विराटनगर । तराई क्षेत्रमा अत्याधिक गर्मी बढेपछि जनजीवन प्रभावित भएको छ । विराटनगरको तापक्रम केही दिनयता ४१ डिग्री सेल्सीयस सम्म पुगेको छ भने आज ३९ डिग्रिमा रहेको छ ।
तापक्रम केही दिन घट्दै जाने र आगामी सोमबार २६ डिग्रिमा झर्नसक्ने गुगलको प्रक्षेपण छ । यद्यपि हालभने विराटनगरमा दिउँसोको समयमा बाहिर निस्कन सक्ने अवस्था छैन भने बेलुका, राती वा बिहानको समयमा पनि घरभित्र एसी वा पंखाबेगर बस्न सक्ने अवस्था छैन । यहीबेला विराटनगर (सुनसरी मोरङमा) अघोषित लोडसेडिङ हुँदा सर्वसाधरण आक्रान्त बनेका छन् । सर्वसाधरणबाहेक औद्योगिक क्षेत्र पनि लोडसेडिङका कारण प्रभावित बनेका छन् । नेपाल उद्योग परिसंघ कोशी प्रदेश, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ लगायतले अनियमित विद्युत् आपूर्तिलाई तुरुन्त सहज बनाउन माग गरेका छन् ।
उद्योग परिसंघका अध्यक्ष भीम घिमिरेले विगत केही दिनदेखि औद्योगिक क्षेत्रमा बिना सूचना लगातार विद्युत् अवरुद्ध भइरहेको बताए । ‘बिना पूर्व जानकारी लगातार विद्युत् आपूर्तिमा भई रहेको अवरोधका कारण उत्पादनमा समस्या हुने गरेको छ र हजारौं कामदारहरु बिना काम बस्नु परेको छु,’ घिमिरेले भने, ‘प्रशोधनका प्रक्रियामा रहेका कच्चा पदार्थ नष्ट हुनगई उद्योगको लागत खर्च बढ्न गाईरहेको अवस्था छ ।’
उनले औद्योगिक करिडोरमा भइरुहेको विद्युत् अवरोधका विषयमा विद्युत् प्राधिकरणसहित सरकारका सम्बन्धीत पक्षहरु सम्वेदनशील हुनुपर्नेमा जोड दिएका छन् । ‘नेपालको औद्योगिक क्षेत्र लगातार विभिन्न दुर्घटनाका शिकार बन्न गई मुलुकको आर्थिक अवस्था तहसनहर भइसकेको छ,’ घिमिरेले भने, ‘बैंकको आफूखुी व्याजदरले डुब्न लागेको औद्योगिक क्षेत्रमा विद्युत् कटौती हुनु अर्को बज्रपात परेको छ ।’ उनले यो समस्या समाधान खोज्न माग गरेका छन् ।
यस्तै मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले पनि विद्युत आपूर्तिमा देखिएका अनियमितता, लो भोल्टेज र ट्रिपिङ जस्ता अपर्याप्त आपूर्ति तथा अनिर्धारित विद्युत कटौतीका कारण उद्योगहरुको संचालनमा प्रतिकूल असर पर्न गएको बताए ।
‘प्राधिकरणबाट विद्युतमा हुने र गरिने त्यस प्रकारका अवरोधात्मक आपूर्तिहरुका कारण उद्योगहरुका प्रशोधन तथा उत्पादनमा रहने कच्चा पदार्थ नष्ट हुने, मिल मेशिनरीहरु बिग्रने तथा कामदार श्रमिकहरुको कार्य अवरोध हुनेलगायतका समस्याहरु उत्पन्न भई उद्योगहरुका लागत खर्च वृद्धि हुनुका साथै उद्योगहरुलाई ठूलो आर्थिक व्ययभार थपिने परिस्थति श्रृजना हुने गरेको छ’, रिजालले भने, ‘उत्पादनमुलक उद्योगहरुका लागि अक्सिजनको रुपमा रहेको विद्युतको आपूर्तिमा अवरोध हुँदा औद्योगिक चक्र धरासायी हुनुका साथै स्वदेशी लगानी र मुलुकको औद्योगिकिकरण चरम जोखिममा पर्न गएको छ ।’
रिजालले भारतसँग विद्युत खरिद गरेर भएपनि विद्युत आपूर्ति नियमित गराउने कार्यमा प्राधिकरण चुक्न नहुने धारणा राखेका छन् । साथै उनले औद्योगिक क्षेत्रप्रति उत्तरदायी हुन पनि प्राधिकरणलाई आग्रह गरेका छन् ।
उद्योग संगठन मोरङका कार्यकारी निर्देशक चुँडामणि भट्टराईले विद्युत कटौती भएको कारण उत्पादन बन्द गर्ने अवस्था आएको बताएका छन् । ‘पूर्व सूचना बिना यसरी अवरुद्ध गर्दा श्रमिक तथा कामदारको व्यवस्थापनमा कठिनाई हुँदै आएको छ । एक पटक विद्युत अवरुद्धभई अपरेशन बन्द गरी पुन सूचारु गर्न उद्योगको प्रकृति हेरेर करिब ३० मिनेट देखि ६० मिनेटसम्मको आइडल समय खर्च हुने गरेको छ,’ उनले भने, ‘विद्युतको नियमित आपूर्ति तथा गुणस्तरिय आपूर्तिमा नहँुदा अनावश्यकरुपमा जेनेरेटरमा ब्याकअप राख्नु पर्ने, नियमित मर्मत संम्भार गर्ने, इन्धन लगायतका थप खर्चहरु थपिने गरेको छ । यो सबै अनावश्यक खर्चहरुका कारण नेपालका उद्योगहरु उत्पादन लागत बढेको र प्रतिष्पर्धी क्षमता गुमाउँदै गएको अवस्था छ ।’
उनले नियमित विद्युत् आपूर्तिका लागि विद्युतको वितरण प्रणालीमा केहि नीतिगत सुधार गरि नीजि क्षेत्रले उत्पादन गरेको विद्युत, प्राधिकरणको प्रशारण लाईन प्रयोग गरि सिधै नीजि उद्योगहरुले खरिद गरि उपयोग गर्न पाउने व्यवस्था गरि कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड दिए ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।