विराटनगर । मंसिर १४ गते महाकालीदेखि सुरु भएको नेकपा एमालेको मध्यपछाडी संकल्प यात्रा मंगलबार कोशी प्रदेशमा प्रवेश गर्दैछ । एमाले अध्यक्ष केपी ओली नेतृत्वको टोली उदयपुरको घुर्मीबाट कोशीमा प्रवेश गर्नेछ ।
एमालेको यात्रालाई अवरोध पुर्याउने उद्देश्यले पहिचान पक्षधरले अवरोध गर्ने चेतावनी दिँदै आएका छन् । उनीहरुले कोशी नामकरणको पक्षमा मतदान गर्ने प्रदेशसभाका सदस्यसहित कोशी नामकरणको विषयमा असन्तुष्टी राख्ने समूहलाई आतंककारीको आरोप लगाएका एमाले अध्यक्ष ओली, सचिव योगेश भट्टराईसहितका नेताहरु यात्रामा सहभागी भए अबरोध गर्ने चेतावनी दिएका छन् ।
पहिचान पक्षधरले एमालेको यात्रामा आफूरुहको विरोध नभएपछि कोशी प्रदेशका सांसदसहित ओली, भट्टराई र एमाले नेता महेश बस्नेतलाई सहभागी नगराउन चेतावनी दिँदै आएका छन् । उनीहरु यात्रामा सहभागी नभए आफूहरुको स्वागत रहने पहिचान पक्षधरको भनाइ छ ।
एमालेले भने पहिचानको नाममा एमालेविरोधी गतिबिधि भएको भन्दै उनीहरुको धम्की अस्वीकार्य रहेको बताएको छ । एमालेले पहिचानवादीको ‘आदेश’ अमान्य रहेको बताएपछि यात्रामा अवरोध सिर्जना गर्न पहिचान पक्षधरले मंगलवबार मध्यपछाडी राजमार्ग अन्तर्गत घुर्मीदेखि र धनकुटाको लेघुवाघाटसम्म बन्दको आह्वान गरेका छन् ।
एमालेको यात्रामा अवरोध नगर्ने बताउँदै पहिचानवादी नेता गोपाल किरातीले तर, केपी ओली, योगेश भट्टराई र महेश बस्नेतसहित कोशीको नाममा मतदान गर्नेहरु सहभागी भए अबरोध गर्ने चेतावनी दिए । ‘कोशीको पक्षमा हामीलाई नानाथरी गालीगलौज गर्दै हिँड्ने खड्गप्रसाद ओली, योगेश भट्टराई र महेश बस्नेत आएनन् भने हामी अवरोध गर्दैनौं’ उनले भने, ‘हाम्रो विरोध एमालेसँग होइन, कोशीका पक्षमा हस्ताक्षर गर्ने ८२ सांसद र एमालेका तीन नेताहरूसँग मात्र हो ।’
पाँचथरको चिवाभञ्ज्याङ् पुगेर सम्पन्न हुने संकल्प यात्राको क्रममा मंगलबार उदयपुरको घुर्मीमा पहिलो सभा आयोजना गरिने एमाले कोशीले जनाएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानवादीको नाममा केही तत्वले कोशी प्रदेशमा आतंकवादी वितण्डा मच्चाउन खोजेको आरोप लगाउँदै आएका छन् । त्यसले गर्दा पहिचानवादीहरु थप उत्तेजित बनेका छन् ।
एमालेकै नेताहरूले पहिचान पक्षधरहरूलाई एमाले केन्द्रित नभई प्रदेशको नाम केन्द्रित हुन आग्रह गर्दै आएका छन् । संकल्प यात्रासँग पहिचानवादीको कुनै साइनो सम्बन्ध नरहेको भन्दै पार्टीका नेताहरूको यात्रामा अबरोध नगर्न पहिचान पक्षधरलाई आग्रह गर्दै आएका छन् ।
कोशी प्रदेश प्रदेशसभाको दुईतिहाइ बढी सांसदको समर्थनमा नामकरण भएकाले एमालेलाई मात्रै गाली गरेर, अवरोध गरेर आन्दोलन सफल नहुने एमालेका स्थायी कमिटी सदस्य शेरधन राईको भनाइ छ । नामकरणको विषयको आन्दोलनलाई प्रदेशसभामा केन्द्रित गर्न उनले आग्रह गरेका छन् । उनले एमालेको यात्रामा पहिचानवादीको साइनो सम्बन्ध नरहेको बताए ।
एमालेको कार्यक्रममा अबरोध गर्नेगरि पहिचान पक्षधरले कार्यक्रम घोषणा गरेपछि सुरक्षा निकायले कुनै अप्रिय घटना हुन नदिन एकीकृत सुरक्षा रणनीति अपनाएको छ । नेपाल प्रहरीका करिब तीन हजार सुरक्षाकर्मी एमाले यात्रामा परिचालन गरिने तयारी छ । ‘सुरक्षाको कोशी प्रदेशमा भएको नेपाल प्रहरी र सशस्त्र प्रहरी सबै जनशक्ति परिचालन गरेका छा,ै’ कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी ऋषिराज कँडेलले भने ‘थप सुरक्षाकर्मी मधेस र बागमती प्रदेशबाट पनि मगाइएको छ ।’ सुरक्षाका सबै जोखिमलाई न्यूनीकरण गर्ने तयारीमा प्रहरी रहेको उनले बताए ।
एसएसपि जयप्रसाद साप्कोटाको नेतृत्वमा नेपाल प्रहरीले प्रहरीको टोली मध्य पहाडी राजमार्गमा परिचालन गरिएको छ । नेपाल प्रहरीले तीन वटा क्षेत्र विभाजन गरेर सुरक्षा रणनीति अपनाएको छ । प्रदेशको पश्चिम भागमा उदयपुरमा एसपी रमेश थापाले कमान्डको नेतृत्व गर्नेछन भने मध्यभागमा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका गणपति लक्ष्मी अधिकारीले सुरक्षाको नेतृत्व गर्नेछन् । पूर्वमा इलामका एसपी वासुदेव खतिवडाको कमान्डमा प्रहरी परिचालन गरिएको छ ।एमालेको यात्रा समापन हुने दिन पुस २ गतेसम्म नै कडा सुरक्षा अपनाइने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । एमालेको कार्यक्रमस्थल र बसोबास स्थलमा कडाइ गरिनेछ ।
उदयपुरको कार्यक्रमा करिब एक हजार पहिचान पक्षधर उपस्थित हुने सुरक्षा निकायको अनुमान छ । जाडो समय भएकाले बस्ने र खानेको टुंगो नहुने भएकोले पहिचान पक्षधरको ठूलो संख्या अबरोधमा नआउने अनुमान गरिएको छ । झडपको अवस्था आउने देखेमा पहिचान पक्षधरका नेतालाई विहानैदेखि नियन्त्रणमा लिने सुरक्षा रणनीति छ ।
कोशी प्रदेशमा उदयपुरको घुर्मीबाट सुरु हुने एमालेको अभियान भोजपुरको चखेवा भन्ज्याङ, धनकुटाको पाख्रीबास, तेह्रथुमको वसन्तपुर, म्याङ्लुङ र पाँचथरको फिदिम हुँदै पुस २ गते चिवाभञ्ज्याङ पुगेर सम्पन्न हुनेछ । एमालेले पुष्पलाल मध्यपछाडि लोक मार्गसँग जोडिएका मुख्य १० सहरमा देखिएका समस्याको पहिचान र समाधानका निम्ति योजना निर्माणको उद्देश्यका साथ संकल्प यात्रा तय गरेको जनाउँदै आएको छ ।
अभियानले कोशी प्रदेशको ४२५ किलोमिटर यात्रा तय गर्ने एमाले कोशी प्रदेश कमिटिले जानकारी दिएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।