विराटनगर । सोमबारको सामान्य करेक्सनपछि शेयर बजारले पुनः सकारात्मक लय समातेको छ। मंगलबार नेप्से सूचकमा ३६ अंकभन्दा बढिको बृद्धि भएको छ ।
मंगलबार नेप्से सूचक ३६.८६ अंकले बढेर १९८५.४४ विन्दुमा पुगेको छ भने कारोबार कम पनि ४ अर्बभन्दा धेरै पुगेको छ । यस दिन १ करोड २४ लाख ६३ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
मौद्रिक नीतिको समीक्षापछि आइतबार तीन पटक सकारात्मक सर्किट लागेर बन्द भएको बजारमा सोमबार सामान्य करेक्सन देखिएको थियो । मंगलबार भने बजार पुनः बढेर कारोबार रकम पनि उल्लेख्य भएकोले शेयर बजारको उकालो यात्रा सुरु भएको विज्ञहरुले बताउँन थालेका छन् ।
मंगलबार कारोबारमा आएका सबै उपसमूहको सूचक बढेका छ । जसमा होटल उपसमूहको सूचक सबैभन्दा धेरै ४.३३ प्रतिशतले बढेको छ भने फाइनान्स, हाइड्रोपावर र जीवन बीमा उपसमूहको सूचक पनि ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।
बढेको बजारमा ४ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने ७ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । बोटलर्स नेपाल, धौलागिरी लघुवित्त, नेपाल रिपब्लिक मिडिया र सोनापुर सिमेन्टको शेयरमूल्य सबैभन्दा धेरै बढेको छ ।
सिवाइसिएल लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ५.११ प्रतिशतले घटेको छ भने सिंगटी हाइड्रोपावरको ४.७३ प्रतिशत र छिमेक लघुवित्तको शेयरमूल्य ३.८५ प्रतिशतले घटेको छ । छिमेक लघुवित्तले अहिलेसम्मकै कम ५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांस मात्र घोषणा गरेकोले मूल्य घटेको हो ।
यसदिन शिवम् सिमेन्टको शेयरमूल्य सबैभन्दा धेरै १८ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने सोनापुर मिनिरल्सको १५ करोड १० लाख, रिलायबल नेपाल लाइफको १४ करोड र माउन्टेन इनर्जीको ११ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत यसअघि लिइएको कठोर प्रावधानहरुलाई करेक्सन गरेपछि सेयर बजारमा आम लगानीकर्ताको मनोलब उच्च देखिएको हो । बैंकहरुले धमाधम ब्याजदर घटाउन थालेकोले पनि निस्कृय रहेका लगानीकर्ताहरु बजारमा प्रवेश गर्न थालेका छन् ।
गएको २८ महिनादेखि बियरिस ट्रेन्डमा गएको बजार गत साउनको मौद्रिक नीतिपछि झनै ओरालो लागेको थियो । बजार १८ सयकै लेबलमा आएर रोकिएको थियो । १८ सयकै लाइनमा महिनौंसम्म रोकिएको नेप्से गत आइतबारदेखि बढेको हो ।
बजार लामो समयपछि वृद्धिक्रममा लागेको, नीतिगत सृुधार पनि भएको र यहीबेला ब्याजदर पनि घटेकाले २२ सयको तह नेप्सेले पार गर्ने अनुमान गरिएको छ ।