माओवादीभित्रका भ्रष्टमाथि पनि कार्वाही हुन्छः गृहमन्त्री

विराटनगर । उपप्रधान तथा गृहमन्त्री एवं नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अब पार्टीभित्र पनि भ्रष्टाचारविरोधी अभियान चलाउने बताएका छन् ।

शनिबार माओवादी केन्द्र गण्डकी प्रदेशको ७औं पूर्ण बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले सरकारमाजस्तै पार्टीभित्र पनि रुपान्तरणको खाँचो रहेकोले गलत गर्नेलाई कारवाही गरिने उल्लेख गरे ।

गृहमन्त्री श्रेष्ठले भ्र्रष्टाचारविरोधी अभियानले पार्टी र राष्ट्र दुबैको हित गर्ने बताउँदै सरकारले चलाएको भ्रष्टाचारविरुद्धको अभियानको क्रममा कसैलाई नछाडिने स्पष्ट पारे । ‘हामीले राज्यको क्षेत्रमा जे गरिरहेका छौं, कुन पार्टीको छ नहेर्ने, कुन हाम्रो नजिक छ नहेर्ने नीति अनुसार काम भइरहेको छ’ उनले भने, ‘कोसँग हिजो हाम्रो संगत भएको थियो भन्ने पनि नहेर्ने र कुन परिवारको छ भ नेर नहेरी भ्रष्टाचार, तस्करी, कालोबजारी र ठगीविरुद्ध परिचालिन हुन राज्यका निकायलाई निर्देशन गरिएको छ ।’

दोषी सबैलाई कानुनको दायरामा ल्याउने र कारवाही गरिछाड्ने अठोट सरकारको रहेको उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले अब पार्टीको सम्बन्धमा पनि त्यही नीति लागू हुने बताए । माओवादीले पछिल्लो समय रुपान्तरण अभियान सञ्चालन गरेकोले गलत गर्नेले छुट नपाउने उनको भनाइ थियो ।

सामूहिक र केन्द्रीकृत विचारलाई अघि बढाउँदा पार्टीलाई विधि र पद्दतिभित्र राखेर गुटको अन्त्य गरिने एवं पार्टीमा भ्रष्टीकरणको प्रक्रियालाई रोक्दै जनतासँग बिग्रिएको सम्बन्धलाई फेरि सुधारिने उनले बताए । ठगी, अनियमितता र गुण्डागर्दीविरुद्धको अभियानलाई सांस्कृतिक क्रान्तिको उपमा दिँदै उनले त्यसविरुद्ध खरो रुपमा उत्रन कार्यकर्ताहरुलाई आह्वानसमेत गरे ।

पार्टीभित्र रुपान्तरणको प्रक्रिया चलिरहेपनि अध्यक्ष प्रचण्डको विकल्प नभएको भन्दै श्रेष्ठले प्रचण्डको नेतृत्वमा मुलक र पार्टी अगाडि बढ्ने बताए । ‘सुशासनसहितको समृद्धिका लागि सांस्कृतिक क्रान्ति, सामाजिक आर्थिक क्षेत्रमा रुपान्तरणका निम्ति दुईवटा सांस्कृतिक क्रान्ति एकैपटक अध्यक्षको नेतृत्वमा सम्पन्न गर्ने हाम्रो तयारी हो’ उनले भने, ‘पार्टीको नेतृत्व र सरकारको नेतृत्व एउटै भएको समयमा सांस्कृतिक क्रान्त्रिको घोषणा भएकोले यो कसैको दबाब र प्रभावमा रोकिन्न ।’

शनिबार, ०२ भदौ, २०८०, रातीको ०८:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर