सम्पादकीय
पछिल्लो समयमा मुलकभर कोरोना संक्रमितको संख्या बढिरहेको छ । विराटनगरमै पनि संक्रमितहरु थपिँदै गएका छन् । महानगरकी उपप्रमुख शिल्पा निराला कार्की पनि संक्रमित बनेकी छन् । यसरी संक्रमितहरु क्रमशः थपिँदै गएका छन् । यसपटकको सबैभन्दा सुखद् पक्ष के छ भने, अहिले सिकिस्त अवस्थामा पुग्ने विरामीको संख्या कम छ । यसअघिका लहरका बेला प्रदेशमा सिकिस्त बन्ने र ज्यान गुमाउनेको संख्या धेरै थियो । तर, अहिले त्यो संख्या छँदै छैन । यसको एक मात्र कारण खोपको प्रभावकारिता नै हो । खोपको पूर्ण मात्रा लगाएकाहरुलाई कोरोनाले असर कम गरेको प्रमाणित भइसकेको छ । तसर्थ अब बाँकी रहेकाहरुलाई पनि खोप लगाउन प्रेरित गर्ने काम सरकारी पक्षबाट हुनुपर्छ । सर्वसाधारणले पनि खोपबाट टाढिन हुँदैन ।
खोप लगाउनेको संख्या जति धेरै भयो, कोरोनाबाट पीडित हुनेहरुको संख्या घट्दै जाने हो । कम्तीमा उनीहरु सिकिस्त हुने जोखिम कम हुनु हो । खोप अभियानलाई प्रभावकारी बनाउन सक्दाको परिणाम हाम्रो आँखाअघि उपस्थित छ । अस्पतालहरुमा भर्ना हुने विरामी संख्या पनि खोपकै कारण घटेको हो । यो तथ्यलाई हेरेर सरकारले खोप अभियानलाई अझै विस्तार गर्न जरुरी छ ।
खोपको दायरामा आउन नसकेको जनसंख्याको ठूलो हिस्सा कुन उमेर समूहको बढी छ भन्ने यकिन तथ्यांक सरकारले निकाल्नुपर्छ । जोखिम समूहकै जनसंख्या कतै खोपको दायरामा आउन नसकिरहेको छ कि ? यसबारे पनि सरकारी निकायहरुले गम्भीरता देखाउनुपर्छ । खासगरी वडा तहले यसमा बढ्ता सक्रियता देखाउनु प्रभावकारी हुनसक्छ । आफ्नो वडाका कति जनसंख्या र कुन उमेर समूहका व्यक्तिहरु खोपको दायरा बाहिर छन् भन्ने खोज्न र पत्ता लगाउन वडालाई कुनै समस्या हुन्न । स्वास्थ्य स्वयम्सेविकाहरु तथा वडाकै अन्य जनशक्ति परिचालन गरेर पनि यो तथ्यांक भेट्न सकिन्छ । यसले छुटेकालाई खोप लगाउन प्रेरित गर्न सकिन्छ । त्यसले जोखिम घटाउन मद्दत पुग्नेछ ।
खोप अघिको अवस्था कति भयावह थियो भन्नेबारे हामी सबै जानकार छौं । देश लकडाउनको लामो कहर सहेर अर्थतन्त्र ध्वस्त भएको तथ्य भुल्न कठिन हुनेछ । त्यसबेलाको असरको घाउ अहिले पनि दुखिरहेको छ । कुनै न कुनै रुपमा अहिले पनि त्यो जोखिम उत्तिकै छ । देश उस्तै ठप्प हुन नदिन पनि सतर्कता आवश्यक छ । त्योभन्दा बढी खोप अभियानलाई अझै चुस्त र प्रभावकारी तुल्याउन पनि आवश्यक छ ।