विराटनगर । भारत निर्यात हुन थालेपछि नेपाली बजारमा गोलभडाको मूल्य अचाक्ली बढेको छ । दुई साताअघिसम्म प्रतिकिलो ४० देखि ५० रुपैयाँमा बिक्री हुँदै आएको गोलभेडाको मूल्य बढेर अहिले १६० देखि १७० रुपैयाँ पुगेको छ । सोमबार विराटनगरको गुद्री बजारमा गोलभेडा प्रतिकिलो १२५ रुपैयाँले थोक कारोबार भएको थियो । खुद्रा बजारमा १६० देखि १७० रुपैयाँले बिक्री भइरहेको छ ।
केही समय अघि नेपालमा भारतीय गोलभेडा खुलेआम आयात भएको भन्दै किसानहरुले सडकमा पोखेर विरोध गरेका थिए । नेपाली किसानले गोलभेडाको भाउ नपाएको भन्दै विरोध जनाएपछि सरकारले भारतबाट हुने आयातमा कडाइ गरेको थियो । त्यसको एक महिना पनि बित्न नपाउँदै भारतमा गोलभेडाको अभाव सिर्जना भई पश्चिम बंगाल क्षेत्रमा प्रतिकिलो २०० रुपैयाँ भारुमा बिक्री हुनथाल्यो । भारतमा गोलभेडाको अभाव भएपछि भारतले पनि आयातमा लगाउँदै आएको प्रतिबन्ध खुला गरेको छ ।
भारतले आयात खुला गरेपछि नेपाली किसानले उत्पादन गरेको ठूलो परिमाणमा गोलभेडा दैनिक भारत निर्यात भइरहेको छ । भारत निर्यात हुनथालेपछि किसानले पनि गोलभेडाको कुस्त मूल्य पाएका छन् । धनकुटा, तेह्रथुम आदि जिल्लाका किसानले उत्पादन गरेको गोलभेडा अहिले प्रतिकिलो ११० रुपैयाँले बिक्री गरिरहेको विराटनगरका तरकारी व्यवसायीहरुले बताएका छन् । भारतीय बजारमा टमाटर निर्यात भएसँगै किसानहरूले बोटमै प्रतिकिलो ११० पाएकोले खुसी भएको सहिदभूमी गाउँपालिका वडा ६ का कृषक बलराम राईले बताए ।
लामो समयदेखि विराटनगरको गुद्री बजार सञ्चालक समितिमा आवद्ध भएका गुड्डु मियाँका अनुसार अहिले किसानहरुले गोलभेडाको पर्याप्त मूल्य पाइरहेको र भारततर्फ निर्यात हुँदा नेपाली उपभोक्ताले भने महंगोमा उपभोग गर्नु परेको बताए । यतिबेला पूर्वी नेपालको काँकडभिट्टा, विराटनगर, भाण्टाबारी लगायत देशभरका भन्सारबाट गोलभेडा भारत निर्यात भइरहेको मियाँले जानकारी दिए । उनकाअनुसार हरेक दिन बिहान विराटनगरको थोक बजारमा गोलभेडा किन्न लुछाचुँडीनै हुने गरेको छ । गोलभेडा अभाव हुँदा यस्तो अवस्था आएको हो । किसानले विगतकै तुलनामा उत्पादन गरेपनि भारत तर्फको निर्यात बढ्दा आन्तरिक बजारमा अभाव देखिएको हो ।
सोमबार पश्चिम बंगालमा २०० रुपैयाँ भारु र कानपुरमा १५० रुपैयाँ भारुमा गोलभेडा बिक्री भएको उनले बताए ।अहिले पहाडी जिल्लाका किसानहरुले अग्रिम भुक्तानी लिएर मात्र व्यापारीलाई गोलभेडा बिक्री गर्ने गरेका छन् । गुड्डु मियाँ भन्छन् ‘पहिले २० हजारको गोलभेडाले पिकअप भरिने गरेको थियो अहिले एउटा पिकअप भर्न ३ लाख रुपैयाँ खर्च गर्नुपर्छ ।’
तराईमा डुबान हुने भएकोले बर्खामा पहाडी तरकारीले शहरी क्षेत्रको माग धान्नु पर्ने अवस्था छ । पहाडबाट साग, मुला, फलफुल र हरियो तरकारी आउँदा बजारको माग तथा आपूर्ति सन्तुलन हुँदै आएको छ । तर, यस पटक अधिक परिमाणमा भारत निर्यात हुने अवस्था आएपछि गोलभेडाको बजार सन्तुलन बिग्रिन पुगेको हो ।
कोशी प्रदेशमा बर्खायाममा धनकुटाको मौनबुधुक, महाभारत, तेह्रथुमका विभिन्न स्थान, इलाम, पाँचथर तथा भोजपुरका कतिपय ठाउँमा गोलभेडा खेती हुने गरेको छ ।धनकुटा र तेह्रथुमबाट धरान–१३ स्थित कृषि बजारमा दैनिक ३० टन टमाटर आउने गरेको छ भने विराटनगरमा पनि सोही परिमाणमा गोलभेडा आइरहेको छ । तर योभन्दा धेरै भारत निर्यात हुने गरेको व्यापारीहरुले बताएका छन् ।
नेपाली तरकारी भारतीय बजारमा निर्यात हुनु सकारात्मक भएपनि शहरी उपभोक्ता भने मूल्य वृद्धिको मारमा परेका छन् ।एक महिनाअघिसम्म भारतबाट सस्तोमा गोलभेडा आयात हुँदा स्टोरेज गरेर राख्ने व्यवस्था नहुँदा अहिले उपभोक्ताले महंगोमा किन्न बाध्य भएको मियाँले बताए । उनले भने ‘सरकारले तरकारी तथा फलफूल संरक्षण गर्न ठूलो क्षमताको चिस्यान केन्द्र (कोल्ड स्टोरेज) निर्माण गरेको भए सस्तो भएको बेलामा खरिद गरेर मौज्दात राखी आम उपभोक्तालाई सस्तोमा उपभोग गर्ने वातावरण बनाउन सकिन्थ्यो तर त्यस तर्फ सरकारले ध्यान नदिँदा पनि उपभोक्ताहरु महंगीको मारमा परिरहेका छन् ।’























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।