विराटनगर । लगातार घटेपछि आइतबार तीन पटक सर्किट लागेर बन्द भएको शेयर बजारमा सोमबार करेक्सन भएको छ । आइतबार १११ अंकले बढेको शेयर बजार मापक नेप्से परिसूचक सोमबार घटेर बन्द भएको हो ।
अघिल्लो कारोबार दिन बजार उच्च अंकले बढेपनि यस दिन अल्पकालिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा यस दिन बजार घट्न पुगेको हो । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षपछि बजार खुलेको पहिलो दिन बजारमा उच्च बृद्धि भएको थियो ।
सोमबार नेप्से परिसूचक १५.४० अंक घटेर १९४८.५७ विन्दुमा झरेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.३३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५२ अंक घटेको छ ।
बजारमा ‘सेलिङ प्रेसर’ उच्च रहँदा १ करोड ४६ लाख ९८ हजार ५१७ कित्ता सेयरको खरिदबिक्री हुुँदा ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३८६ रूपैयाँको कारोबार भएको छ । यो कारोबार रकम पाँच महिनायताकै उच्च हो । आइतबार १३ लाख ६७ हजार ६१५ कित्ता शेयरको खरिद बिक्री हुँदा ४८ करोड २४ लाख ८२ हजार रुपैयाँको कारोबार भएको थियो ।
नेप्से घटेपनि यस दिन तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन बोटलर्स नेपाल (तराई), सामुदायिक लघुवित्त र डोल्टी पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी, हाथवे इन्भेष्टमेन्ट कम्पनी, इन्फिनिटी लघुवित्त र मानुषि लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरै बढेको छ ।
कारोबारमा आएको समता घरेलु लघुवित्तको शेयरमूल्य भने यस दिन सर्वाधिक ७.१५ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २५ करोड १५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, यस दिन रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साढे १६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । म्युचुअल फण्ड उपससमूहको परिसूचक सर्वाधिक २.१६ प्रतिशत बढेको छ भने निर्जीवन बीमा उपसमूहको परिसूचक १.३७ प्रतिशत बढेको छ । कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.०९ प्रतिशत घटेको छ ।