पाँच लाखमा शिशु बिक्री प्रकरण : ग्रिनक्रसका सञ्चालक खवास पक्राउ

विराटनगर ।विराटनगरस्थित ग्रिनक्रस हस्पिटलका सञ्चालक कृष्ण खवासलाई प्रहरीले पक्राउ गरेको छ । नवजात शिशु बिक्री गरेको घटनाको अनुसन्धानको लागि हस्पिटलका सञ्चालक ५० वर्षीया खवास पक्राउ परेका हुन् ।

शिशुको बिक्री ग्रिनक्रस हस्पिटलबाट भएको र हस्पिटलबाट संस्थागत त्रुटी देखिएको अनुसन्धानबाट खुलेपछि खवासलाई आइतबार पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । पक्राउ परेका खवासलाई मोरङ अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

‘अनुसन्धान गर्ने क्रममा हस्पिटलको पनि संस्थागत त्रुटि र व्यवस्थापकीय जिम्मेवारी देखियो’ डिएसपी दाहालले भने, ‘त्यसपछि पक्राउ गरिएको हो ।’ नवजात शिशु विक्री प्रकरणमा पक्राउ पर्नेको संख्यामा प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा.तपेश्वरलाल कर्णसहित ७ पुगेको छ ।कर्णले पछिल्लो समय भोजपुरको हतुवागढी गाउँपालिकाकी २६ वर्षीया अविवाहित महिलाबाट जन्मिएको एक दिनको शिशु पाँच लाख रुपैयाँमा बेचेको खुलेको छ । कर्णले १४ असारमा ५ लाख रुपैयाँ लिएर मोरङको कटहरी गाउँपालिका २ की मनमाया राजवंशीलाई शिशु बेचेको प्रहरीको अनुसन्धानबाट देखिएको हो । शिशु बेचेको एक महिनापछि यो घटना बाहिर आएपछि प्रहरीले शिशुको उद्धार गरि संलग्नलाई पक्राउ गरेको छ ।

प्रहरीले डा. कर्ण र शिशुको बाबु भोजपुरको हतुवागढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राई, नवजात शिशु खरिद गर्ने, हस्पिटलका सरसफाइकर्मी, कर्णका सहयोगी नर्सलाई प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेहरुमा ग्रिनक्रस अस्पतालमा कार्यरत ३३ वर्षीया सरसफाइकर्मी सुधा राजवंशी, कटहरी गाउँपालिका २ की ४६ वर्षीया दिलमाया राजवंशी, ३० वर्षीय सुर्यनारायण राजवंशी, सिराहाको कल्याणपुर नगरपालिका १२ की ३८ वर्षीया नर्स निर्मला यादव रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दाहालले जानकारी दिए ।

नवजात शिशु बिक्री प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीले अन्तिम तयारी गरेको छ । प्रहरीले अनुसन्धान प्रतिवेदान जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएपछि अभियोजन तयार गर्दछ । त्यसपछि सरकारी वकिलको कार्यालयले अभियोग दर्ता गर्नेछ ।पक्राउ परेका ६८ वर्षीय डा. कर्णसहित ७ जनालाई प्रहरीले तीन वटा मुद्दा चलाउने तयारी अगाडि बढाएको छ । पक्राउ परेका लाई प्रहरीले संगठित अपराध, मानव बेचबिखन तथा ओसारपसार र व्यक्ति बेपत्ता पारेको कसुरमा मुद्दा चलाउने गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

सरकारी वकिलसँग राय लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए । ‘कुन ऐन आकर्षित हुन्छ । हामी सबै तिरबाट फराकिलो बनाएर अनुसन्धान र प्रमाण (दशी) जुटाउने काम पनि अगाडि बढाएको छौं,’ एसपी पोखरेलले भने ।
फोटो

बिहिबार, ०४ असोज, २०८०, बिहानको ०८:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर