विराटनगर । स्थानीयको विरोधबीच विराटनगर महानगरपालिका–९ मा रहेको हिमालय रोडमा बनाइएको संरचना (एमजी रोड कल्पना) बनिनसक्दै भत्काउन व्यापारीले आन्दोलन थालेका छन् ।
तत्कालिन विराटनगर प्रमुख भीम पराजुलीको अगुवाईमा २०७८ सालमा १ करोड ८३ हजारमा महेन्द्र चोकदेखि ट्राफिक चोकसम्मको क्षेत्रलाई सिक्किमको एमजी रोडजस्तै बनाउने भन्दै संरचना निर्माणको ठेक्का लागेको थियो ।
व्यस्त सडकमा पार्क बनाउने कार्यको स्थानीय व्यापारीले विरोध गरेका थिए । तर, महानगरले रोडमा फाउन्टेन पार्क, फलैंचा र बगैचा बनाउने भन्दै पछि हटेन । महानगरले ठेक्का लगाएर सो क्षेत्रमा सवारी आवागमन बन्द गरायो र पार्क बनाउने काम अगाडि बढायो ।महानगरले सौन्दर्यीकरण गरेको १२० मिटर सडक क्षेत्रमा ६० वटा बढी व्यापारिक पसल र सटरहरु छन् । ती सटरहरु संचालन गर्ने व्यापारीले आइतबारदेखि सडकलाई पुरानै संरचनामा फर्काउनुपर्ने भन्दै भन्दै आन्दोलन थालेका छन् ।
आन्दोलनका अगुवाई गरिरहेको स्थानीय व्यापारी भागवत नेपालले सौन्दर्यकरणको नाममा सडकलाई कुरुप पार्ने काम मात्र भएको बताए । ‘सौन्दर्यीकरण यस्तो हुँदैन, यो पार्किङ स्थलजस्तो बनेको छ’ उनले भने, ‘मान्छे हिँडडुल गर्नसक्ने अवस्था पनि छैन । सवारी साधन दोहोरो आवतजावत गर्न सक्दैनन् । यो कहाँको एमजी रोड हो, कस्तो एमजी रोड हो ?
ब्यस्त सडकमा संरचना निर्माणको कामको नागरिक समाजले पनि विरोध गरेको थियो । नागरिक अगुवा दिनेश श्रेष्ठले सानो भुगोलमा पैदल रोड बनाउने भन्ने कुरा बौद्धिक टाँट पल्टाई भएको बताएका थिए । ‘यति सानो भूगोलमा हिँड्ने बाटो बनाउँछु भन्नु वौद्धिक टाट पल्टाईको चरम उत्कर्ष हो’ उनले भनेका थिए, ‘व्यापार, ट्राफिक व्यवस्थापनमा यसले पार्ने असरको बारेमा सोचेको पाईएन ।’
महानगरले भने फुटपाथ समेत अतिक्रमण नहुने गरि आकस्मिक वाहनको आवागमनका लागि पर्याप्त ठाउँ छुट्याएर निर्माण कार्य अघि बढाएको जनाएको छ । निर्माण कम्पनी कला विल्डर्सले योजनाको ठेक्का सम्झौता हात पारेपछि काम सुरु भएको थियो । तर, अहिले एमजी रोडमा निर्माण गरिएका पानीको फोहोरास्थल फोहोरको पोखरी भएको छ भने राखिएका बत्ती बल्दैन । एमजी रोड बनाउने भनेर गरिएको पार्कको ढाँचाले व्यापार पनि चौपट भएको स्थानीय बताउँछन् ।
ठेकेदारले सम्झौता अनुसारको पहिलो चरणको काम सकेको छ । दोस्रो चरणको कामका लागि भने महानगरले चासो दिएको छैन । तर, व्यापारीले भने थप काम नगर्न बरु पूर्ववत अवस्थामा फर्काउनु पर्ने माग गरिरहेका छन् ।
फोटो


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।