काठमाडौं । विश्वव्यापी रुपमा बढ्दै गएको एन्टिबायोटिक रेसिस्टेन्सको सम्भावित महामारी रोक्न नेपालले पनि “रातो धर्को” अभियान सुरु गरेको छ । उक्त अभियान आगामी ६ महिना देखि लागू हुने औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले बताए । हाल मौज्दात रहेका एन्टिबायोटिक औषधि आगामी ६ महिना भित्र बिक्री गरिसक्नु पर्ने छ । त्यस पछि “रातो धर्को” लगाएका एन्टिबायोटिक औषधि बजारमा देखा पर्नेछन् ।
विभागले बताए अनुसार फार्मेसी र आम नागरिकलाई सुसूचित गराउन चेतावनी मूलक सन्देशका रुपमा यो “रातो धर्को” अभियान चलाइएको हो । सरकारले सुर्तिजन्य पदार्थको बट्टामा ९० प्रतिशत सन्देश मूलक चित्र छापे जस्तो एन्टिबायोटिक औषधिको बढ्दो दुरुपयोग रोक्न पनि सरकारले सन्देश मूलक रुपमा “रातो धर्को” अभियान चलाएको हो । महानिर्देशक ढकालले एन्टिबायोटिक औषधिको जथाभावी हुने दुरुपयोग रोक्न कडीका रुपमा लिएको बताए ।
विश्व स्वास्थ्य संगठन डब्लुएचओको ग्लोबल एक्सन प्लान अन्तर्गत यो अभियान सुरु भएको हो । महानिर्देशक ढकालको थालेको यो अभियान आम जनताको हितमा छ । उनको यो एउटा मात्रै निर्णय सही रुपमा कार्यान्वयनमा आए एन्टिबायोटिक रेसिस्टेन्सको कारण मृत्युवरण गर्ने नेपालीहरूको सङ्ख्यामा भारी गिरावट आउँने स्वास्थ्य क्षेत्रका विज्ञहरू बताउँछन् ।
एन्टिबायोटिक औषधिको दुरुपयोग रोक्न अहिले विश्वव्यापी अभियानहरू चलिरहेका छन् । नेपालमा भने केही ढिला भएको छ । नेपालले पनि पत्रकारहरूलाई सुसूचित गराउँने विषयमा विश्वका अन्य देशमा भन्दा धेरै प्रभावकारी काम गरेको छ । एन्टिबायोटिक रेसिस्टेन्सका बारे देशभरका ५ सय बढी पत्रकारलाई सुसूचित गराउँने काम सकिएको छ । उक्त कामलाई एएमआरमा काम गरेको विश्वका देशहरूले अन्य देशको तुलनामा ज्यादै उपलब्धीमूलक भएको बताएका छन् ।
औषधि व्यवस्था विभागले सोही अभियानलाई निरन्तरता दिने हेतुले एन्टिबायोटिक औषधिमा “रातो धर्को” अभियान थालेको हो । नेपाले तयार पारेको नेशनल एक्सन प्लान पास हुने तयारीमा छ । उक्त एक्सन प्लानले पनि एन्टिबायोटिक औषधिको दुरुपयोग रोक्न प्रेरित गरेको छ । “रातो धर्को” लगाएका एन्टिबायोटिक औषधि चिकित्सकको सिफारिसमा मात्रै बिक्री बितरण गर्न पाइन्छ ।
विभागले समूह “ख” का एन्टिबायोटिक औषधिमा “रातो धर्को” लगाउने बताएको छ । ब्रान्डहरू धेरै भएकाले समूह “ख” मा कति एन्टिबायोटिक औषधि छन् भन्ने तथ्यांक विभागमा छैन् । महानिर्देशक ढकाल भन्छन् सबै एन्टिबायोटिक औषधि समूह “ख” मा छन् । कुनै एन्टिबायोटिक समूह “ग” मा गएको अवस्थामा “रातो धर्को” लगाउने काम हुदैन । यी समूहका औषधि सामान्य व्यक्तिले पनि दिन सक्ने खालका हुन्छन् । “रातो धर्को” अभियान सुरु गर्नुको मुख्य उद्देश्य भनेको भावी दिनमा चिकित्सकको सिफारिस बिना एन्टिबायोटिक औषधिको बिक्री बितरण पूर्णरुपमा रोक्नु हो ।