विराटनगर । विराटनगर महानगरपालिकामा पहिलो पटक वडा स्तरमा गाउँघर क्लिनिकको सेवा विस्तार गरिएको छ । सेवाको विस्तार विराटनगर ८ बाट गरिएको हो ।
विराटनगर ८ मा प्रत्येक महिनाको ९ र १० गते गाउँघर क्लिनिकको सेवा प्रवाह हुने वडाध्यक्ष राम पोखरेलले जानकारी दिए । जनतालाई घर सेवा पुर्याउने लक्ष्य अनुसार लक्षित वर्गलाई पायक पर्ने स्थानमा महिनामा २ पटक सेवा पाउने उनले बताए । उनले घर पायकै सेवा सुरु भएको भन्दै सो सेवा लिन समेत वडावासीहरूलाई अनुरोध गरेका छन् ।
वडा नंं ८ का स्वागतम चौक, बलुवाही, अशोक चौक, रेल्वेपारि र अमरटोलका बासीन्दाहरुलाई लक्षित गरी सेवा सुरु गरिएको वडाध्यक्ष पोखरेलले बताए । वडाध्यक्ष पोखरेलले भने ,‘ गाउँघर क्लिनिक मार्फत प्रदान गरिने सेवाहरू घर–घरमा पुगेर स्वास्थ्यकर्मीले दिने छन् ।’ सेवा शुभारम्भका दिन मंगलबार ४० बालबालिकाले नियमित खोपको सेवा गाउँघर क्लिनिक मार्फत पाएको उनले बताए ।
विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिले महानगरपालिकाले वडा स्तरबाट पहिलो पटक सेवा सुरु गरेको बताए । लक्षित वर्गलाई पायक पर्ने गरी सेवा सुरु गरिएको उनले बताए । । एकै ठाउँमा सेवाग्राहीहरूले धेरै सेवा पाउने उहाँको भनाई छ । महाशाखा प्रमुख अलिका अनुसार गाउँघर क्लिनिकबाट नियमित खोप सेवा, परिवार नियोजन सेवा, सामान्य ओपिडी, औषधि वितरण, गर्भवती जाँच, प्राथमिक उपचार, बाल रोगको उपचारको व्यवस्था, को सेवा एकै ठाउँबाट उपलब्ध हुने छ । गाउँघर क्लिनिकको सेवा अरू वडामा पनि विस्तार गरिने उनले बताएका छन् ।
हरेक महिना वडाले गर्दै आएको ज्येष्ठ नागरिकको सुगर र प्रेसरको परीक्षण पनि हब गाउँघर क्लिनिक मार्फत गरिने वडाध्यक्ष पोखरेलले जानकारी दिए । विराटनगर ८ ले हरेक महिना ज्येष्ठ नागरिकको सुगर र प्रेसरको परीक्षण गर्दै आएको छ ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।