विराटनगर । नेकपा एमालेले सञ्चालन गरेको मध्यपहाडी संकल्प यात्रा ओखलढुंगाको हर्कपुरमा सभा गर्दै आज कोशी प्रदेशमा प्रवेश गर्दैछ । मंसिर १४ गते महाकालीको झुलाघाटबाट सुरु भएको यात्रामा सहभागी पार्टी अध्यक्ष केपी ओलीसहितका नेताहरूलाई स्वागत गर्न उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङबाट नेता तथा कार्यकर्ता घुर्मीमा भेला भएका छन् ।
पहिचानवादीको विरोधबीच हुन लागेको सभामा करिब १५ हजार मानिस उतार्ने दावी एमालेले गरेको छ । एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवाडाले कार्यक्रमको तयारी पूरा भएको बताए ।
एमालेको अभियानलाई अवरोध गर्ने गरी पहिचानवादीले आन्दोलन घोषणा गरेकाले त्यसलाई निस्तेज पार्न कार्यक्रमस्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । एमालेका यात्रा पुस २ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर अभियान सम्पन्न हुनेछ ।
एमालेका स्थायी कमिटी सदस्य एवं कोसी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले अध्यक्ष ओलीलाई स्वागत गर्न झाँकीसहितको तयारी रहेको बताए । बहादुरेखोलामा ओलीलाई स्वागत गरेपछि सभास्थलतर्फ गई कार्यक्रम सुरु गर्ने तयारी रहेको उनको भनाइ छ ।
पहिचानवादीले अध्यक्ष ओली, नेता योगेश भट्टराई, महेश बस्नेतसहित कोशीका ८२ प्रदेशसभा सदस्यलाई यात्रामा सहभागी हुन नदिने चेतावनी दिँदै आएका छन् । उनीहरुले कोशी नामको पक्षमा लागेको र आफूहरुलाई आतंककारी भन्दै गालीगलौज गरेकोले विरोध रहेको बताउँदै आएका छन् ।
एमालेको कार्यक्रम विथोल्ने पहिचानवादीको चेतावनीपछि घुर्मी क्षेत्रमा एकीकृत सुरक्षा योजना लागु गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । एमाले यात्राको क्रममा सशस्त्र प्रहरी बलका २ हजार ४०० र २ हजार ८०० नेपाल प्रहरी परिचालन गरिएको छ ।
एकीकृत सुरक्षा अयोजनाअन्तर्गत सुरक्षा व्यवस्था चुस्त बनाइएको सशस्त्र प्रहरी बल बराह वाहिनी पकलीका डीआईजी अञ्जनी पोखरेलले जानकारी दिए । बन्द आह्वान गर्दै विहान सडकमा पहिचानवादीहरु देखिएको भएपनि अहिले शान्त अवस्था रहेको उनको भनाइ छ ।
प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिका संयोजक डकेन्द्र सिं थेगिमले आफूहरूले एमालेको अभियानलाई शान्तिपूर्ण ढंगले अवरोध गर्ने बताए । उदयपुरका प्रहरी उपरीक्षक रमेश थापाले अहिलेसम्म जिल्लाको अवस्था शान्तिपूर्ण रहेको बताए । उनले जिल्लामा सुरक्षा अवस्था मजबुत रहेको जानकारी दिए ।
प्रदेश प्रहरीले एसएसपी जयप्रसाद सापकोटाको नेतृत्वमा नेपाल प्रहरीले प्रहरीको टोली मध्य पहाडी राजमार्गमा परिचालन गरिएको छ । नेपाल प्रहरीले तीन वटा क्षेत्र विभाजन गरेर सुरक्षा रणनीति अपनाएको छ । प्रदेशको पश्चिम भागमा उदयपुरमा एसपी रमेश थापाले कमान्डको नेतृत्व गर्नेछन् भने मध्य भागमा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका गणपति लक्ष्मी अधिकारीले सुरक्षाको नेतृत्व गर्नेछन् । पूर्वमा इलामका एसपी वासुदेव खतिवडाको कमाण्डमा प्रहरी परिचालन गरिएको छ । एमालेको यात्रा समापन हुने दिन पुस २ गतेसम्म नै कडा सुरक्षा अपनाइने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । एमालेको कार्यक्रमस्थल र बसोबासस्थलमा कडाइ गरिनेछ ।
उदयपुरको घुर्मीबाट सुरु हुने एमालेको अभियान भोजपुरको चखेवा भन्ज्याङ, धनकुटाको पाख्रीबास, तेह्रथुमको वसन्तपुर, म्याङ्लुङ र पाँचथरको फिदिम हुँदै पुस २ गते चिवाभञ्ज्याङ पुगेर सम्पन्न हुनेछ । एमालेले पुष्पलाल मध्यपछाडि लोक मार्गसँग जोडिएका मुख्य १० सहरमा देखिएका समस्याको पहिचान र समाधानका निम्ति योजना निर्माणको उद्देश्यका साथ सङ्कल्प यात्रा तय गरेको जनाएको छ । अभियानले कोशी प्रदेशको ४२५ किलोमिटर यात्रा तय गर्ने एमाले कोशी प्रदेश कमिटीले जनाएको छ ।





























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।