स्वस्तिक रोलिङ मिल्सलाई बेस्ट भ्यालुड कस्टमर अवार्ड

स्वस्तिक रोलिङ मिल्सलाई बेस्ट भ्यालुड कस्टमर अवार्ड

विराटनगर। ‘बजरंग’ ब्रान्डमा टीएमटी छडको उत्पादन गरिरहेको स्वस्तिक रोलिङ मिल्सले भारतको टाटा आइरन एन्ड स्टिल कम्पनीबाट बेस्ट भ्यालुड कस्टमर अवार्ड पाएको छ ।

कोलकाताको ओबराय ग्रान्ड होटलमा आयोजित कार्यक्रममा टाटा स्टिलका प्रबन्ध निर्देशक आशिष अनुपमले स्वस्तिक रोलिङका निर्देशक रमेश राठीलाई अवार्डले सम्मानित गरेका हुन् ।

सुनसरीको दुहबीमा रहेको स्वस्तिक रोलिङले एक वर्षदेखि व्यावसायिक उत्पादन गरिरहेको छ । उद्योगले ‘बजरंग’ ब्रान्डमा टीएमटी छडका साथ एंगल, च्यानल र आई बिमको पनि उत्पादन गरिरहेको छ ।

एंगल, च्यानल र आई बिमको प्रयोग साना–ठुला सबै खाले घर बनाउन, घरमा ट्रस हाल्न, विद्युत् प्रसारण लाइनको टावर बनाउन, इन्टरनेट र रेडियोको टावर बनाउन, साना–ठुला सेड बनाउन लगायत विविध प्रयोजनमा गरिन्छ । स्वस्तिकले व्यावसायिक उत्पादनको एक वर्ष नपुग्दै टाटा आइरन एन्ड स्टिलबाट अवार्ड प्राप्त गरेको हो ।

टाटा स्टिल भारतको ठूलो र ब्रान्डेड फलाम उद्योग हो । यसले फलामका गुणस्तरीय मालवस्तु र कच्चा पदार्थको उत्पादन गर्दै आएको छ । यसका सबै उत्पादन भारतमा अन्य उद्योगका उत्पादनका तुलनामा गुणस्तरीय मानिन्छन् ।

स्वस्तिक रोलिङले बिलेट उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ स्पन्ज आइरन टाटा स्टिलबाटै आयात गरिरहेको छ । टाटा स्टिलको स्पन्ज आइरन संसारमै स्तरीय मानिन्छ । टाटा स्टिलका आफ्नै फलाम खानि र प्रशोधनका कारखानाहरू भारतका विभिन्न स्थानहरूमा एक सयभन्दा बढीको संख्यामा छन् ।

उद्योगका निर्देशक राठीले उद्योगबाट उत्पादन सुरु भएको एक वर्ष नपुग्दै टाटा स्टिलबाट उत्कृष्ट ग्राहक पुरस्कार पाउनु गौरवको विषय भएको बताएका छन् । उद्योगले ७ देखि ४० एमएम सम्मका छडको उत्पादन गरिरहेको छ ।

बजरंग ब्रान्डका छडहरूको ग्रिपिङ उच्च स्तरको भएकाले यसले मसला बलियो गरी समात्न सक्ने राठीको दावी छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्