लोड हुँदैछ...

मेनु

अरुणको पहुँच मार्ग बनाउन २ हजार रुख काटिने

अरुणको पहुँच मार्ग बनाउन २ हजार रुख काटिने

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने अप्पर अरुण विद्युत आयोजनाको पहुँच मार्ग निर्माणका लागि २ हजारभन्दा बढी रुख कटान गरिने भएको छ ।

आयोजनाको पहुँच मार्ग निर्माणका लागि भोटखोला–२ र ४ नम्बर वडाका राष्ट्रिय र सामुदायिक वनका दुई हजारभन्दा बढी रुख काट्न अनुमति दिइएको हो ।सरकारले १ हजार ६३ मेगावाटको आयोजनाको पहुँच मार्ग निर्माणका लागि भोटखोला–४ मा राष्ट्रिय वन तथा भोटखोला–२ मा पारिपाखा र माक्पालुङ सामुदायिक वन क्षेत्रले ओगटेको करिब २१ दशमलव ०८ हेक्टर क्षेत्रफलका २ हजार १६८ रुख काट्न अनुमति दिएको डिभिजन वन कार्यालयका प्रमुख भीम कालीकोटेले जानकारी दिए । आयोजना सञ्चालनका क्रममा विकास सम्झौता (पिडिए) अनुसार रुख कटान भए पनि बिरुवा अर्को ठाउँमा रोपिनुपर्ने व्यवस्था रहेको छ ।

रुख कटानसँगै आयोजनाका लागि पहुँच मार्ग बनाउने प्रक्रिया थालिएको छ । प्राधिकरणले २ दशमलव ०३ किलोमिटर सुरुङमार्गसहित करिब २२ किलोमिटर पहुँच सडक निर्माणका लागि भारतीय गायत्री जेभी र झापाको कन्काइ सुरुङ्गा जेभी कम्पनीसँग ठेक्का सम्झौता गरिसकेको छ ।
पहुँच मार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुलसमेत निर्माण गरिने आयोजना कार्यालयले जनाएको छ । पहुँच मार्ग भोटखोला गाउँपालिका–४ छोराङदेखि भोटखोला–२ रुकुमा फेदीसम्मको निर्माण गरिनेछ । ७ अर्ब ९१ करोड ३९ लाख रुपैयाँ लागतमा सडक निर्माण हुन लागेको प्राधिकरणले जनाएको छ ।

अप्पर अरुण आयोजनाका प्रभावित क्षेत्रका लागि २ अर्ब २३ करोड १९ लाख मुआब्जा रकम वितरण भइसकेको छ । जलविद्युत् आयोजनाको अनुमानित लागत २ खर्ब २६ करोड छ । सन् २०२४ को मध्यदेखि जलविद्युत् आयोजनाको निर्माण सुरु हुनेछ ।हाइड्रोपावर निर्माण सुरु भएको ६ वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाको ३० प्रतिशत पुँजी र ७० प्रतिशत स्वदेशी तथा विदेशी बैंक तथा वित्तीय संस्थासँग कर्जा जुटाइने आयोजना कार्यालयले जनाएको छ ।

विद्युत् आयोजनाका लागि जिल्लामा सामुदायिक र निजी क्षेत्रका रुख काट्ने मन्त्रिपरिषदले निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds