रित्तिँदै भोजपुरका गाउँवेसी

ओदाने वस्तीमा बारी बाहेक १८ मुरी धानको बिउ लाग्ने खेत अहिले बाँझै लडिरहेको छ । धानका साथै अलैंची, मकै, कोदो मनग्ये हुने यो वस्ती उठाउने प्रमुख कारण बाँदर हो ।

विराटनगर । भोजपुरको ओदाने गाउँको बीचैबाट पूर्वपश्चिम मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) कालोपत्रे भएको छ । दिनहुँ सवारी साधनहरु ओहोरदोहोर गर्छन् । तर, ओदाने गाउँ सुनसान छ ।

पहाडको बसाईसराई रोक्न तथा गाउँवस्तीको उत्पादित सामान बजारसम्म पुर्याउन (समृद्धि भित्र्याउन) निर्माण गरिएको सडकले पनि ओदाने गाउँलाई छोएको छैन । त्यहाँका अधिकांश मानिसहरु घर छोडेर हिंडेका छन् । केही दशक अगाडिसम्म लटरम्मै बालीले लोभलाग्दो देखिने खेत तथा बारीहरु अहिले जङ्गलमा परिणत भएको छ भने वस्तीका घरहरु भुत बङ्ला जस्तो बनेका छन् ।

उक्त वस्तीमा विगत केही वर्ष अगाडिसम्म २८ घर परिवार थियो । अधिकांश ढकाल परिवारको बसोबास रहेको यो वस्तीमा अहिले जम्मा मुक्ति ढकालको एउटा घर मात्रै बाँकी छ । बसाई सराईले वस्ती पुरै रित्तिन अब १ वर्ष बाँकी छ । किनकी मुक्ति ढकाल पनि ११ कक्षामा अध्ययनरत छोरीले १२ कक्षाको परीक्षा दिएसँगै उनी पनि मोरङ झर्ने तयारीमा छन् ।

ढकाल त्यहीँ जन्मेका हुन् । उनका हजुरबा त्यसठाउँमा आएका थिए । तर, अहिले गाउँका अन्य घर परिवार कोही अमेरिका, कोही काठमाडौं, कोही विराटनगर त कोही तराईका विभिन्न जिल्लामा छन् । ‘कान्छी छोरी प्लस टु गर्दैछिन् । उनैलाई कुरेर बसेको हुँ म पनि मोरङ झर्ने हो अब,’ उनी बताउँछन्, ‘साह्रो गाह्रोमा सारै समस्या भयो । छिमेकी बोलाउँदा पनि एक घण्टामा मात्रै आइपुग्छन् । खेत पनि बाँझो छ ।’

यो वस्तीमा बारी बाहेक १८ मुरी धानको बिउ लाग्ने खेत अहिले बाँझै लडिरहेको छ । मनग्ये धान खेती हुने, अलैंची, मकै, कोदो हुने यो वस्ती उठाउने प्रमुख कारण बाँदर पनि हो । ‘बाँदरले गर्दा नै सबै हिँडेका । बारीमा मकै राम्रो फल्थ्यो बाँदरले खाइआल्छ । अदुवा र बेसार लगाउँदा विक्री नै हुँदैन । अलैंचीको पनि टुसा खाएर बाँदरले हैरान गर्यो । घरहरु डङ्डङ्ती खाली छन् । कतिपय त लडि पनि सके,’ उनी भन्छन् । सहारा दिएर कोही वस्तीमा आएर बसे गाउँ छोड्न उनलाई पनि मन छैन । ‘कोही बस्ने मानिस १०÷८ घर आए त म पनि छोड्दिन थिएँ नि । तर, केही सारो गाह्रो पर्यो भने छिमेकी बोलाउन याकु तरेर जानुपर्छ । आधा घण्टा पर फालिटारमा केही मानिसको बसोबास छ ।’

त्यही गाउँमा बस्न सकेको खण्डमा तराईमाभन्दा बढी कमाइ ओदाने गाउँमै रहेको उनको तर्क छ । ‘कमाई त छ नि । तर, समाज छैन,’ उनी भन्छन् । उनले अहिले पनि ४२ वटा बाख्रा पालिरहेका छन् । वर्षको ३÷४ लाख रुपैयाँ कमाइ बाख्राबाटै हुने उनी बताउँछन् । गाउँमा पानीको पनि समस्या छैन ।

अरुण गाउँपालिकामा मात्रै नभएर जिल्लाका अधिकांश गाउँ बेंसीहरु रित्तो हुन थालेको उक्त गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री बताउँछन् । ‘काम गर्न भारत जाने, विदेश जाने, अन्य रोजगारीको काम गर्ने भइरहेको छ । खोलाको बेंसीतिर तीन कमाई चार कमाई हुने खेत बाँझिएर बसेको छ,’ उनी भन्छन्, ‘भारतबाट हरेक कुरा सस्तोमा पहाडतिर आएको छ । भारतको गोलभेंडा, आलु पनि यतातिर आइपुग्छ । यहाँ उत्पादन गर्दा ६० रुपैयाँ ८० रुपैयाँ प्रतिकिलो पर्ने गोलभेंडा, आलु भारतबाट ३० रुपैयाँ ४० रुपैयाँमै आइपुग्छ । भारतको जस्तो राज्यले कृषिकलाई दिने सहयोग यहाँ छैन । हाम्रोमा दुःख गरेर उत्पादन गरेको वस्तुको भाउ बढी हुन्छ । त्यही पनि बिक्दैन । त्यसले गर्दा किसानहरु मारमा छन् र खेती गर्न छोडेर हिंडेका हुन् ।’

उनले ठाउँ अनुसार र चाहना अनुसारको खेतीको विकास नगरेसम्म गाउँमा मानिसले खेतीपाती नगर्ने बताउँछन् । ‘अब १२ खालको पेशा गरेर केही हुँदैन । १२ खालको खेती गर्दा लाभ भन्दा हानी छ । अलिअलि फल्छ त्यो पनि बाँदरले खाइदिन्छ । समस्या त्यो खालको छ । किसानको जग्गाको भूबनोट, हावापानी अनुसारको नयाँ स्किम लिएर दिँदा मात्रै बसाईसराई रोक्ने सम्भावना छ,’ खत्री भन्छन्, ‘वस्ती नै निमिट्यान्न भएजस्तो सबै तिर त्यस्तो छैन । तर, कृषि पेशा छाडेको सत्य हो । बेंसीहरु पुरै बाँझो देखिन थालेको छ ।’

धेरै मानिसहरु गरिव हुनुको कारण कृषिमा फाइदा नभएर भएको उनको दाबी छ । ‘हामीले समयमै मलबिउ दिन सकेका छैनौं । औषधि उपचारको राम्रो व्यवस्था छैन । खेती गर्ने मान्छे छैन । अनि कसरी मान्छे खेती गरेर बस्छ ?,’ उनी प्रश्न गर्छन् ।

कूल १५ हजार ४३२ दशमलव ४२ हेक्टर क्षेत्रफलमा फैलिएको अरुण गाउँपालिकामा कृषि क्षेत्र ९ हजार ९१७ हेक्टर अर्थात् ६४.२६ प्रतिशत छ भने वन क्षेत्र ४ हजार ८९५ अर्थात् ३१.७२ प्रतिशत छ । आवासीय क्षेत्र भने १५७ हेक्टर रहेको छ भने व्यवसायिक क्षेत्र शून्य दशमलव ६९ हेक्टर छ ।

बिहिबार, ३० चैत, २०७९, दिउँसोको १२:४६ बजे

प्रतिक्रिया

  1. सबै खान्धानी मान्छेको जगाजमिन अनि कोहि अमेरिक कोहि अस्ट्रिल्या अनि गाउको जगा को के काम त न बेछ्न न आफू नै आयर बस्छ्न अनि अल्पत्र हुदैन त यो कुरा त सामान्य नै हो नेपाल मा अनि हाम्रो ठाउ गाउँ मा

प्रतिक्रिया:

सम्बन्धित खवर