विराटनगर । एक पटक प्रयोग भइसकेको अन्तःशुल्कको स्टिकर पुन प्रयोग गरेर राज्यलाई कर छली गरेको आरोपमा पक्राउ परेका व्यापारी मोरङको धनपालथान गाउँपालिका – ४ का ४८ वर्षीय सुनिलकुमार राजवंशी झन्डै २० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।
आन्तरिक राजस्व कार्यालय विराटनगरले राजवंशीलाई १९ लाख ८८ हजार रुपैयाँ धरौटी तोकेको छ । राजस्व कार्यालयले तोकेको धरौटी रकम बुझाएर चौधरी रिहा भएको आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा.डी.बी. क्षेत्रीले जानकारी दिए ।
‘धरौटी रकम बुझाएपछि रिहा भएका छन् । मुद्दाको अन्तिम किनारा लागिसकेको भने छैन । अहिले पनि अनुसन्धान भइरहेको छ । व्यापारी राजवंशीलाई हामीले बयानको लागि प्रत्येक हप्ता कार्यालयमा बोलाएका छौँ,’ उनले भने ।
मङ्सिर १६ गते राजवंशीलाई इलाका प्रहरी कार्यालय रँगेलिले ‘रेडीमेड टोबाक्को’ लेखिएको ३ हजार १ सय ४० थान अन्तःशुल्क स्टिकर बरामद गरेको थियो । प्रहरीले राजवंशीको केशव किराना पसलबाट प्रयोग भइसके पुन प्रयोगको लागि सङ्कलन गरिएको अन्तःशुल्कको स्टिकर बरामद गरेको थियो ।
भोला गुट्खालगायतका सुर्तीजन्य पदार्थको ‘प्याकेट’मा प्रयोग हुने स्टिकर दुरुपयोग भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । पक्राउ परेका राजवंशीले कर्सिया बजारदेखि पूर्वी सहरसम्मका सुर्तीजन्य पदार्थमा लगाएको अन्तःशुल्कको स्टिकर भण्डारण गरी राख्ने गरेका थिए । उक्त अन्तःशुल्कको स्टिकर प्रतिगोटा पसलहरूसँग २ देखि ३ रुपैयाँमा खरिद गर्ने र उनले बुटवलमा रहेको श्री राम उद्योगले उत्पादन गर्ने ‘करेन्ट’ गुटमा पुनः प्रयोगको लागि पठाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनले उद्योगलाई ५ देखि ७ रुपैयाँ प्रति गोटा अन्तः शुल्कको स्टिकर विक्री गर्ने गरेको पाएको छ । राजवंशीले एउटा अन्तःशुल्कको स्टिकरबाट २ देखि ३ रुपैयाँसम्म नाफा लिएर उद्योगलाई विक्री गर्दै आएको प्रहरीले जनाएको छ । राजवंशी विगत एक वर्षदेखि उनले यस्तो काम गर्दै आएको बुझिएको छ ।