लोड हुँदैछ...

मेनु

बद्नामीको बाटोमा कोशी प्रदेश

बद्नामीको बाटोमा कोशी प्रदेश

संसदीय अंकगणितको जटिलतमा रहेको कोशी प्रदेशमा संविधान उल्लंघन गर्दा नेपाली काँग्रेस संसदीय दलका नेता उद्धब थापा नेतृत्वको सरकार २० दिनमै बर्खास्त भयो । संविधान मिचेर सरकार गठनमा सभामुखको हस्ताक्षर प्रयोग गर्दा सर्वोच्च अदालतले थापा सरकारलाई बर्खास्त गरेपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले आज साउन १६ गते साँझ ५ बजेसम्म २ वा २ भन्दा बढि दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने व्यक्तिलाई मुख्यमन्त्रीको दावी पेश गर्न समय दिएका छन् । कोशी प्रदेशको संसदीय अंकगणित भने सरकारको लागि बहुमत जुटाउन पनि हम्मे पर्ने जटिल प्रकृतिको छ ।

प्रदेशको राजनीतिमा २ वटा गठबन्धन छन् । नेकपा एमाले र राप्रपाको एउटा गठबन्धन छ, जो यसअघि हिक्मतकुमार कार्कीले विश्वसको मत लिने अवस्थासम्म सरकारमा एकसाथ थियो । उनीहरुसँग ४६ सांसद छन् । अर्को नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको गठबन्धन छ । संघीय सरकार सञ्चालन गरिरहेको यो गठबन्धनसँग पनि सभामुखबाहेक ४६ जना मात्र सांसद छन् । ९३ सदस्यीय प्रदेशसभाको बहुमतको लागि ४७ सांसद आवश्यक पर्छ । त्यहि संख्या पुर्याउन सरकारको दावी पेश गर्दा सभामुख बाबुराम गौतमको हस्ताक्षर गराएको कारण उद्धब थापा नेतृत्वको सरकार बर्खास्त भयो । अहिले नयाँ सरकार निर्माणको लागि एमाले गठबन्धनमा संघीय सरकारमा रहेको गठबन्धनको कुनै दल सहभागी हुने वा संघीय गठबन्धनमा राप्रपा सामेल हुने अवस्थामा सहजै बहुमत पुग्छ । तर, संघीय गठबन्धनका दलहरुको ७ वटै प्रदेशमा सहकार्य रहेकोले अहिले एमालेसँग कुनै पनि दलको सहकार्य हुने अवस्था छैन भने राप्रपाले पनि संघीय गठबन्धनमा सामेल नहुने अडान लिएको छ । जसको कारण सरकार निर्माण नै जटिल बनेको छ ।

संघीय सरकारमा सहभागी गठबन्धनले सरकार निर्माणको लागि सभामुख बाबुराम गौतमकै राजीनामा गराउने तयारी गरेको छ । त्यसो गर्दा सरकारको दावी गर्न गठबन्धनसँग बहुमत संख्या कायम रहन्छ । तर, त्यो सरकारले पनि विश्वासको मत पाउने सहज आधार देखिएको छैन । किनकि सभामुखले राजीनामा दिएपछि उपसभामुखले सहजै सदन सञ्चालन गरेको अवस्थामा सरकारले विश्वासको मत पाउँछ । तर, विपक्षीले सरकारलाई विश्वासको मत नदिने रणनीति बनाए भेन विश्वासको मत नपाई नयाँ सरकार पनि ३० दिनमै ढल्नेछ । त्यो अवस्थामा सरकार निर्माणमा सभामुखको सहभागीता र राजीनामाले बद्नाम भएको गठबन्धनसँग सरकार पनि रहनेछैन । त्यसपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पुनः हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्नेछन् । उनले पनि ३० दिनभित्र विश्वासको मत नपाएर धारा १६८ को उपधारा ५ अनुसार जोकोहि बहुमत सिद्ध गर्नसक्ने सांसद मुख्यमन्त्री बन्नसक्छ । यो उपधारामा दलीय ह्विप नलाग्ने भएकोले सरकार बन्नसक्छ । तर, सबैखाले बिकृत र अराजनीतिक खेलमा प्रदेशसभाका सदस्यहरु सहभागी हुने स्पष्ट छ ।

प्रदेशसभाको अंकगणित अनुसार एमाले–कांग्रेस, एमाले–राप्रपा–जसपा, एमाले–माओवादी, एमाले–राप्रपा–नेकपा एकीकृत समाजवादी मिलेर सरकार बनाउने सम्भावना छ । तर, अहिले त्यसरी समीकरण फेरबदल हुन सम्भव देखिँदैन । जनताको आवाज बोल्ने, सुशासनमा खबरदारी गर्ने, कानुनहरू निर्माण गर्ने, संविधानले दिएका अधिकार सूचीको विषयमा खरो बहस पैरवी गर्ने र ती अधिकार कार्यान्वयन गर्न दबाब दिन यो प्रदेशसभाले सकेको छैन । दोस्रो प्रदेशसभाको ८ महिनाको अवधिमा तीन वटा सरकार गठनको तयारी हुनु आफैँमा लज्जास्पद विषय हो । प्रदेशका जनताको सुशासन, समृद्धि र अपेक्षाको चाङ एकातिर छ । प्रदेशसभाको गतिविधि अर्कोतिर भइरहेको छ । प्रदेशभर अहिले डेंगुको प्रकोप छ । सुनसरीको धरान झनै सङ्कटमा छ । प्रदेश सरकार र प्रदेशसभाको भूमिका त्यतातिर केन्द्रित छैन । प्रदेशका हजारौँ गाईवस्तु लम्पी स्किन रोगको कारण मरिरहेका छन् । जसले जनतालाई करोडौँ क्षति भइरहेको छ । जनतामा आइपरेको यो समस्याप्रति प्रदेश सरकार र संसद् मौन छ । र संसदीय फोहोरी खेलको अभ्यासमा दलहरु संलग्न हुने प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।