लोड हुँदैछ...

मेनु

अन्तरवार्ता 

‘विश्वासको मत प्राप्त नगर्ने कुनै कारण देखिँदैन’

‘विश्वासको मत प्राप्त नगर्ने कुनै कारण देखिँदैन’

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको अध्यक्ष भएर पाँच वर्षे कार्यकाल विताएका कांग्रेस नेता भुपेन्द्र राई गत निर्वाचनमा भने खोटाङ निर्वाचन क्षेत्र १ (२) बाट प्रदेशसभामा निर्वाचित भए । हाल उनी कोशी प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक छन् । आफ्नो कुरा स्पष्ट राख्ने र प्रदेश सरकारको भूमिका प्रभावकारी बनाउनु पर्छ भन्ने धारणा राख्ने राईले पछिल्लो पटक सरकारले सांसदलाई दिन लागेको ल्याप्टप खरिद गर्ने कुराको विरोध गरे । सांसदलाई इन्डक्सन चुलो वितरण गर्ने कार्यको पनि उनले आपत्ती जनाए । उनी दल र सांसदहरु सुशासन र जनताप्रति उत्तरदायी हुनुपर्ने कुरामा जोड दिन्छन् । उनै राईसँग हामीले विभिन्न विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ उनीसँगको कुराकानी :

प्रदेश सांसदहरुले इन्डक्सन चुलो लगेको विषयको विरोध गर्दै तपाईँले कडा स्टाटस लेख्नुभयो । अहिले सांसदहरुले लगेको चुलो धमाधम फिर्ता गरिरहेका छन् । यसअगाडि ल्यापटप बाँड्न पनि खोजिएको थियो । यसलाई कसरी हेर्नुहुन्छ ?

– यो सरासर गलत हो । हामी नियम, कानून बनाउने ठाउँमा आएका छौं । प्रदेशसभामा प्रदेश चलाउनका लागि आएका हौं । हामी आफू चल्नका लागि आएका होइनौं । सेवा सुविधा आफ्नो लागि थप्नको लागि आएका होइनौं । नागरिकको लागि सेवा सुविधा थप्नका लागि हामी जनप्रतिनिधिहरु आएका हौं । तर, अहिले गलत के भइरहेको छ भने अस्ति पनि सांसदलाई ल्याप्टप वितरण गर्ने भनेर खरिद प्रक्रिया सुरु भयो । हामीले विरोध गरेपछि त्यो रोकियो । अहिले फेरि हठातमा इन्डक्सन चुल्हो सांसद र अधिकृतस्तरका कर्मचारीलाई वितरण गर्ने भन्ने सिंचाइ तथा जलस्रोत मन्त्रालयमार्फत निर्णय गरियो । यो अत्यन्तै गलत भयो । सांसदहरुले यो सुविधा लिनु हुँदैन थियो । लिनुभएका सांसदहरुले फिर्ता गर्नुपर्छ । यो गत आर्थिक वर्षको बजेट किताबमा रहेछ । त्यहाँ हेर्दा मन्त्रालय र सरकारी कार्यालयहरुलाई वितरण गर्नका लागि भनेर बजेट विनियोजन गरिएको देखियो । त्यो भनेको के हो भने सरकारी कार्यालयका लागि खरिद गर्ने र ग्यास विस्थापित गर्ने नीति आएको हो । तर, अहिले व्यक्तिको घरमा चुलो पुग्यो । सरकारमा आज को आउँछ को जान्छ मतलब भएन । तर, सरकारी सम्पत्ति त सरकारकै मातहतमा रहनु प¥यो नि ? तर, चुलो बाँड्दा व्यक्तिगत ढंगले गरियो । त्यसकारण यो अत्यन्तै गलत छ ।

तपाईंले यसो भनिरहँदा । समान हैसियतका कतिपय सांसदहरुले त बुझेरै लगेको देखियो नि ? त्यसलाई चाहिं कसरी हेर्नुहुन्छ ?

– यो माननीयज्यूहरुले बुझ्ने कुरा हो । किनभने हामी कुन ठाउँमा छौं भन्ने कुरा बुझ्न सकिएन भने हामीलाई नागरिकहरुले पत्याउन छोड्नुहुन्छ । अहिले नै ब्यालेटबाट पनि नागरिकले पत्याउन छोडेको देखिइसक्यो । अहिले पुराना दलप्रति वितृष्णा किन ? यत्रो ठूलोठूलो परिवर्तन ग¥यौं । तर, गएको निर्वाचनमा ब्यालेट विद्रोह भयो । किन त भन्दा यस्तै कारणहरु हुन् । हामी सच्चिन नसकेको, हामी सच्चियौं भनेर जान नसकेको कारण यस्तो भइरहेको हो । यसलाई रोक्नका लागि हामी आफू त सच्चिनु प¥यो नि ।

संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारको पनि अहिले किन्ने बाँड्ने कार्यक्रमहरु बढी देखिन्छ, यस्तो किन भइरहेको छ ?

– मैले भनेकै कुरा नै यही हो । यतिबेला नागरिकहरु बाढी पहिरोबाट पीडित हुनुहुन्छ । घरबारविहीन हुनु परेको अवस्था छ । अर्कोतिर डेंगुको कारण हाम्रो प्रदेश महामारी घोषणा गर्नुपर्ने परिस्थितिमा पुगेको छ । आँखा पाक्ने रोग त्यस्तै छ । लम्पीस्किनले उस्तै समस्या भइरहेको छ । नागरिक एउटा झुल किन्न नसकेर लामखुट्टेलाई खुवाएर डेंगुको संक्रमणबाट मर्नु परिरहेको छ । अनि हामी सांसद चुलो बुझिरहेका छौं । यसले दिन खोजेको सन्देश र समाजसेवा गलत भइरहेको छ । यसबाट हामी सच्चिनु पर्छ ।

अब प्रसङ्ग बदलौं । गठबन्धनको नेतत्वमो रहेको कोशी प्रदेश सरकार कति दिन टिक्छ ? विश्वासको मत आउँछ ?

– सरकार हामीले बाँकी रहेको साढे ४ वर्षको लागि बनाएको हो । विश्वासको मत हामी प्राप्त गर्छौं । विश्वासको मत प्राप्त नगर्ने कुनै कारण देखिँदैन । ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेशसभा हो । हामीले ४७ जनाको बहुमत पु¥याएर सरकार निर्माण गरेका छौं । त्यसकारण विश्वासको मत प्राप्त नगर्ने आधार के छ र ?

एमालेले उपसभामुखलाई अनुपस्थित गराएर वा बिरामी बनाएर वा उहाँ नआइदिएर, सभा संचालन नगरिदिएर अप्ठ्यारो बनाउँछजस्तो लाग्दैन ?

– राजनीतिमा सम्भावनाको खेल त सँधै जीवित रहन्छ । तर, सभामुखले सरकार निर्माण गर्नका लागि प्रदेश सरकारको अस्थिरतालाई मेट्नका लागि सभामुखको भूमिकाबाटै यसअघि हस्ताक्षर गर्नुभयो । हस्ताक्षर गरिसकेपछि एमालेका साथीहरु न्यायलयको ढोका ढक्ढक्याउन जानुभयो । अदालतले दिएको परमादेशबाट सरकार पनि भंग भयो । भंग भइसकेपछि फेरि पनि गठबन्धन दल र नेकपा (माओवादी)को आग्रहमा सभामुखले आफूले प्रदेश सरकार बनाउनका लागि सरकारबिहीनताको अवस्था चिर्नका लागि भन्दै राजीनामा दिनुभयो र अहिले हामी ४७ को संख्यामा छौं । तर, नेकपा एमालेले किन उपसभामुखलाई राजीनामा दिलाउँछ र अस्थिरता खडा गर्छ ? हाम्रो सभामुखले राजीनामा दिएको त स्थिरताको लागि हो नि सरकार गठन गर्नका लागि हो नि । उपसभामुखलाई एमालेले राजीनामा गरायो भने (म त्यो सोच्दिन, एमालेले अस्थिरताको खेल खेल्छ भनेर) के को लागि हो ? उपसभामुखले राजीनामा दिनुभयो भने फेरि पनि सभामुख र उपसभामुखको निर्वाचन हुँदैगर्दा हाम्रो बहुमत छ । फेरि सभामुख र उपसभामुख पनि हाम्रो हातमा आउँछ । त्यो चाहन्छ होला एमाले ? त्यो आँखा अगाडि देखिएको तस्बिर उहाँहरुले नदेख्ने कुरा हुँदैन । त्यसकारण उपसभामुखले राजीनामा दिनुहुन्छ जस्तो लाग्दैन । उहाँले राजीनामा दिएर सरकार निर्माण पनि हुँदैन, संख्या पुग्दैन । सभामुखले राजीनामा दिँदा पो ४६ बाट ४७ भयो त । उहाँले राजीनामा दिँदा पनि ४६ त हो । त्यस्तो परिस्थितिमा राजीनामा दिनुहुन्छ जस्तो लाग्दैन ।

त्यही राजीनामा आउँछ भन्ने ठानेरै होइन तपाईहरुले आफ्नो जेष्ठ सदस्यलाई मन्त्री बनाउनु भएको ?

– अध्यक्षता मण्डलमा आउँदै गर्दा जेष्ठ नागरिकले गर्छ । उपसभामुखले राजीनामा दिनुहुन्छ त्यसकारण माननीय गयानन्द मण्डललाई मन्त्री बनाइहालौं भनेर मन्त्री बनाएको होइन । उहाँको योगदान, उहाँको योग्यता, मन्त्री संचालन गर्न सक्षम व्यक्तित्व र अहिलेको हाम्रो संविधान समानुपातिक समावेशी आधारमा बनेको छ । त्यसको आधारमा हामीले उहाँलाई मन्त्री बनाएका हौं ।

यो त तपाईहरु गठबन्धनको तर्क हो । तर, विगतदेखि एमालेले गर्दै आएको प्रतिपक्षी भूमिका र चरित्र तथा संघीय संसदमा भइरहेको अवरोध हेरिरहँदा गठबन्धनको सजिलोको लागि एमाले चुप लागेर बस्छ भनेर कसरी अपेक्षा गर्नुहुन्छ ?

– यो व्यवस्था हाम्रो सजिलोको लागि मात्रै होइन । एमालेलाई पनि सजिलै हुन्छ । उहाँहरुले यो ५ वर्ष चाहेरै पनि बहुमत पु¥याउन सक्नुहुँदैन नि त । त्यो सम्भावना त छैन नि त । त्यसो भए उहाँहरु संसद बहिष्कार गरेर मध्यावधिमा जाने हो त ? उहाँहरुले घोषणा गर्नुप¥यो कि हामी नागरिकले दिएको मतसंख्यामा विश्वास गरेनौं । पुनः हामी मध्यावधिमा जान्छौं भन्न सक्नुप¥यो । घोषित त्यो गर्न सक्नुहुन्छ भने हामी लोकतन्त्रमा विश्वास गर्ने, प्रतिस्पर्धा गरेर आएको हुँदा डराउने पक्षमा छैनौं । तर, मध्यावधिमा नजाने भन्ने, डराउने । अनि सहमतीय सरकारको घोषणा गर्ने, बाहिरबाहिर गठबन्धन दलभित्र तिक्तता ल्याउनलाई पहल पनि गर्ने । अनि सभाको अध्यक्षता पनि गर्दिन भन्न मिल्छ र ?

तपाइँ एमाले यो कार्यकालमा सत्तामा पुग्दैन भन्नुहुँदैछ । तर भदौ १४ पछि फेरि एमाले नेतृत्वको सरकार बन्ने सम्भावना बढ्दै गइरहेको देखिदैन र ?

– मानिलिऔं यो कल्पनाको कुरा भयो । उहाँहरुले प्रदशेसभामा अध्यक्षता मान्नुभएन । धारा ३ मा पुग्नुभयो हिक्मत कार्की मुख्यमन्त्री बन्नुभयो । अनि उहाँले चाहिं ३० दिनभित्र विश्वासको मत लिनुपर्दैन ? पर्छ । अनि विश्वासको मत पाउने अवस्था कहाँ छ । फेरि पनि उपधारा (५) जीवित हुँदै गर्दा ४७ ले सरकार बनाउँछ कि ४६ ले सरकार बनाउँछ ? फेरि पनि उपधारा ५ अनुसार बहुमत पु¥याउने माननीयको लागि आव्हान गर्दा ४७ ले सरकार बनाउँदा गठबन्धनकै सरकार बन्दैन र ?

उहाँहरुको कुरा त उपधारा ५ मा पुगेपछि सांसद किनेर वा अरू कुनै हिसाबले बहुमत पु¥याउँछु भन्ने होला नि त ?

– त्यो उहाँको कल्पना मात्रै हो । उहाँहरुले परिकल्पना यस्तो खालको गर्न सक्नुहुन्छ । तर, अहिले प्रदेशको अवस्था त्यो छैन । हामी गठबन्धनभित्र कुनै तिक्तता पनि छैन । समस्या पनि छैन । हामी साढे ४ वर्ष यो सरकार रन गरेर देखाउँछौं ।

सभामुख चाहिं कसैले लिन नचाहने फालाफालकै पद भयो हैन त ?

– सभामुख फालाफलको स्थितिमा छैन । यो सरकारले विश्वासको मत प्राप्त गरिसकेपछि जुनदिन उहाँले लिनुहुन्छ, त्यस पछाडि यो फेरि बार्गेनिङको पद बन्नेवाला छ । मलाई लाग्छ त्यतिबेला गठबन्धनले राख्न चाहँदा पनि प्रतिपक्षीले माग्नुपर्ने परिस्थिति बन्न सक्छ । त्यही भएर त मैले अघि पनि भने उपसभामुखले राजीनामा दिनुहुन्छ जस्तो मलाई लाग्दैन । किनभने हामीसँग ४७ सांसद छन् । गठबन्धनले अनौपचारिक रुपमा भनिरहेका छौं हामीले सरकार चलाउने हो भने सभाको अध्यक्ष प्रतिपक्षले गर्दा हुन्छ । त्यसमा नेकपा एमालेले तयारी गर्दा पनि हुन्छ । राप्रपाले गर्दा पनि हुन्छ ।

यो नै फालाफालको स्थिति होइन र ?

– होइन तयारी गर्दै गर्दा हुन्छ । हामीले भनेका छौं, हामीले सरकार चलाउने हो, विपक्षीले सभामुख चलाउनु भनेका छौं । होइन मिल्दैन भने सभामुख पद खाली गराउने कुरा भएन । गठबन्धनले लिएरै जान्छ ।

सभामुख लिने वित्तिकै तपाईहरुको बहुमत कसरी पुग्छ ? सरकार कसरी टिक्छ ? फेरि राजीनामा गराउने त होला नि ?

– ठिक छ त्यो त नागरिकले दिएको मत संख्यालाई हेरेरै हामीले खेल खेलिरहेका छौं । त्यसकारण नागरिकले पनि यसलाई अन्यथा लिनुहुन्छ जस्तो लाग्दैन । उहाँहरुले दिनुभएको मत संख्या नै यस्तो छ । ९३ सांसदमा एकातिर ४७ छ अर्कोतिर ४६ छ । यसलाई अन्यथा लिनुहुँदैन । नागरिकले पनि त्यसलाई अन्यथा लिनुहुँदैन ।

तपाईहरुको ४७ सांसद संख्यामा अरु ६ सांसद (राप्रपा) थप हुने सम्भावना कति देख्नुहुन्छ ?

– अहिले तत्कालै त्यो सम्भावना देखिँदैन ।

सभामुख दिएर थप्ने तयारीमा हुनुहुन्छ तपाईंहरु ?

त्यो सम्भावना छ ।

विश्वासको मत लिएपछि कि त्यो भन्दा अगाडि नै ?

–यो विश्वासको मत लिनुभन्दा अगाडि पनि हुनसक्छ । पछाडि पनि हुनसक्छ । हामी छलफलमै छौं ।

अर्को प्रसंगमा जाऔं । तपाई पूर्व पालिका प्रमुख भएको नाताले स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गर्नुहुन्छ ?

– म पालिका चलाएर आएको पक्कै हो । जनप्रतिनिधिको हैसियतले अहिले म प्रदेशसभामा आइसकेपछि कुरा पनि उठाएका छौं । कर्मचारी सेवा सम्बन्धी ऐन ल्याउँदा पनि स्थानीय तह र प्रदेशबीचको समन्वय गर्ने कोशिस हामीले गरेका छौं । प्रदेश निजामती सेवा ऐन ल्याएका छौं । त्यसमा पनि पालिकाहरुको अधिकारप्रति हस्तक्षेप गर्नुहुँदैन, मैत्रीपूर्ण हुनुपर्छ भनेर भनेका छौं । अब स्थानीय निजामती ऐन बनाउने चरणमा पनि हामी छौं । त्यसमा पनि प्रदेशको दृष्टिकोण फरक हुनुपर्छ । हामी प्रदेशबाट स्थानीय तह बलियो हुनुपर्छ भनेर आवाज उठाइरहेका छौं भने संघले प्रदेशलाई दिनुपर्ने अधिकार दिनुप¥यो र काम गर्न पाउनु प¥यो भनेर माग पनि गरिरहेका छौं ।

प्रदेशप्रति मानिसहरुका धेरै असन्तुष्टि छन्, कामहरु प्रभावकारी बनिरहेका छैनन् । यस्तो अवस्थामा प्रदेशप्रतिको विश्वास कसरी बढाउनुहुन्छ ?

– स्वभाविक रुपमा नागरिकको घरदैलोको सरकार स्थानीय सरकार हो । जुन सरकार प्रत्यक्ष रुपमा नागरिकबाट निर्वाचित हुनुहुन्छ र ५ वर्ष गठन विघटनमा अल्झिनुपर्ने व्यवस्था छैन । त्यसकारण स्वभाविक रुपमा त्यहाँ स्थानीय तहले नै काम गरेको देखिन्छ । र, अर्को जुन प्रदेशभन्दा माथि संघ छ त्यो अत्यन्तै पावरफुल र साधन स्रोतको हिसावले पनि बलियो छ । त्यसो हुँदा प्रदेश कमजोर देखिएको हो कि जस्तो पनि देखिएको छ । अर्को प्रदेशले आफ्नो अधिकारलाई खुलेर प्रयोग गर्न सकेको छैन । हामीले धेरैवटा कानून बनाउनु पर्ने देखिन्छ । प्रदेश सरकारले खुलेर काम गर्ने, चाँडो डेलिभरी दिने हो भने संघीय सरकारको अनुभूति नागरिकले खोज्ने अवस्था छैन । तर, तीतो सत्य के हो भने प्रदेश सरकारले अहिले काम गर्न नसकिरहेकै अवस्था हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।