विराटनगर । नेपाल–भारत सीमा क्षेत्र दशगजामा विराटनगरका एक जना युवामाथि गोली प्रहार भएको छ । आइतबार साझ ५:४० बजे गोली लागेर विराटनगर ८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौला घाइते भएका हुन् ।

विराटनगर १६ दक्षिण गेटदेखि पारी भारतीय भुमिमा अज्ञात समूहले गोली प्रहार गरेको उनले बताएका छन् । उनको बाँया तिघ्रामा गोली लागेको छ । घाइते भएका संग्रौलाको उपचार विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षमा भइरहेको छ । ‘उपभोग्य खाद्यबस्तु खरिदको लागि जोगवनी गएको थिए । साझमा घर फर्किदै थिए । जोगवनीदेखि उत्तर रेलको स्टेशनदेखि माथितिर दक्षिणगेटबाट विराटनगर जाँदै थिए । तेही बिचमा ६ जना केटाहरुसँग भेट भयो । केहीबेर भनाभन भयो र म माथि गोली हानिदयो,’ कोशी अस्पतालमा उपचार गराइरहेका घाइते संग्रौलाले भने ।

कोशी अस्पतालको मेडिकल अपिसर डाक्टर तुलसी गोइतले एक्स–रे गर्दा तिघ्रमा बुलेट जस्तो देखिएको बताए । ‘तिघ्राभन्दा तला पाटमा स्याडो देखिएको छ । यो भनेको फोरेन बडी हो । बुलेट जस्तो पनि देखिएको छ । तिघ्रादेखि तला फेक्चर पनि भएको छ । यो बुलेटको फोर्ज लागेर पनि हुनसक्छ,’ उनले भने, ‘इनसिजर गरेर निकालेपछि मात्र कनफम गर्न सकिन्छ ।’

यता मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले दशगजा क्षेत्रमा नभएर भारतीय भूमितिर गोली चलेको हुनसक्ने बताए । ‘दशगजामा भएको भए प्रहरीलाई थाहा हुने थियो । हामीले पनि विरामी हस्पिटल आएपछि मात्र थाहा पाएका छौं । घटना विषय अनुसन्धान भइरहेको छ,’ उनले भने ।