एमडिएमएसमा दर्ता नभएका महङ्गा मोबाइल भोलिदेखि ब्लक

विराटनगर । नेपाल दूरसञ्चार प्राधिकरणले भोलिदेखि एमडिएमएस कार्यान्वयनमा ल्याउने भएको छ ।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) मा दर्ता नभएको करिब ५० लाख फोनमध्ये पहिलो चरण आईफोनलगायत महङ्गा फोन ब्लक हुनेछन् ।

यसअघि अर्थमन्त्रालय र सञ्चार मन्त्रालयले अनुमति नदिँदा दर्ता नभएका ५० लाख हाराहारी फोन ब्लक गर्ने समय पछि धकेलिएको थियो । गत जेठबाटै एमडिएमएस लागू गर्ने प्राधिकरणको तयारी थियो ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भोलिदेखि दर्ता नभएका मोबाइल ब्लक गरिने बताए । पहिलो चरणमा हाई रेन्जका फोन बन्द गरिने उनले जानकारी दिए । एक लाख ५० हजार रुपैयाँभन्दा महंगो मूल्यका फोन पहिलो चरणमा ब्लक गरिनेछ ।

यस्ता हाइरेन्जका फोन ३५ सय हाराहारी रहेको प्राधिकरणले जनाएको छ । महङ्गा फोन बन्द भएपछि अन्य फोन क्रमशः बन्द गर्ने प्राधिकरणको तयारी छ ।

प्रणालीमा दर्ता नभएका फोनहरू क्रमशः ब्लक हुने प्राधिकरणका अध्यक्ष खनालले बताएका छन् । एमडिएमएस लागू भएसँगै अवैध वा गैरकानुनी रूपमा भित्र्याइका मोबाइलमा कुनैपनि सिमकार्ड चल्ने छैन ।

प्राधिकरणले गत कात्तिक ४ गते मात्रै सूचना जारी गर्दै १५ दिनभित्र सेवाग्राहीहरूलाई एमडिएमएसमा दर्ता नभएका मोबाइल ह्यान्डसेटहरू दर्ता गर्न भनेको थियो । सूचना जारी गरेको मितिबाट १५ दिनभित्र प्रणालीमा दर्ता नभएका मोबाइल ह्यान्डसेटहरूमा नियमानुसार मोबाइल दूरसञ्चार सेवा अवरुद्ध हुनेसमेत जनाएको थियो ।

प्राधिकरणले नेपाल भित्रिने हरेक मोबाइलको आइएमइआई नम्बर दर्ता गर्न अनिवार्य गरेको छ । वैध रूपमा अर्थात् सरकारलाई भन्सार तिरेर भित्र्याइएका फोनको आइएमइआई नम्बर प्राधिकरणमा दर्ता गरिएको हुन्छ । त्यस्ता फोन स्वतः एमडिएमएस प्रणालीमा पनि दर्ता हुन्छन् ।

फोन एमडिएमएसमा दर्ता भएको छ वा छैन भन्ने एमडिएमएसको आधिकारिक पोर्टल https://mdms.nta.gov.np/ मा गएर हेर्न सकिन्छ । चेकजाँचको लागि मोबाइलको आइएमइआई नम्बर किप्याडमा गएर *#०६# डायल गरेर पत्ता लगाउन सकिन्छ।

मोवाई नयाँ छ भने त्यसको आइएमइआई नम्बर प्राधिकरणको वेबसाइट https://eir.nta.gov.np मा गएर दर्ता गर्न सकिन्छ ।

आइतबार, १९ कार्तिक, २०८०, साँझको ०५:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर