लोड हुँदैछ...

मेनु

प्रधानमन्त्रीको आसन्न भारत भ्रमण

विराटनगरका मूल एजेण्डा बथनाहा–विराटनगर रेल्वे कार्गो संचालन

विराटनगरका मूल एजेण्डा बथनाहा–विराटनगर रेल्वे कार्गो संचालन

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को वैशाख अन्तिममा भारत भ्रमण हुँदैछ । विराटनगरका उद्यो व्यवसायीले प्रधानमन्त्री दाहालको उक्त भ्रमणका क्रममा भारतसँग विराटनगरसम्म रेल्वे कार्गो संचालन गर्नुपर्ने तथा कालुघाटसम्मको जलमार्ग प्रयोग सम्बन्धीत यसअघि भएको सम्झौता कार्यान्वयनको विषय उठाउनु पर्नेमा जोड दिएका छन् ।

‘विराटनगरको एकीकृत जाँच चौकीसम्म रेल्वे कार्गो ल्याउन सकिए कलकत्ता, हस्दिया र भिसाषापटनमबाट समेत सोझै औद्योगिक एवमं व्यापारिक मालवस्तुको निकासी पैठारी कम लागतमा सम्भव हुने देखिएकोले तत्काल पहल होस्,’ उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले भने ।

नेपालले तेस्रो मुलुकसँगको व्यापारका लागि भारतको कोलकाला बन्दरगाह र बिशखापटनम बन्दरगाह प्रयोग गर्दै आएको छ । कोलकाता बन्दरगाहमा समय समयमा आउने झन्झटिलो एवं लामो प्रक्रियागत जटिलताका कारण बर्षेनी लजिष्टिक शुल्कमा ठुलो रकम खर्चिनु परेको उद्योगी प्याकुरेलको भनाइ छ । ‘यस सम्बन्धमा विभिन्न समयमा प्रधानमन्त्रीस्तरिय बैठकमा सम्झौता भएका छन् । पूर्वप्रधानमन्त्रीको भ्रमणका क्रममा भएको प्रधानमन्त्री स्तरिय बैठकमा साहेबगञ्ज र कालुघाटमा वाटर टर्मिनल बनाई बन्दरगाहबाट सिधै त्यहाँसम्म जलमार्गबाट ढुवानी गर्ने तथा त्यहाँबाट सडक मार्ग वा रेल मार्गबाट नेपालसम्म ल्याउने सहमति भएको थियो । उक्त सहमति पनि कार्यान्वयनको पहल गर्नुपर्छ,’ उनले भने ।

यसअघि व्यापार सहजीकरणका लागी उच्च स्तरिय भ्रमणहरुमा विभिन्न सम्झौता सहमतिहरु भएपनि त्यसको कार्यान्वयन नभएको उद्योगीको भनाइ छ । ‘कालुघाटसम्मको जलमार्ग प्रयोग सम्बन्धीको सम्झौता होस वा नयाँ सम्झौता भएका चिनका बन्दरगाहहरु जसलाई नेपालको अन्तराष्ट्रिय व्यापारमा महत्वपूर्ण कोषेढुङ्गा भनिएको छ हालसम्म केहि पनि काम अघि बढ्न सकेको छैन,’ मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले भने, ‘ती रुटबाट कार्गो ल्याउँदा लाग्ने लागत, कागजी प्रकृयाको अन्योलताका साथै नीतिगत अस्पष्टताको कारणले हालसम्म कुनैपनि व्यवसायिक कार्गो आउन सकेको छैन ।’

रिजालले सामुद्रिक वन्दरगाहमा अवस्थित भन्सार र वन्दरगाह एवम् सीमावर्ती भन्सारको जाँचपास प्रक्रियालाई स्वःचालित गर्नुपर्नेमा जोेड दिए । ‘बन्दरगाह र भन्सार एवम् भन्सार र भन्सारबीचको सूचना प्रणालीको आबद्धता भएमा व्यवसायीहरूले एक निकायमा पेश गरेको विवरण स्वतः अर्को निकायमा जाने भएकाले नेपालको भन्सार, भारतीय बन्दरगाह एवम् भारतीय भन्सारबीच प्रणाली आबद्धता गरी विद्युतीय सूचना प्रवाहको विकास र कार्यान्वयन गर्नुपर्छ,’ उनले भने ।

उद्योगी सोम अधिकारीले तेस्रोे मुलुकतर्फ निकासी हुने र नेपालले तेस्रोे मुलुकबाट पैठारी गर्दा सिङ्गापुर र कोलम्बो बन्दरगाहमा प्राप्त गरे अनुरूपको ट्रान्ससिपमेन्ट सुविधाजस्तै गरी भारतीय बन्दरगाहहरू, बन्दरगाहहरूमा अवस्थित भारतीय भन्सार र सीमावर्ती भारतीय भन्सारमा भन्सार एजेन्टको उपस्थितिबिना नै ट्रान्ससिपमेन्ट सुविधाअन्तर्गत सहज पारवहन सुविधा सुनिश्चित गर्ने विषयमा पनि प्रधानमन्त्रीले ध्यान दिनुपर्नेमा जोड दिए । उद्योगी राकेश सुरानाले भारतसँग विद्युत् आयात र निर्यातको लागि भरपर्दो ट्रान्समिसन लाइनका साथै बंगलादेशसम्म विजुली निर्यात हुने वातावरण सिर्जना गर्न भारतसँग कुरा गर्नुपर्नेमा जोड दिए । यस्तै उर्जा क्षेत्रमा भारतीय लगानीकर्ता भित्र्याउने र सुख्खायाममा भारतबाट थप विद्युत् आयात गर्ने एजेण्डा प्रमुख हुनुपर्ने उनले बताए ।

रेल्वे कार्गोको हालको अवस्था

बथनाहा रेल–वे स्टेशनबाट विराटनगरको बुधनगरस्थित नेपाल कष्टम यार्डसम्मको सात किलोमिटर दुरीमा पहिलो पटक २०७६ कार्तिकमा रेल–वे लिक परीक्षण गरिएको थियो । ‘त्यसबेलै बथनाहदेखि एकिकृत भन्सार जाँच चौकीसम्मको खण्डमा रेल्वे कार्गो सेवा सञ्चालनका लागी भारतिय पक्ष तयार रहेको र सुचारु गर्नका लागि पटक–पटक अनुरोध गरेको भएता पनि नेपाल पक्षले सो रेल्वे सञ्चालनमा तदारुकता देखाएको छैन,’ उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले बताए, ‘संघीय सरकारको रेल्ले विभाग, भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालयले रेल्वे सञ्चालनका लागी तयार भएको पूर्वाधार भारत पक्षबाट जिम्मा लिई सञ्चालनमा ल्याउने पर्ने हुन्छ । तर नेपाल पक्ष रेल्वे सञ्चालनको मापदण्ड तयार नभएको, रेल्वे सञ्चालन कार्यविधि नभएको, कर्मचारी दरबन्दी नभएको भन्दै पन्छाइरहेकोले निर्माण भएको पूर्वाधार सञ्चालनमा आउन सकेको छैन ।’ विराटनगरका उद्योगीहरु भने कार्गो रेल सञ्चालन हुने हो भने आफूहरुलाई ढुवानी वापतको भाडामा ३५ प्रतिशतसम्म सस्तो पर्न जाने दाबी गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।