प्रश्नको घेरामा मोरङ प्रहरी

 सम्पादकीय

जब प्रहरी प्रशासन शक्तिको आदेशपालक मात्रै बन्न पुग्छ, त्यसबेला नागरिकले दुःख पाउने निश्चित हुन्छ । जस्तो अहिले मोरङ विजराटनगरकी बासिन्दा इन्दिरा चापागाइँले अनाहकमा दुःख पाइरहेकी छन् । उनलाई महानगरका मेयर नागेश कोइरालाको जोडबलमा मोरङ प्रहरीले थुनामा राखेको छ । दोस्रोपटक आठ दिनलाई म्याद थपेर उनलाई हिरासतमै राखिरहने प्रहरीको नियतले राम्रो संकेत गर्दैन । मेयरलाई प्रश्न सोधेकै आधारमा, महानगरको गेटमा प्रदर्शन गरेकै आधारमा ठूलो अपराधीलाई जसरी प्रहरीले म्याद थप्दै थुन्दै गरिरहनु अन्यायपूर्ण छ । एक जना महिलामाथिको यो अस्वीकार्य अन्यायबारे विराटनगर महानगर , जिल्ला प्रहरी र जिल्ला प्रशासन मोरङले गम्भीर बन्न जरुरी छ । शिक्षा सुधारको माग गर्ने अभियन्तालाई यसरी थुनेर गलाउने सरकारी शैली अलोकतान्त्रिक व्यवहारको पराकाष्ठा हो ।

महानगरका मेयर कोइरालालाई दुव्र्यवहार गरेको अभियोगमा विराटनगर–५ चापागाइँ थुनामा छिन् । उनलाई अभद्र व्यवहारको मुद्दामा थुनिएको छ । यो मामिलामा प्रहरीले ‘अनुसन्धान जारी रहेको’ बताइरहेको छ । उनले गरेको ‘अपराध’ के हो भन्नेबारे सारा दुनियाँ जानकार हुँदा प्रहरीले त्यस्तो के अनुसन्धान गरिरहेको छ, जसका लागि यतिका समय लगाइएको छ ? उनलाई यतिका दिन थुनेर राख्नु र अहिलेसम्मको अनुसन्धानको रिपोर्ट प्रहरीले सार्वजनिक गर्न सक्छ ? मेयरको निर्देशनमा यसरी महिलालाईै थुनिरहने काममा प्रहरी किन रमाइरहेको छ ? यसबारे उसले सार्वजनिक रुपमा जवाफ दिन जरुरी छ । मेयर कोइरालादेखि मोरङ प्रहरी–प्रशासनका नेतृत्वकर्ताहरुसम्मले इन्दिरालाई ‘मनोरोगी’ भनेर वेवास्ता गर्दै आएका हुन् । यदि उनीहरुले भनेजस्तै उनी रोगी हुन् भने उनलाई उपचारमा पठाउने दायित्व राज्यको हो कि होइन ? मेयरलाई प्रश्न गरेकै भरमा थुनामा राखिरहने अन्याय किन भइरहेको छ ? यसको भरपर्दो जवाफ प्रहरीले पनि दिनु जरुरी छ ।

मेयर कोइराला मु्लुककै सबैभन्दा पुरानो पार्टी नेपाली काँग्रेसका नेता हुन् । आफ्ना नागरिकले गरेको विरोध नै नसहने गरीको असहिष्णु बन्नु उनका लागि शोभादायी हुँदैन । इन्दिरा चापागाइँले आफ्नै शैलीमा शैक्षिक सुधारको माग गरिरहेकी छन् । मेयरले वा अरु कसैले चाहे जस्तचो शिष्ट र सभ्य शैली सबैको नहुन सक्छ । हरेक नागरिकलाई यो मुलुकका शक्तिशालीहरुले कायम गरेको ‘शिष्टता’ र ‘भद्रता’ को मानक थाहा नहुन सक्छ । फेरि राजनीतिक जिम्मेवारीमा रहेकाहरुले यस्ता साना कुरामा चित्त दुखाएर बस्ने अराजनीतिक व्यवहार देखाउन पनि हुँदैन । मुलुकका प्रधानमन्त्री नै रहिसकेका धेरै नेताहरुले आफूलाई थप्पड हान्नेदेखि जुत्ता प्रहार गर्नेसम्मलाई माफी दिएका उदाहरण नेपालमै छन् । यस्तो अवस्थामा आफूलाई प्रश्न सोधेकै भरमा लामो थुनामा राखिरहने अनुदार रवैया मेयरले बन्द गर्नुपर्छ ।

अहिले थुनामा रहेकी इन्दिराको मागबारे बहस र छलफल चलाउनुभन्दा महानगरले उनलाई थुन्न उचित सम्झनु झनै डरलाग्दो विषय हो । गोग्राहा कलेजलाई दिँदै आएको ५ लाख अनुदान रकम फिर्ता गरी स्कूलबाट कलेज हटाउनु पर्ने उनको मुख्य माग छ । उनका अरु माग पनि छन् । बेलाबेलामा उनी भ्रष्टाचार विरुद्धको अभियानमा सामेल हुन्छिन् । कहिले महिला अधिकारको कुरा गर्छिन् । कहिले विभिन्न सामाजिक आन्दोलनमा सरिक हुन्छिन् । तर, त्यसबेला पनि उनले गोग्राहा कलेजलाई हटाएर स्कुल बनाउनु पर्ने माग राख्न छुटाउँदिनन् । यति माग गरेर मेयरविरुद्ध चर्को स्वर गरेकै कारण उनलाई थुन्नु अनुदार हुनुको पराकाष्ठा हो ।

बिहिबार, २५ साउन, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर