनाअघि जिल्ला प्रशासन कार्यालय इलाममा समन्वय गराउन पत्रचार गरेको थियो । त्यस अनुसार प्रशासनले पहल गरेको भएपनि काम भएको छैन ।
माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले ठेकेदार कम्पनीको लापरवाहीले सडक निर्माण गति सुस्त भएको बताए । सडकको काम सहज बनाउन ढुङ्गा, गिट्टी, बालुवाको ठेक्कासमेत नलगाएर सहयोग गरेको भएपनि ठेकेदारले जिम्मेवार भएर काम नगरेको उनको भनाइ छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।