विराटनगर । मोरङको कटहरी गाउँपालिकाले दोस्रो गाउँ सभाको तेस्रो अधिवेशनमा गरीरहदा ३ नम्बर वडाका जनप्रतिनिधिहरु भने अनशन बसिरहेका थिए ।
हुलाकी सडक छिटो निर्माणका लागि दबाब दिन मोरङस्थित कटहरी गाउँपालिकाको कार्यालयमा पुगेका युवालाई प्रहरीले पक्राउ गरेपछि वडाध्यक्ष सहितका जनप्रतिनिधिले अनशन शुरू गरेका हुन ।
गाउँपालिकाको गाउँसभा जारी रहेका बेला ३ नम्बर वडाका जनप्रतिनिधि गाउँपालिका अगाडि अनशनमा बसेका हुन् । गाउँसभा भने जीवन विकासको सभा हलमा भएको थियो । हुलाकी सडक तत्काल निर्माण गरिनुपर्ने र पक्राउ परेकालाई तत्काल रिहा गरिनुपर्ने आफ्नो माग रहेको वडाध्यक्ष जदुलाल कामतले बताए ।
‘तराई मधेशलाई यातायातमार्फत पूर्व–पश्चिम जोड्ने लक्ष्यसहित निर्माण भइरहेको हुलाकी राजमार्गको काम सुस्त हुँदा स्थानीयलाई सास्ती छ,’ वडाध्यक्ष कामतले भने, ‘यही सडकका कारण यही हप्ता मात्रै दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । गाउँपालिकालाई सडक निर्माणको काम तीव्र गतिमा बढाउन दबाब दिन आएका स्थानीयलाई प्रहरी प्रशासन लगाएर गाउँपालिका अध्यक्षले ज्यादती गरे ।’
दबाबका लागि भन्दै गाउँपालिका पुगेका ४५ वर्षीय राजेश कामतलाई पक्राउ गरी अभद्र व्यवहारको अभियोगमा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
४५ वर्षीय महेश कामत, ५५ वर्षीय शंकर पासवान, २२ वर्षी राजा कामत र ३० वर्षीय विकेश मण्डलविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
हुलाकी सडक समयमै निर्माण गर्न गाउँपालिकाले पहल गर्नुपर्ने माग राख्दै वडा नम्बर ३ का स्थानीयले कटहरी बजारमा आन्दोलन गरेका थिए ।
आन्दोलनका क्रममा मे १ ख २५२३ नम्बरको ट्रकमा ढुङ्गा प्रहार गरी क्षति पुर्याइएको थियो । वडाध्यक्ष कामतले जायज माग राख्दा पनि आफ्ना नागरिकलाई गाउँपालिका अध्यक्ष देवराज चौधरीले पक्रिन लगाएको आरोप लगाए ।
वडाध्यक्षका अलावा वडा सदस्यहरू बल्सी दास तत्मा, शंकर पासवान, दुखनीकुमारी पासवान र सुलेखा देवी गनगाईंले अनशन शुरू गरेका हुन् ।
‘अध्यक्षज्यूले वडाका नागरिकमाथि ज्यादती गर्नुभयो । यो सहन सकिँदैन,’ वडा सदस्य सुलेखादेवी गनगाईंले भनिन्, ‘हामी भोकै मर्नु परेपनि जनताको आवाज उठाउन छाड्दैनौं ।’
राष्ट्रिय गौरवको आयोजनामा हुलाकी राजमार्गको काम कछुवाको गतिमा छ ।
मोरङको रतुवा खोलादेखि विराटनगरको केशलिया खोलासम्मको ४४ किलोमिटर सडक खण्डमा ८० प्रतिशत खर्च भइसक्दा भौतिक प्रगति त्यसको आधा मात्रै छ । निर्माण व्यवसायीले सडक अलपत्र पार्दा सर्वसाधारणले अनेकौं सास्ती भोग्नु परेको छ ।
२०७६ सालमा तीन वर्षभित्र चार लेन सडक निर्माण गर्ने ठेक्का सम्झौता भए पनि म्याद थपेर २०८० साल कात्तिकसम्म पुर्याइएको थियो । तर, अहिलेसम्म जम्मा १६ किलोमिटर कालोपत्रे भएको छ । पूर्व–पश्चिम राजमार्गको वैकल्पिक हुलाकी सडकअन्तर्गत मोरङमा पाँचवटा निर्माण कम्पनीले काम गरिरहेका छन् ।
३ नम्बर वडाका जनप्रतिनिधि अनशन बसिरहँदा गाउँपालिका भने गाउँसभामा व्यस्त छ । प्रदेशसभा सदस्य भीम पराजुलीलाई प्रमुख अतिथि बनाएर गाउँसभा गरिएको हो ।
वडाध्यक्ष कामत तथा गाउँपालिकाका अध्यक्ष देवराज चौधरी दुवैजना नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।
गाउँपालिका अध्यक्ष चौधरीले हुलहुज्जत र तोडफोड गर्नेविरुद्ध प्रहरीले कानून अनुसार कारवाही अगाडि बढाएको बताए ।
‘ट्रकमा तोडफोड गरेपछि ट्रक धनीले जाहेरी दिएका रहेछन्,’ अध्यक्ष चौधरीले भने ‘मलाई दोष देखाएर केही हुँदैन, म गलत गर्नेलाई सुरक्षा गर्न सक्दिनँ । ’
उनले हुलाकी सडक निर्माण ढिलाइ भएको भन्दै संघदेखि प्रदेशसभामा समेत कुरा उठेको बताए । हुलाकी राजमार्ग जोडिएका मोरङका पालिका प्रमुखदेखि सांसद समेतले छिटो काम गर्नका लागि दबाब दिइरहेको उनको दाबी छ ।