विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका १२ खनारमा छोरासँगको रिस फेर्न एक युवाले आमाको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
खनारस्थित आइतबार दिउँसो ५० वर्षीय भूमि चौधरीको हत्या छिमेकी २५ वर्षीय गणेश चौधरीले गरेका थिए । उनले छोरासँग पुरानो रिसइबी भएका कारण आमाको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको हो । गणेशले भूमिलाई छुरा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।
मृतक भूमिका २६ वर्षका छोरा छन् । भूमिका छोरा र हत्या आरोपमा पक्राउ परेका गणेश साथी हुन् ।‘तिहार अगाडि एक दिन गणेश र एउट समूहको झगडा भएको थियो । त्यसबेला गणेशले केटी जिस्किाएकोले झगडा भएको भूमि र उनका छोराले सार्वजानिक स्थलमा भनिदिएका थिए । त्यस विषयमा गणेश रिसाएका रहेछन् र उनले इगोको रुपमा लिँदा घटना भएको देखिएको प्रहरीले जनाएको छ ।
छोरासँगको रिस फेर्न पनि गणेशले चक्कु प्रहार गरी हत्या गरेको खुलेको छ,’ घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने ।छुरा प्रहारबाट महिलाको कोखामा गम्भीर चोट लागेको थियो । गम्भीर घाइते भएकी उनको विराटनगरस्थित अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सहकारी पुग्नै पाइनन भूमि
भूमि आइतबार दिउँसो घरबाट साथी सुशिलासँग इटहरी सहकारीमा जाने तयारी गरेकी थिइन् । सहकारीको कामले साथीसँग दिउँसो साढे १२ बजेतिर घरबाट निस्किइन् । घरबाट नस्किएर बाटोमा मात्र पुगेकी थिइन् । त्यहीबेला गणेशले कोखामा चक्कु हाने । चक्कु कोखामै गाडिएको थियो । उपचार गर्न लैजादै गर्दा भूमिको अस्पतालमा नै मृत्यु भयो,’ भूमिकी साथी सुशिलाले भनिन् ।
सुनसरी प्रहरीले भूमिको हत्या आरोपमा गणेशलाई खनारबाट पक्राउ गरेको छ । पक्राउ परेका चौधरीलाई कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

