लोड हुँदैछ...

मेनु

सलाम मजदुरहरुको परोपकारी अभियानलाई

सलाम मजदुरहरुको परोपकारी अभियानलाई

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले केही दिनअघि आफनो निर्वाचन क्षेत्र चितवनमा तामझाम गरेर महिलाहरुका लागि ब्लु बस सञ्चालन गरेको प्रचार गराए । पुरानो बसलाई डेन्टिङपेन्टिङ गरेर चलाइएकोे ब्लु बस सेवाको विपक्षीहरुले आलोचना पनि गरे । एमाले नेता शंकर पोखरेलले त रास्वपाले समाजमा महिला र पुरुषबिच विभेद खडा गर्न खोजेको आरोप पनि लगाए । लामिछाने आफूले गर्न लागेको ब्लु बस सेवाको आफ्ना सर्मथक मार्फत् प्रोपोगण्डाकै लयमा पहिले नै प्रचार मात्र गराएनन् मिडियाहरुले पनि खुब प्रचार गरे ।

तर, विपन्न वर्गलाई लक्षित गरेर विराटनगरमा यातायात मजदुरहरुले निःशुल्क एम्बुलेन्स र शव वाहन सेवा सञ्चालन गरिरहेको कुरा चाँँही कतै प्रचारमा आएन । किनभने परोपकार सेवा भनेको निस्वार्थ मनले गर्नका लागि हो सस्तो प्रचार हैन भनेर मजदुरहरुले त्यसलाई प्रचार प्रसारमा ल्याउन चाहेनन् । अहिले पनि प्रचारमुखी छैनन् । तर पनि राम्रो परोपकारी कामको प्रशंसा कसैले नगरेपनि आफैं हुन्छ भने झैं अहिले विराटनगरमा आफैं श्रम गरेर खानुपर्ने बाध्यतामा रहेका यातायात मजदुरहरुले सात महिना अगाडिदेखि सञ्चालन गरिरहेको निःशुल्क शव वाहन र एम्बुलेन्स सेवाको लोकप्रियता चुलिएको छ ।

अखिल नेपाल यातायात मजदुर संघ मोरङले विपन्न वर्गलाई लक्षित गरेर विराटनगर महानगर सहित आसपासमा पर्ने मोरङको बुढीगंगा, कटहरी, जहदा, ग्रामथान अनि सुनसरीको बर्जु गाउँपालिकामा यो सेवा दिइरहेको छ । हाल मजदुरहरुले एउटा बस र एउटा पिकअप जीपलाई शव वाहनका रुपमा प्रयोग गरिरहेका छन् । अनि एउटा एम्बुलेन्स पनि ।

आचारसंहिताअनुसार एम्बुलेन्सले शव बोक्न हुँदैन । भाडाका गाडीहरुले पनि हत्तपत्त शव बोक्न मान्दैनन् । मानिहाले पनि दोब्बर भाडा माग्छन् । पालिका र परोपकारी संस्थाहरुले पनि शव वाहन सञ्चालन गरेका छैनन् । गर्नेहरुले पनि सहज रुपमा विपन्न वर्गलाई सेवा दिँदैनन् । यसैले विपन्नहरुका लागि शव वाहन र एम्बुलेन्स सेवा खर्चिलो छ । सोही समस्या महशुस गरेर यातायात मजदुहरुले अस्पतालदेखि घाटसम्म शव लैजान ःिनशुल्क वाहन, आवश्यक पर्दा मलामी बस र घरबाट अस्पतालसम्म विरामी लैजान एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएका हुन् ।
हाल शव वाहनका लागि एउटा बस समाजसेवी करिम अन्सारी र एउटा पिकअप जीप अखिल नेपाल यातायात मजदुर संघका मोरङ अध्यक्ष रविन ठकुरी आफैंले निःशुल्क प्रदान गरेका छन् । एउटा एम्बुलेन्स चाहिँ संघले आफ्नै कोषबाट खरिद गरेर सञ्चालन गरिहेको छ । सात महिनामा मजदुरहरुले ९८ वटा शवका लागि निःशुल्क सेवा दिइसकेका छन् ।

यसैगरि दुई दर्जन बढी विरामीलाई निशुल्क एम्बुलेन्स मार्फत अस्पताल ल्याउने र अस्पतालबाट घरसम्म लगेर सेवा प्रदान गरिसकेका छन् ।
विराटनगर आसपासका पालिकामा कसैको पनि आफन्तको मृत्यु भएको वा विरामी भएको खबर प्राप्त भएमा उपलब्ध चालकहरु आफैंले निःशुल्क शव वाहन र एम्बुलेस कुदाएर व्यक्तिको घर वा अस्पतालसम्म पुग्ने गरेका छन् । त्यसपछि शव भए मलामीसँगै घाटसम्म र विरामी भए अस्पताल वा घरसम्म पुर्‍याइदिने गरेका छन् ।

अति विपन्न भएमा शवलाई घाटसम्म लगिदिने मात्र नभएर दाहसंस्कार र किरियाखर्च समेत सहयोग गर्ने गरेको अध्यक्ष अखिल नेपाल मजदुर संघ मोरङका ईन्चार्ज गोपाल लिम्बूको भनाइ छ ।गज्जब चाहिँ के भने आफ्नै चन्दा उठाएर संगठन चलाउनुपर्ने बाध्यतामा रहेका यातायात मजदुरहरुले सञ्चालन गरेको शव वाहन र एम्बुलेसन्स सेवा उनीहरुले तिर्ने मासिक लेवीबाट सञ्चालन हुँदै आएको छ । कसैले स्वेच्छाले चाहेमा कोषमा रकम जम्मा गर्न सक्ने भएपनि हालसम्म कसैले कोषमा रकम जम्मा पनि गरिदिएका छैनन् र उनीहरुले पनि कसैसँग माग्ने गरेका छैनन् । बरु आफ्नो रोजगारी नै थाँती राखेर उनीहरु सेवाका लागि पुग्ने गरेका छन् ।

हो, यसैलाई भनिन्छ वास्तविक समाज सेवा । यसैले सलाम छ यातायात मजदुहरहरुको सहयोगी भावनालाई । किनभने मजदुरहरुले यसलाई सस्तो प्रचारका रुपमा हैन बरु सेवाको भावनाले अभियानका रुपमा लिएका छन् । र, अझै उनीहरु पूर्ण सन्तुष्ट हुनसकेका छैनन् । किनभने जसका लागि भनेर उनीहरुले निःशुल्क अभियान सुरु गरे अझै ति लक्षित विपन्न वर्गले चाहिँ कम सेवा लिइरहेका छन् । उनीहरुले मजदुहरुको असल अभियानारे जानकारी नै पाउन सकेका छैनन् ।

यसैले मेरो सबै विपन्न वर्गका व्यक्तिहरुसँग आग्रह छ तपाईँहरु जोकोहीले पनि यो निःशुल्क सेवा उपभोग गर्नुहोस् । शव वाहन र एम्बुलेन्स सेवाका लागि ९७०२२९२३१८, ९८११०३६४९६, ९८५३७९०८० र ९८१९३३१६८८ मा जुनसुकै समय सम्पर्क गरेर सेवा लिनुहोस् र मनकारी मजदुहरुको अभियानलाई प्रोत्साहन गर्नुहोस् । मेरोतर्फबाट परोपकारी मजदुरहरुको अभियानलाई हृदयदेखि नै सलाम ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।