विराटनगर । नेकपा एमालेले कोशी प्रदेशमा सरकार टिकाउनका लागि नेकपा एकीकृत समाजवादीको साथ खोजेको छ । सत्ता संकटमा परेपछि मुख्यमन्त्री हिकमत कार्कीले नेकपा एकीकृत समाजवादीको साथ खोजेका हुन् । मुख्यमन्त्री कार्कीले एमालेका नेता समेत रहेका पूर्व मुख्यमन्त्री शेरधन राईमार्फत समाजवादीसँग छलफल अघि बढाएका छन् । आइतबार धरानको एक होटलमा शेरधन राई र नेकपा एकीकृत समाजवादीका सचिव तथा पूर्व मुख्यमन्त्री राजेन्द्र राईले छलफल गरेका छन ।
शेरधनकै आग्रहमा दुई घण्टा छलफल भएको राजेन्द्र राईले बताएका छन् । ‘मध्यावधिमा नजानका लागि अहिलेको सरकारलाई समर्थन गर्न शेरधनजीले आग्रह गर्नुभयो,’ राजेन्द्रले भने ‘उहाँले आलोपालोको पनि प्रस्ताव राख्नुभयो । मैले अहिलेको सरकारलाई समर्थन गर्न नसक्ने प्रस्टसँग भनेँ । यसपछि बन्ने सरकारको विषयमा छलफल गर्न सकिन्छ भनेको छु ।’ संविधानको धारा १६८ ९३० अन्तर्गत सबैभन्दा ठुलो दलको हैसियतमा कार्की मुख्यमन्त्री बनेका छन् । कार्कीले विश्वसको मत प्राप्त गर्न नसके धारा ५ अनुसार सरकार बन्छ । भेटमा १६८ को ५ अन्तरगत बन्ने सरकारमा पनि एमालेलाई पहिलोपटक विश्वास गर्न नसक्ने राजेन्द्रले बताएको उनी निकट नेताले बताएका छन ।
एकीकृत समाजवादीले भने अहिलेकै सरकारलाई नसघाउने बताउँदै आएको छ । राजेन्द्रले छलफल सकारात्मक भए पनि कुनै निष्कर्ष ननिस्किएको समेत बताए । दुवै पूर्व मुख्यमन्त्री भोजपुरकै हुन् । उनीहरूबीच लामो समयदेखि बोलचाल बन्द जस्तै थियो । २०७७ पुस देखि उनीहरूबीच बोलचाल नै भएको थिएन । तत्कालीन मुख्यमन्त्री रहेका शेरधनविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन राजेन्द्रले महत्वपूर्ण भूमिका खेलेका थिए । त्यसपछि उनीहरूबीच संवाद समेत नभएको नेताहरूले बताएका छन् । राजेन्द्र नेकपा एमालेमा हुँदा पनि शेरधनको कडा आलोचक थिए ।
शेरधन राईले पनि छलफल भएको बताएका छन । प्रदेशको निकास दिने विषयमा छलफल भएको उनले बताए । ‘यो सरकारले विश्वासको मत नपाउँदा प्रदेशमा अफ्ठयारो परिस्थिति बन्न सक्छ के तपाईहरु मध्यावधिमा जान तयार हुनु भएको हो भनेर मैले सोधेको थिएँ,’ शेरधनले भने ‘ उहाँले पनि छलफल गर्न सकिन्छ भन्नुभयो । दुई नेताबीच प्रदेशलाई स्थायित्व दिने विषयमा छलफल भएको छ । हामी एकै जिल्लाका दुई जना भए पनि लामो समय देखि छलफल भएको थिएन ।’