पुण्य पी अधिकारी
कोशी प्रदेश नामाकरणको विरोधमा ०७९ फागुन १७ गतेयता प्रदेशमा आन्दोलन जारी छ । पहिचानसहितको नामाकरणका लागि आन्दोलन भएका छन् । आन्दोलनको मागलाई प्रदेश सरकार र सङ्घीय सरकारले सम्बोधन गरिरहेका छन् । नामाकरणमा विरोध जनाउनेहरूका अरू मागलाई सरकारले आगामी दिनमा पक्कै सम्बोधन गर्नेछ । हामीले अहिलेलाई सरकारमाथि विश्वास गर्नु नै उपयुक्त हुन्छ ।
कोशी प्रदेश नामाकरणको विषयमा चैत ५ गतेयता आन्दोलन शान्तिपूर्ण भन्दा हिंसात्मक भएको देखिन्छ । आन्दोलनका क्रममा चैत ५ गते विराटनगरमा प्रहरीको लाठीबाट घाइते भएका भनिएका ४२ वर्षीय लाजेहाङ लिम्बू पदमको उपचारका क्रममा चैत १० गते घोपामा मृत्यु भएपछि आन्दोलन अझ बढी भड्किएको छ । यसले पहिचानका लागि आन्दोलन गरिरहेका साथै प्रदेशवासीलाई नै स्तब्ध तुल्याएको छ । लोकतन्त्रमा विरोध जनाउन पाउनु संवैधानिक अधिकार समेत हो । सोही अधिकारको उपभोग गर्ने क्रममा राज्यबाट भएको दमनका कारण पदमको मृत्यु भएको आन्दोलनरत पक्षको भनाइ छ ।
प्रदेश नामाकरण तत्कालीन प्रदेश १ प्रदेशसभाका सदस्यहरूमध्ये दुई तिहाई बढीले सहमति जनाएको कोशी नामाकरण भएकाले सो नामलाई प्रदेश सरकारले राजपत्रमा सूचना प्रकाशन गरी लागू गरिसकेको छ । यो अर्थमा नामाकरणको विषयमा आन्दोलन उपयुक्त हो वा होइन त्यो अलग चर्चाको विषय बन्ने छ ।
यद्यपि कोशी नामाकरणमा तत्कालीन अवस्थामा सहमति जनाउने अनि नामाकरणपछि सडकमा आएर नाम मान्दैनौँ भन्दै अरू मानिसको भावनालाई सटही गर्ने राजनीतिक परिपार्टीका कारण प्रदेश अशान्त छ । प्रदेश अशान्त भएका कारण सबै प्रदेशवासीको मन कुडिएको छ ।
नामाकरणको मुद्दालाई लिएर प्रदेश सरकारविरूद्ध अघि आएका लाजेहाङलाई सरकारले चैत २४ गते शहिद घोषण गरेको छ । सो भन्दा अघि पीडित परिवारलाई तत्काल राहतका लागि प्रदेश सरकारले चैत १३ गते ३ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । आन्दोलनकारीले घटनाका विषयमा छानविन समिति गठन गर्नुपर्ने, शहिद घोषणा गर्नुे पर्ने, पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने माग राखेकोमा ती सबै मागहरू सरकारले सम्बोधन गरेको छ ।
पीडित परिवारलाई क्षतिपूर्ति स्वरूप १० लाख रुपैयाँ दिने निर्णयलाई कार्यान्वयन गर्ने विषयमा गृह मन्त्रालयले मोरङ प्रशासनलाई चैत २८ गते परिपत्र गरिसकेको अवस्था छ । यद्यपि लाजेहाङको शवकोे पोष्टमार्टम हुन सकेको छैन । किरात संस्कार अनुसार छोरा मान्छेको काजक्रिया चार दिन गरिन्छ । घटना चैत महिनामा भएको र सद्गत गर्ने महिना वैशाख लाग्ने भएकाले दोमासमा सद्गत गर्न नहनुे धार्मिक मान्यता अनुसार लाजेहाङको पोष्टमार्टम तत्कालै हुने देखिँदैन । आन्दोलनरत पक्षको मागलाई सरकारले सम्बोधन गरेपनि नामाकरणको विषय जनमत अनुसार हुने भएकाले सरकारले सोही अनुसार पक्कै सम्बोधन गर्नेछ ।
‘द्घन्द्घ पनि मेटिने, पहिचान पनि भेटिने’ भन्दै कोशी प्रदेश नामाकरण खारेज विरूद्ध एकजुट भएका पहिचान पक्षधरहरूले आफ्नो अधिकार भएजस्तै अरूको पनि उत्तिकै अधिकार छ भन्ने बुझ्न जरूरी छ ।